July 19th, 2019

‘पैसाको महत्व बुझ्न वित्तीय जागरण अत्यावश्यक’

डा. चिरञ्जीवी नेपाल, गभर्नर नेपाल राष्ट्र बैंक ।

वित्तीय जागरण बिना कुनै पनि क्षेत्रको विकास गर्न असहज हुन्छ । नेपालमा वित्तीय जागरण धेरै नहुनाले हामी धेरै पछि परेका छौँ । धनी हुन सबैलाई मन हुन्छ तर धन कमाउने तरिका भएन भने मन भएर मात्रै हुँदैन । त्यसैकारण वित्तीय साक्षरता आवश्यक छ ।

अहिले व्यवसायको जमाना हो । अहिले भारत लगायतका बाहिरी देशमा कुनै पनि विद्यार्थी अथवा पढे लेखेको मानिसले आफुलाई जागिरमा लगाउने सोचेका हुँदैनन् । कुनै पनि व्यवसाय वा व्यापार गर्नका लागि अध्ययन गरेर आएका हुन्छन् । तर हामी कहाँ त्यो स्रोत नहुनाले जागिरलाई पहिलो प्राथमिकतामा राखिन्छ ।

जागिरलाई पहिलो हैन दोस्रो दर्जामा राख्नुपर्छ । जागिरमा कसैको नोकर भएर काम गर्नुपर्छ । मालिक हुने अवसर पहिलो दर्जामा राख्नुपर्छ । जागिर खान अग्रसर हुनु भनेको पैसाको महत्व नबुझ्नु हो । जुन देशमा पैसाको महत्व बुझिँदैन, जुन देशमा वित्तीय जागरण हुँदैन, त्यो देशका नागरिकहरुले सानै उमेरदेखि नै जागिर खाने सोच राख्छन् ।

अहिले हरेक नागरिकमा बैंक तथा वित्तीय पहुँच पु¥याउन ‘एक व्यक्ति एक बैंक खाता’ अभियान चलिरहेको छ । यस अन्तर्गत कुनैपनि व्यक्तिको बैंक खाता छैन भने सम्बन्धित बैंकले नै सय रुपैयाँ राखेर खाता खोलिदिन्छ । त्यसका लागि त्यस व्यक्तिले आफ्नो स्थानीय तह वा वडा कार्यलयको सिफारिस लैजानुपर्छ । बैंकमा खाता खोलिसके पछि पैसा जम्मा गर्न सक्नुपर्छ । वित्तीय कारोबार बैंकमार्फत नै गर्नुपर्छ । यसो भयो भने मात्रै मुलुकको आर्थिक विकासका लागि टेवा पुग्छ ।

अहिले मुलुकमा व्यापार घाटा उच्च छ । हामी अत्यन्तै न्यून बस्तुहरु पनि बाहिरबाट आयात गर्छौँ । हामी चामल, तरकारी सबै बाहिरी देशबाट आयात गर्छौँ । तर आफ्नै देशमा कृषि पेशा अँगाल्दैनौँ । नेपालमा कृषिको सम्भावना र माग अत्याधिक छ । अब यस पेशालाई अपनाउने हो भने र आयातमा कमि गर्ने हो भने मात्रै पनि मुलुकको आर्थिक समृद्दिमा टेवा पुग्न जान्छ । त्यसैले अब हामीले कृषि पेशा किन नअँगाल्ने ? यी कामहरु गर्नका लागि पनि वित्तीय साक्षरता आवश्यक छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]