July 17th, 2019

मर्जरको तयारीमा आठ बीमा कम्पनीहरू

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरूमा मर्जरको दौडधुप चलेसँगै बिमा कम्पनीहरू पनि मर्जरको आन्तरिक तयारीमा जुटेका छन् । बिमा समितिले क्रस होल्डिङ भएका र चुक्ता पुँजी कायम गर्न नसकेका कम्पनीहरूलाई मर्जरको प्राथमिकतामा राखेसँगै बिमा कम्पनीहरूमा मर्जरको दौडधुप चलेको हो । नेपालमा बिमा कम्पनीहरूको संख्या अधिक भएको भन्दै बिमा समितिले मर्जरमा जाने कम्पनीहरूलाई प्रोत्साहित गर्न विभिन्न छुट र सुविधाको व्यवस्था गरेको छ । समितिले मर्जर निर्देशिका संशोधन गर्दै यस्ता सुविधाको व्यवस्था गरेको हो ।

यी कम्पनी मर्जरको तयारीमा
बिमा समितिका अनुसार क्रस होल्डिङ भएका आधा दर्जन निर्जीवन बिमा कम्पनी यतिवेला मर्जरको छलफलमा जुटेका छन् । युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीहरू मर्जरको आन्तरिक तयारीमा रहेको कम्पनी स्रोतले बताएको छ । 

क्रस होल्डिङ भएका मुख्य कम्पनीहरू
नेपालमा सञ्चालित केही बिमा कम्पनीहरूमा एउटै संस्था तथा व्यक्तिको लगानी रहेको छ । एउटै प्रकृतिका कम्पनीमा एउटै संस्था वा व्यक्तिको लगानी हुँदा सुशासन तथा आर्थिक अनियमितता हुने भन्दै समितिले लगानीको सीमा तोकेको छ । समितिका अनुसार युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको क्रस होल्डिङ छ । त्यसैले यी कम्पनीहरूबीच मर्जरको सम्भावना छ । त्यस्तै, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा आइएमई ग्रुपको मुख्य लगानी छ । नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल समूहको मुख्य लगानी छ । त्यसैले यी दुई कम्पनीबीच पनि मर्जरको सम्भावना देखिन्छ । नेपाल इन्स्योरेन्सले साधारणसभाबाट नै मर्जरको प्रस्ताव पारित गरिसकेको छ भने नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सबीच मर्जरको सहमति भएको स्रोतले बताएको छ । 

त्यस्तै नेपाल लाइफ र लाइफ इस्योरेन्स कर्पोरेसनमा विशाल समूहको मुख्य लगानी छ । आइएमई लाइफ र रिलायबल लाइफ इन्स्योरेन्समा आइएमई समूहको मुख्य लगानी छ । मुख्य लगानी भएका कारण यी कम्पनीहरूबीच मर्जरको सम्भावना रहेको स्रोतले बताएको छ ।

मर्जरको प्रयास असफल
बिमा कम्पनीहरूलाई एक–आपसमा गाभ्न, गाभिन वा प्राप्तिका लागि प्रेरित गर्न बिमा समितिले बिमक गाम्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०७० जारी गरेको थियो । यद्यपि, हालसम्म एउटा कम्पनी पनि मर्जरमा गएका छैनन् । यसअघि प्रिमियर इन्स्योरेन्स र नेको इन्स्योरेन्सले मर्जरको प्रयास गरेका थिए । कम्पनीहरूले बिमा समितिबाट स्वीकृति पाए पनि नेको इन्स्योरेन्स कम्पनीको साधारणसभाबाट निर्णय हुन नसकेपछि मर्जरको प्रक्रिया रद्द भएको थियो ।

चुक्ता पुँजी नपुर्‍याउने कम्पनीलाई मर्जरको दबाब
चुक्ता पुँजी नपुर्‍याउने बिमा कम्पनीहरूलाई मर्जरको दबाब बढेको छ । बिमा समितिको निर्देशनअनुसार चारवटा निर्जीवन र चारवटा नै जीवन बिमा कम्पनीले चुक्ता पुँजी कायम गर्न सकेका छैनन् । यस्ता कम्पनीहरूलाई मर्जरको दबाब परेको हो । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी पुगेको छैन । त्यस्तै, निर्जीवन बिमा कम्पनीतर्फ प्रभु, एनएलजी, युनाइटेड, लुम्बिनी र राष्ट्रिय बिमा कम्पनीले पुँजी कायम गरेका छैनन् । पुँजी कायम नगरेका कम्पनीलाई के गर्ने भन्ने विषयमा समितिमा छलफल भइरहेको उनले बताए ।

पुँजी नपुगेका र क्रस होल्डिङलाई मर्जरको दबाब
बिमक दर्ता तथा बिमा व्यवसायसम्बन्धी निर्देशिका जारी गर्दै समितिले क्रस होल्डिङ गर्न नपाउने व्यवस्था गरेको थियो । निर्देशिकाअनुसार एउटै समूह वा व्यक्तिले एउटा कम्पनीमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउनेछैनन् । एउटा कम्पनीमा १५ प्रतिशत लगानी भएका कम्पनीले एउटै प्रकृतिका अर्को कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ । 

त्यस्तै, समितिले अघिल्लो आवमा नै निर्देशिका जारी गरी जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब पुँजी कायम गर्न निर्देशन दिएको थियो । समितिले गत ०७५ असार मसान्तभित्र नै पुँजी कायम गर्न निर्देशन दिएको हो । तर, समितिले कम्पनीहरूको वित्तीय प्रणालीमा एनएफआरएस लागू गरेपछि पुँजी कायम गर्न समय थप गरेको थियो । 

नयाँ पत्रिका दैनिकमा प्रकाशित


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]