August 8th, 2019

आर्थिक विकासमा राष्ट्र बैंकको भुमिका र मुख्य कामहरु

बैंकिङ खबर । मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक हो नेपाल राष्ट्र बैंक । बैंक तथा वित्तीय संस्थाहरुको नियमनका लागी सरकारले नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते गरेको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्थाको रुपमा लिने गरिछ ।

साथै सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ । सरकारले बजेट प्रस्तुत गरेपछि बजेटका नीति र कार्यक्रमलाई सार्थक बनाउन राष्ट बैकले मौद्रिक उपकरणलाई त्यसैतर्फ परिलक्षित गर्न मौद्रिक नीति ल्याउने गरिएको गर्दछ । राष्ट्र बैंक स्थापना हुनुका मुख्य उदेश्यहरुलाई तल बुदाँगत रुपमा दिईएको छ । 

नेपाल राष्ट्र बैंकका उद्देश्यहरु :
१. अर्थतन्त्रको दिगो विकासको निमित्त मुल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,

२. बैंकिङ तथा वित्तीय क्षेत्रका स्थायित्व र आवश्यक तरलतालाई प्रर्वद्धन गर्ने,

३. सुरक्षित, स्वस्थ्य तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,

४. बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन
गर्ने ।

५. नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने

यी उद्धेश्य हासिल गर्न बैंकलाई सोही ऐनले नेपाली नोट तथा सिक्का निष्कासन र व्यवस्थापन गर्ने, मौद्रिक नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय नीति निर्माण गर्ने र विदेशी विनिमय सञ्चिति व्यवस्थापन र सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र दिनुका साथै तिनलाई नियमन– सुपरिवेक्षण गर्ने, सरकारको बैंकका रुपमा कार्य गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवश्यक पर्दा कर्जा प्रदान गर्ने, भुक्तानी प्रणाली र हिसाब मिलान पद्धतिलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका कार्यभार प्रदान गरेको छ ।

कुनैपनि मुलुकको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपुर्ण भुमिका रहने गर्दछ । नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन भइरहेका छन् ।

हाल राष्ट्र बैंकको नियमनमा २८ वटा वाणिज्य बैंक, २९ वटा विकास बैंक, २५ वटा फाईनान्स कम्पनीहरु र ९१ वटा लघुवित्त संस्थाहरु संचालित छन् । यि बैंक तथा वित्तलाई राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्दै, संस्थागत सुशासन, वित्तीय दायित्व, उत्पादनशील कर्जा आदि सबैको सुधारको लागि धेरैै कामहरु गरेको छ । राष्ट्र बैंकले गर्ने मुख्य कामहरुलाई बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ ।

राष्ट्र बैंकका मुख्य कामहरु

१. मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने ।

२. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने ।

३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,

४. विनिमय पद्धति निर्धारण गर्ने ।

५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने ।

६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने ।

७.नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने ।

८.वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने ।

९. भुक्तानी, फछ्र्यौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने ।

१०. बैंकका निर्धारित उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]