August 13th, 2019

बैंकहरूमा थन्कियो ७३० केजी सुन : व्यवसायीले किन्छन्, ग्राहकले बेच्छन्

काठमाडौं । सुनको मूल्य लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि काठमाडौं लगायत प्रमुख शहरका सुनचाँदी पसलहरूमा सुनको कारोबार सुस्त देखिएको छ । त्यसमाथि, पसलमा गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढी आउन थालेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार देशभरका २२ हजार सुनचाँदी पसलमा यो मौसममा दैनिक ४० केजीसम्म सुन बेचबिखन हुने गर्थ्यो । तर, अहिले मुश्किलले १० केजी सुनको मात्र कारोबार हुने गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । अहिले नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य रू। ७० हजार छ । साथै, अब सामान्य अवस्था आउँदा पनि सुनको मूल्य प्रतितोला रू। ६५ हजारभन्दा तल नझर्ने बताइन्छ ।

साउन महीनामा मात्र सुनको मूल्य तोलामा रू। ५ हजार ५०० बढेको छ । असार ३१ गते प्रतितोला छापावाला सुनको मुल्य रू। ६४ हजार ५०० थियो । अहिले बढेर रू। ७० हजार पुगेको छ । महासंघका अनुसार साउन १४ गतेसम्म सुनको मूल्य प्रतितोला रू। ६५ हजारमा तलमाथि हुँदै आएको थियो । साउन १५ देखि २३ गतेसम्म निरन्तर बढ्यो र २४ गतेदेखि स्थिर छ ।

कारोबार कम भएपछि सुनचाँदी व्यवसायीहरूले बैंकबाट सुन किन्न बन्द गरेका छन् । अहिले नेपाली बैंकहरूमा ७३० केजीभन्दा बढी सुन थन्किएको छ । सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अधिकार वाणिज्य बैंकहरूसँग मात्रै छ । ‘कारोबार घटेपछि बैंकहरूमा सुन जम्मा हुँदै गएको छ । साथै, अहिले सुन आयात पनि लगभग ठप्प छ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने ।

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनको कारोबार लगभग शून्य अवस्थामा भएको बताए । उनले भने, ‘नयाँ गरगहना बनाएर विक्री गर्ने काम ठप्प नै छ भन्दा हुन्छ । आफै सुन लिएर आउने ग्राहकको गरगहना बनाएर बसेका छौं ।’

मूल्य बढ्दा फाइदा हुने भएपछि आफूसँग भएको सुन फिर्ता गर्ने ग्राहकको संख्या बढेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । महासंघका अध्यक्ष मोहन विश्वकर्माले नाफा–घाटाको वास्ता नगरी ग्राहकको गरगहना फिर्ता लिने गरेको बताए । ‘बजारको अवस्थाअनुसार चल्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘गत हप्ताको तुलनामा अहिले गरगहना फिर्ता गर्ने ग्राहकको संख्यामा कमी त आएको छ । तर, गरगहना किन्नेभन्दा फिर्ता गर्ने ग्राहक नै बढी छन् ।’ गत हप्ता गरगहना फिर्ता गर्ने ग्राहकको संख्या अत्यधिक बढी भएको उनको भनाइ छ ।

राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले ग्राहक भड्किने डरले गरगहना फिर्ता लिने गरेको बताए । ‘मैले मात्र दैनिक ३० तोला बराबरको सुन फिर्ता लिने गरेको छु । तर, ती सुन विक्री भएका छैनन्,’ उनले भने, ‘यहीअनुसार नै गरगहना फिर्ता हुने हो भने पसल बन्द गरेर बस्नुपर्ने बाध्यता आउने देखियो ।’ आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]