August 24th, 2019

तरलता अभावको चक्र दोहोरिने संकेत : आर्थिक वर्षको पहिलो महिनामै निक्षेप २३ अर्ब घट्यो

बैंकिङ खबर । चालू आवमा पनि बैंकहरूमा लगानीयोग्य तरलताको अभाव हुने संकेत देखिएको छ । पछिल्ला ३–४ वर्षयता देखिँदै आएको आएको तरलता अभावको चक्र यस वर्ष पनि दोहोरिने देखिएको हो । चालू आवको पहिलो महिनामै वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा परिचालनमा असन्तुलन देखिएको छ । साउन महिनामा बैंकहरूको कर्जा प्रवाह ९ अर्बले बढ्दा निक्षेप संकलन २३ अर्ब रुपैयाँले घटेको छ । कर्जा–निक्षेप परिचालनको यो असन्तुलनले चालू आवमा पनि लगानीयोग्य तरलता अभावको चक्र दोहोरिने संकेत गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

‘राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई चालू आवका लागि निक्षेप परिचालन र कर्जा प्रवाहको वार्षिक योजना नै माग गरेका थियौँ, सोहीअनुसार सन्तुलित ढंगबाट अघि बढ्न निर्देशन पनि दिएको छ,’ उनले भने, ‘तर आर्थिक वर्षको पहिलो महिनाबाटै कर्जा र निक्षेप परिचालनमा असन्तुलन देखिएको छ, यसले अघिल्ला वर्षहरूझैँ तरलताको समस्या दोहोरिने देखिन्छ ।’ बैंकहरूले स्रोत बढाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

साउनको पहिलो सातादेखि नै निक्षेप क्रमशः घट्दै आएको छ भने कर्जा बढ्दै गएको देखिन्छ । साउन पहिलो साता कुल निक्षेप २८ खर्ब ६५ अर्ब रहेको थियो । त्यसपछि क्रमशः घटेर साउन अन्तिममा २८ खर्ब ५५ अर्बमा निक्षेप झरेको छ । त्यस्तै, साउन पहिलो साता २४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह महिनाको अन्तिममा आइपुग्दा बढेर २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो ।

कर्जाको माग अधिक रहेको, तर निक्षेप परिचालन सुस्त देखिएकाले यस वर्ष पनि तरलता अभावको चक्र दोहोरिने खतरा बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । आव २०७४/०७५ को साउनमा कर्जा प्रवाह ४ अर्बले बढेको थियो भने निक्षेप संकलन १५ अर्बले घटेको थियो । ‘गत आवको पहिलो महिनाभन्दा पनि चालू आवको पहिलो महिनामा निक्षेप संकलन र कर्जा परिचालनको असन्तुलन झन् बढेको छ,’ उनले भने, ‘खासगरी कर्जाको माग गत वर्षको झैँ उच्च रहने, तर स्रोत परिचालन आवश्यक रूपमा नबढ्ने संकेत देखिएको छ ।’ मुलुकको सोधानान्तर घाटाका कारण निक्षेप घटेको हुन सक्ने उनको अनुमान छ ।

सरकारी खर्चको प्रवृत्ति उस्तै
सरकारले खर्च बढाउन नसक्दा वित्तीय प्रणालीमा स्रोतको समस्या देखिइरहेको बैंकरहरूले दाबी गर्दै आएका छन् । चालू आवको पहिलो महिनामा पनि सरकारी खर्च सुस्त देखिएको छ । साउन महिनामा सरकारले कुल ४ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । यो चालू आवको कुल बजेटको शून्य दशमलव २७ प्रतिशत हो । संविधानअनुसार जेठमै बजेट आउने भए पनि सरकारको खर्च गर्ने प्रवृत्तिमा भने कुनै सुधार आएको देखिँदैन । जसको प्रभाव बैंकिङ तरलतामा समेत पर्ने गरेको बैंकरहरू बताउँछन् ।

निक्षेप साढे २८ खर्ब कर्जा २५ खर्ब पुग्यो
साउन महिनासम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन २८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा ४ खर्ब रुपैयाँले बढी हो । समीक्षा अवधिसम्ममा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा ३ खर्ब ९२ अर्ब रुपैयाँले बढी हो । नयाँ पत्रिकामा प्रकाशित


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]