April 18th, 2017

‘बैंकिङ क्षेत्रमा कायापलट आएको युग’ 

हाँस्य कलाकार शिवहरि पौडेल सबैका चिरपरिचित पात्र हुन् । २०२३ सालमा मकवानपुरमा जन्मिएका उनी हाल कलाकारितामा राम्रोसंग जमेका छन् । आम दर्शक र श्रोताहरुले असाध्यै रुचाएका शिवहरि कुनै समय बैंकका कर्मचारी थिए । धेरैलाई थाहा नहुन सक्छ, शिवहरि नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी हुन् । नेपाल राष्ट्र बैंकमा ३० बर्षको कार्यकाल बिताएर उनले अवकास प्राप्त गरेका थिए । उनले २०४२ सालदेखि लगातार २०७१ सालसम्म नेपाल राष्ट्र बैंकमा काम गरेका थिए । राष्ट्र बैंकमा जागिर सुरु गरेको ६ बर्षपछि उनी बिहान बेलुकाको समय कलाकारिता क्षेत्रमा अभ्यस्त हुन थालेका थिए । अब्बल वाककला भएका उनले दर्जनौँ ठूला पर्दाका चलचित्रदेखि तितोसत्यजस्तो चर्चित हाँस्य टेलिश्रृङखलामार्फत आफुलाई एक सफल कलाकारका रुपमा उभ्याइसकेका छन् । बैँकिङ खबर डट कमले उनै पूर्व बैँकर तथा हास्य कलाकार पौडेलसँग गरेको कुराकानीका आधारमा तयार गरिएको साकग्री यहाँ प्रस्तुत गरिन्छ ।  

१० रुपैयाँ तलब राख्न नेपाल बैंक खाता
मैले २०४१ सालमा म नेपाल आयल निगममा जागिर खाएँ, त्यो पनि अस्थायी कोटामा । मेरो तलब १० रुपैयाँ थियो । त्यति बेला आयल निगमले सबै कर्मचारीहरुको तलब बैंकमै राख्दिन्थ्यो । त्यही १० रुपैयाँ तलब राख्न नेपाल बैंकमा मेरो खाता खोलिएको थियो । ०४१ सालबाटै मैले बैंकिङ कारोबार सुरु गरेँ । त्यतिबेला म १७ बर्षको थिए । डेढ बर्ष आयल निगममा काम गरिसकेपछि खरीदार पदमा ०४२ पुस १७ गते नेपाल राष्ट्र बैंकमा नाम निकाले र त्यहिबाट बैँकिङक्षेत्रमा प्रवेश गरेँ । 

०५७ सालमा राष्ट्र बैंक ल्याइएको एउटा कम्प्युटरले ४÷५ जनाको जागिर खोसिदियो । त्यो बेला नेपालको बैंकिङ प्रणाली अत्यन्तै सिमित स्थानमा मात्र थियो । धेरै मानिसहरुलाई बैंक के हो भन्ने नै थाहै थिएन । जब मैले नेपाल राष्ट्र बैंकमा जागिर सुरु गरेँ, त्यहाँबाट नेपालको बैंकिङ प्रणालीलाई अझ नजिकबाट नियाल्ने र अनुभव गर्ने मौका पाएँ । त्यसबेला बैंकका कामहरु ज्याँदै झन्झटिला थिए । बैंकमा राखेको पैसा निकाल्न कम्तिमा पनि ५ घण्टा समय लाग्थ्यो । त्यो पनि कागजी प्रकृयाहरु पूरा गर्न निकै अप्ठेरो हुन्थ्यो । लामो समय कुरेपछि मात्र नामको अघिल्लो अक्षरका (अल्फावेट) का आधारमा खातामा भएको रुपैयाँ निकाल्न सकिन्थ्यो । मैले राष्ट्र बैंकमा जागिर सुरु गर्दा बैंकमा एउटा पनि कम्प्यूटर थिएन । सबै कामहरु ढड्डाबाटै हुने गर्दथे । काम गर्दै जाँदा २०५७ सालमा राष्ट्र बैंकमा एउटा मात्र कम्प्युटर भित्रिएको थियो । त्यो बेला राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरु ३० देखि ४० जनाजति थिए । जब कम्प्युटर प्रयोग भयो, तब राष्ट्र बैंकमा काम गर्ने ५÷६ जनाको जागिर खोसियो । कम्प्युटरको प्रयोगले काम गर्न पनि सहज बनायो । सुरुमा चेकको रेकर्डमात्र कम्प्युटरमा राख्ने गरिन्थ्यो । त्यसपछि बैंकमा सर्भर राख्ने चलन आयो । ढड्डामा रहेका रेकर्डहरु कम्प्युटरमा रहन थाले भने हस्ताक्षर, डेविट र क्रेडिटका कामहरु पनि कम्प्युटरबाटै हुन थाले । 

