September 25th, 2017

डा. हरिहरदेव पन्तले सुरु गरेको गरिबी विरुद्ध लघुवित्त कार्यक्रम

स्वर्गीय डा. हरिहर देव पन्त नेपालमा लघुवित्तका पिता मानिन्छन् । मौद्रिक अर्थशास्त्री, निर्धन उत्थान बैंकका संस्थापक, कार्यकारी संचालक डा. पन्त नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत थिए । ग्रामीण क्षेत्रका विपन्न गरीब घरपरिवारहरुमा लघुवित्त कार्यक्रममार्फत आर्थिक, सामाजिक तथा मानसिक विकास गराउन तीन दशकभन्दा बढी समय उनले योगादान गरे ।

वित्तीय कार्यक्रम विस्तारमा भूमिका
स्वर्गिय डा. पन्तले विकट ग्रमीण क्षेत्रमा वित्तीय कार्यक्रम विस्तार गर्नका लागि प्रभावकारी र उल्लेखनिय भूमिका निर्वाह गरेका थिए । वित्तीय पहुँच र व्यवस्थापनमा पछि परेका आधा आकाश ढाक्ने महिलाहरुको विकास नभई देशको आर्थिक विकास र गरिबी कम गर्नका लागि संचालन गरिएको योजनाहरु सफल हुन नसक्ने उनको मान्यता थियो ।

पन्त यसरी बने लघुवित्तको पिता
नेपाल राष्ट्र बैंकका तत्कालीन वरिष्ठ अधिकृत डा. पन्तले वि.सं. २०४३ सालमा बंगलादेशको ग्रामीण बैंकको अवलोकन भ्रमण गरेका थिए । त्यहाँ उनले मोहम्मद युनुसद्धारा प्रतिपादन गरी संचालन गरिएको ग्रमीण बैंक वित्तीय प्रणाली कार्यक्रमको अवलोकन गर्ने अवसर प्राप्त गरे । सो भ्रमणले उनमा नेपालमा पनि गरीब विपन्न परिवारहरु रहेको हुँदा त्यस्तै कार्यक्रम नेपालमा पनि संचालन गर्न सकिने निचोड निकाले । सोही भ्रमणका कारण नेपालमा पनि लघुवित्त कार्यक्रम संचालन गर्नुपर्ने विषयमा उनको ध्यानाकर्षण भयो । त्यसैले उनले वि.सं. २०४७ साल चैत्र १७ गते ‘निर्धन’ नामक गैर सरकारी संस्थाको समाज कल्याण परिषद्मा दर्ता गराए । त्यसै समयमा निर्धन संस्थाले रुपन्देही जिल्लाको सिक्टहन गाविसको बिर्ता भन्ने गाउँमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी पहिलो शाखा कार्यालय खोली वि.सं. २०४९ साल चैत्र १ गते रुपन्देही जिल्लाका सिक्टहनमा बिना धितो सामुहिक जमानीमा प्रथम कर्जा वितरण गरी देश मै पहिलो लघुवित्त संस्था स्थापना गरेका थिए । नेपालमा मातृ संस्था निर्धन खोली सर्वप्रथम लघुवित्त कार्यक्रमको सुरुवात गरेको हुँदा उनी नेपालमा लघुवित्तका पिताको रुपमा सुपरिचित छन् ।

लघुवित्त कार्यक्रम गरीबी निवारणको औजार बन्दै
वि.सं. २०६० सालमा उनले स्वावलम्बवी समूह पद्धतिको प्रतिपादन गरी पहाडमा पनि लघुवित्त कार्यक्रमको सुरुवात गरेका थिए । हाल लघुवित्त कार्यक्रम गरीबी कम गर्ने औजार सावित भएको छ । गरीबी विपन्न परिवारहरु त्यसमा पनि महिलाहरुको सामाजिक प्रतिष्ठा उचाइमा पुर्याउन लघुवित्त कार्यक्रमले टेवा पुर्याएको छ । उनकै पहलमा निर्धन उत्थान बैंकको स्थापना भएको हो ।

लघुवित्त कार्यक्रमको प्रादुर्भाव
नेपालमा विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन प्रभावकारी बैंकिङ पद्धतिको टड्कारो आवश्यकता देखिएको थियो । देशको केन्द्रीय बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी वि.सं. २०४९ साल चैतमा नेपालमा पहिलो पटक विधिवत रुपमा डा. पन्तको नेतृत्वमा लघुवित्त कार्यक्रमको प्रादुर्भाव भयो । नेपालमा लघुवित्त कार्यक्रमका संस्थापक तथा कार्यकारी संचालक डा. पन्त प्राय हरेक कार्यक्रम भन्ने गर्थे– ‘लघुवित्त कार्यक्रमको मूल मर्म अनुसार गरीबभन्दा गरीबमा जानुपर्ने, दोहोरोपना हुने गरी कार्य गर्न नहुने र उद्यमशीलता विकासमा जोड दिँदै गएमा एक हदसम्म गरीबी कम गर्न सकिन्छ ।’

सो संस्थाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग पहुँच नभएका र अत्यन्त विपन्न परिवारका महिलाहरुलाई आफ्नो लक्षित वर्ग बनाई बिना धितो सामूहिक जमानीमा आय आर्जन गर्न कर्जा उपलब्ध गराई नेपालमा ग्रमीण बैंक वित्तीय प्रणालीको सुरुवात गरेको हो । बैंकको मातृ संस्था निर्धनले सुरु गरेको लघुवित्त कार्यक्रम अहिले २५ औँ वर्षमा प्रवेश गरिसकेको छ । निर्धन संस्थाको सफलतापछि मात्र सरकारी र गैह्र सरकारी स्तरमा ग्रमीण बैंक वित्तीय प्रणाली अनुशरण गर्ने संस्थाहरको स्थापना तथा विस्तार हुन थालेको हो । हाल नेपालको ७५ वटै जिल्लामा पुग्ने पहिलो बैंक पनि निर्धन उत्थान बैंक नै बनेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]