August 8th, 2019

मर्जरको चटारोमा वित्तीय संस्थाहरु : कुनकुन हुँदैछन् विलय ?

बैंकिङ खबर । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गरेपछि बैंक तथा वित्तीय संस्थाहरु स्वेच्छिक रुपमा नै मर्जरमा जान थालेका छन् । विशेषगरी वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुमा मर्जरको चटारो बढी देखिएको छ ।

सप्तकोसी र काबेली विकास बैंक तथा तिनाउ र मिसन विकास बैंकले मर्जर सम्पन्न गरिसकेका छन् । यस्तै, देवः र वेस्टर्न विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट र जेबिल्स फाइनान्सबीच एक्विजिसन प्रक्रिया सम्पन्न भएर एकीकृत कारोबार पनि सुरु भइसकेको छ ।

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई एक्वायर गर्दैछ भने सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वायर गर्दैछ । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर हुन लागेको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई र ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर पनि गर्दैछन् । हाथवे र ग्लोबल आईएमईको एक्वायर साधारणसभाबाट पनि पारित भइसकेको छ । अब एकीकृत कारोबार गर्न मात्रै बाँकी छ ।

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ भने विजय लघुवित्त र स्वेडा लघुवित्तबीच एक्विजिसन सम्झौता भएको छ । सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त पनि मर्जरमा जाँदैछन् । एनआरएन लघुवित्त, क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्त पनि गाभिएर एक बन्ने भएका छन् । त्यस्तै, आरम्भ लघुवित्त र चौतारी लघुवित्त, सारथी लघुवित्त र सत्यवती लघुवित्त, कालिका लघुवित्त र जनसेवी लघुवित्त, वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त तथा मिर्मिरे लघुवित्त, किसान माइक्रोफाइनान्स र नागबेली लघुवित्त बीच मर्जर सम्झौता भई प्रक्रिया अघि बढिसकेको अवस्था छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई एक्वायर गर्न छुट्टा छुट्टै सम्झौता गरेको छ । साधना लघुवित्त र आर्थिक समृद्धि लघुवित्त बीच पनि एक्विजिसन सम्झौता भएको छ ।
यसरी मर्जर तथा एक्विजिसनमा सामेल भएका ३३ बैंक तथा वित्तीय संस्थामध्ये मर्जरपछि १९ वटा विलय भई १४ संस्था बाँकी रहनेछन् ।

मर्जरमा जान प्रोत्साहन गरेपछि वाणिज्य बैंकहरु पनि मर्जर तथा एक्विजसनका लागि तयार भएका छन् । हालसम्म २२ वाणिज्य बैंकले मर्जर तथा एक्विजिसनमा जान तयार रहेको प्रतिवद्धतापत्र राष्ट्र बैंकलाई बुझाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]