तोरी राख्ने भाडाँमा पैसा पुरिन्थ्यो 
मेरो परिवारमा पहिलो खाता मैले नै खोलेको थिएँ । मेरो बुबा आमालाई बैंक के हो भन्ने थाहा थिएन । मेरो बुबाले भएको पैसा सन्दुस र बाकसमा राख्ने गर्नुहुन्थ्यो । मेरो बुबा  बैंकका कारोबार गर्न त परै जाओस बैंकमा खाता नखोल्दै बित्नुभयो । उहाँले जीवनको सबैभन्दा ठूलो रकम २६ सय रुपैयाँ कपडामा पोको पारेर तोरी राखेको भाडामा पुरेर राख्नुहुन्थ्यो । त्यसबेला गाउँमा बैंकहरुको उपस्थिति नै थिएन । सायद त्यसैले होला गाउँमा मान्छेहरुलाई बैंकबारे थाहा थिएन । बैंकमा कारोबार गर्नलाई बीरगञ्ज र हेटौंडा जानुपर्दथ्यो । त्यसैले पनि मानिसहरुले टाढा–टाढा धाएर बैंकको सेवा लिनुभन्दा घरमै पोको पारेर पैसाको जतन गर्ने गर्थे । त्यो बेला धेरै पैसा भएको धनि मान्छेमात्र बैंकमा जान्छन् भन्ने चलन थियो । बैंकमा कारोबार गर्ने व्यक्तिलाई ठूलो मान्छे भनिन्थ्यो । पैसा नभएका मानिसहरु बैंकमा जानै डराउँथे । 

बैंककै सहकर्मीको सहयोगमा कलाकार भएँ
सानोमा मलाई कलाकारितामा लाग्छु भन्ने सोच थिएन । मैले आफूमा भएको प्रतिभाबारे थाहा पनि थिएन ।कहिले–कहिले स्कूल र कलेजका कार्यक्रमहरुमा क्यारिकेचर (बोलिको नक्कल) गर्थेँ । तर मलाई म हास्य कलाकार नै बन्छु जस्तो लाग्दैन्थ्यो । कलाकारिता सानैदैखिको उद्देश्य होइन । पछि मात्र आफ्नो प्रतिभा जाँच्न थालेँ । राष्ट्र बैंकमा जागिर खाएको ६ बर्षपछि आँखा अस्पतालमा काम गर्ने एकजना साथीले तिमी हास्ँय क्षेत्रमा लाग भनेर मलाई सुझाव दिए । उनले त्यसो भनेपछि मलाई कलाकारितामा लाग्ने जोस बढ्यो ।

संघर्ष गरेरै यहाँसम्म आएको हुँ 
बिहानै ४ बजे उठेर खाना बनाउँथे । खाना बनाएर कलेज जान्थे । कलेजबाट फर्किएपछि हतार–हतार तरकारी बनाउँथे र हतपत खाएर जागिरमा जान्थेँ । समयको अभावले गर्दा कलाकारितातर्फ त्यति ध्यान दिन पाइन । कहिले–कहिले साना कार्यक्रमहरुमा क्यारिकेचर गर्दा केहि मानिसहरुले पनि मलाई कलाकारितामा जानुस् भनेर सुझाएका थिए । सानोमा आफ्नो प्रतिभा कलाकारितामा छ भनेर ध्यानै दिइएन । पछि राष्ट्र बैंकमा जागिर खाएपछि मात्र कला क्षेत्रमा लाग्ने जोस् जाग्यो । सहकर्मीहरुबाट पनि कलाकारिता क्षेत्रमै लाग्नुपर्छ भन्ने खालका सुझावहरु आउन थाले । तर कलाकारिता क्षेत्रमा लाग्नको लागि छुट्टै समय थिएन मसँग । जागिर गर्दै कलाकारितामा लाग्नको लागि समय व्यवस्थापन गर्न निकै अप्ठेरो परेको थियो । विस्तारै–विस्तारै राष्ट्र बैंकमा काम गर्ने क्रममा बिदाको समय  कलाकारितालाई दिएँ । जसोतसो बिहान र बेलुकाको समयलाई सदुपयोग गर्दै त्यो बेलाका चर्चित कलाकार सुनिल पोख्रेल, लय संग्रौला लगायतका चर्चित कलाकारहरुबाट सिक्ने तथा विभिन्न तालिम लिने अवसर पाएँ । पहिलोपटक लय संग्रौलाको ‘एक्लो छैन’ भन्ने फिल्ममा अभियन गरँे । त्यो अभिनयले मलाई साँच्चै नै कलाकार बन्नको लागि प्रेरणा दियो । पहिलो अभिनय एकदमै राम्रो भयो भन्ने प्रतिक्रिया सबले दिए ।  मैले अरुबाट आएको सकारात्मक प्रतिक्रियाबाटै कलाकारिता क्षेत्रमा आफ्नो उचाई राख्न सफल भए । कलाकारिता क्षेत्रमा केही गर्ने मनोबल बनिसकेकाले राष्ट्र बैंकमा काम गर्दा कहिल्यै बिदा बसिन । बरु बिदाको दिन बैंकमा गएर काम गर्थँे । त्यसबापत मलाई बिहान राष्ट्र बैंकबाट कहिलेकाहि स्टेज कार्यक्रमहरु जानको लागि छुट् हुन्थ्यो । राष्ट्र बैंकमा काम गर्दा कहिल्यै पनि कलाकारिताबाट काममा असर पर्यो भनेर कसैले टिका–टिप्पणी गरेनन् । बेलुकाको समय छुट्याएर अभ्यास गर्न तिर लाग्थे । 

बैंकिङ क्षेत्रमा कायापलट आएको युग 
तत्कालीन बैंकिङ प्रणालीसंग अहिलेको प्रणालीलाई दाँज्ने हो भने यसलाई बैंकिङ क्षेत्रमा कायापलट आएको युग भन्दा फरक पर्दैन । त्यतिबेला मानिसहरुले बैंकलाई मजाले बुझेका थिएनन् । अलि झन्झटिलो भएकाले बैंकप्रति आकर्षण नहुनु स्वभाविक पनि थियो । तर आजभोलीको बैंकिङ कायापलट वा विकासलाई हेरौँ न, अहिले पैसा चाहियो भने पनि तुरन्त एउटा मेसिनमा एटिएम लगेर हाल्यो भने पैसा पाइहालिन्छ । चेक साट्न पनि धेरैबेर कुर्नुपर्दैन । नयाँ–नयाँ प्रविधिहरु भित्रिरहेका छन् । प्रतिष्पर्धात्मक संस्कारको विकास भईसकेको छ । तर थोरै दुखको कुरा के छ भने, अझै पनि अति विकट क्षेत्रहरुमा बैंकिङ पहुँच र प्रभाव त्यति राम्रो देखिदैन । तर आसा गरौँ, यति विकास त भईसक्यो त्यस्ता क्षेत्रहरुमा पनि छिट्टै बैंकहरु पुग्लान् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]