July 31st, 2019

बैंकिङ अन्तरबार्तामा जानुुअघि ध्यान दिनुपर्ने कुराहरु

बैंकिङ खबर । बैंकमा जागिर खान चाहानुहुन्छ भने तपाईँले आफूलाई सोही अनुसार तयार राख्नुपर्ने हुन्छ । किनकि, तपाईँसँगै सोही जागीरका लागि अन्य थुप्रैले एप्लाई गरेका हुन्छन् । कयौँमध्येबाट छनौट गरेर तपाईँलाई नै किन राख्ने त ? यसका लागि तपाईँसँग अरुमा नभएको र बैंकलाई काम लाग्ने सीप, क्षमता वा योग्यता हुनुपर्छ । यसका अलावा तपाईँले जागीरका लागि दिने अन्तर्वार्ताले पनि रोजगारदाताको दिमागमा एउटा छाप छोड्नुपर्यो ।

जागिरका लागि परीक्षा दिन तयार भएजस्तै अन्तर्वार्ता दिँदा पनि तयारी गर्नु जरुरी हुन्छ । अन्तर्वार्ता दिन जाँदा तपाईँसँग सम्बन्धित विषयमा कति ज्ञान छ भनेर त हेरिन्छ नै तपाईँको बसाई, हाउभाउ, फेसियल एक्सप्रेसन लगायतलाई पनि उत्तिकै ख्याल गरिन्छ । यीनै आधारमा तपाईँलाई अन्तर्वार्ता लिने व्यक्तिले नम्बर दिँदै जान्छ । त्यसैले, अन्तर्वार्तामा जानुअघि र गइसकेपछि यी कुराहरुमा अवश्य ख्याल गर्नुहोस् ।

व्यक्तिगत विवरण
अन्तर्वार्ताका लागि तपाईँ बस्नेवित्तीकै तपाईँको व्यक्तिगत विवरणको बारेमा सोधिन्छ । यसअन्तर्गत तपाईँले आफू, आफ्नो परिवार, शिक्षा लगायतको बारेमा जानकारी दिनुपर्ने हुन्छ । यी कुराको जानकारी दिँदा आफ्नो र परिवारको जानकारी एकदमै छोटोमा दिनुहोस् र अध्ययनका क्रममा आफूले हासिल गरेका उपाधिहरु तथा सफलताहरुलाई बढी समय दिएर बयान गर्नुहोस् । आफ्नो यस्तो सफलतालाई बयान गर्नुहोस्, जुन तपाईँले काम गर्न लागेको कम्पनीको लागि काम लाग्ने होओस् ।

बायोडाटा
त्यसपछि तपाईँको बायोडाटा हेरिन्छ । तपाईँले जागीरका लागि आवेदन फारम भर्दा दिनुभएको विवरणले ठूलो महत्व राख्छ । बायोडाटामा तपाईँले समावेश गर्नुभएको विवरणमाथि थुप्रै प्रश्न गरिन्छ । त्यसैले, जागीरका लागि आवेदन फारम भर्दा ध्यान दिने गर्नुहोस् । फारममा आफूले दिएको विवरण ख्याल गर्नुहोस्, ताकि अन्तर्वार्ताको समयमा सोधिँदा सही जवाफ दिन सक्नुहोस् । फारम भएको विवरण र अन्तर्वार्तामा दिनुभएको विवरण मेल खाएन भने तपाईँ समस्यामा पर्नुहुनेछ ।

बैंकिङ ज्ञान
बैंकमा जागीर खान जाँदै हुनुहुन्छ, तर तपाईँलाई कर्जा, निक्षेप, बचत जस्ता सामान्य कुराहरुको बारेमा जानकारी छैन भने बैंकमा जागीर खाने सपना त्यागे हुन्छ । किनकि, तपाईँको व्यक्तिगत विवरण जानेपछि अन्तर्वार्ता लिने व्यक्तिले तपाईँसग बैंकबारे कत्तिको जानकारी छ भने परीक्षण गर्छ । बैंकमा प्राय प्रयोग भइरहने बैंकसम्बन्धी शब्दावलीहरु र तीनको अर्थ जान्नुहोस् । झन्डै सय डेढ सयको संख्यामा यस्ता शब्दावलीहरु हुन्छन् । सबै याद गर्नुहोस्, ताकि जवाफ दिँदा अल्मलिनु नपरोस । यसका लागि इन्टरनेट अथवा बैंकसम्बन्धी कुनै पुस्तकको सहारा लिनुहोस् ।

पछिल्ला खबरहरु
जुनसुकै क्षेत्रमा काम गर्न जाँदा पनि सो क्षेत्रबारे भइरहेका गतिविधिहरु थाहा भइरहनु जरुरी हुन्छ । यो विषयमा अन्तर्वार्ता लिने व्यक्तिले प्रश्न सोध्न सक्छ । हाल चलिरहेको व्याजदर कति छ ? हाल राष्ट्र बैंकका गभर्नर को छन् ? यस्ता प्रश्नको जवाफका लागि पत्रपत्रिका पढ्ने गर्नुहोस् । हरेक दिन पढ्ने गर्नुहोस् । आर्थिक तथा वित्तीय क्षेत्रको मात्रै हैन राष्ट्रिय स्तरका हरेक गतिविधिको बारेमा जानकार रहनुहोस् । आफ्नो सामान्य ज्ञानलाई बढाउनुहोस् ।

रोजगारदाताको बारेमा जानकारी
अब तपाईँले आफूले जागीर खाने वित्तीय संस्थाको बारेमा कतिको जानकारी हासिल गर्नुभएको छ त भनेर परीक्षण गरिन्छ । यसका लागि तपाईँ उक्त संस्थाको इतिहास, कार्यक्रमहरु, अवार्ड तथा सम्मानहरु, मिसन तथा भिजन, अध्यक्ष तथा सीईओ लगायतका विषयमा अध्ययन गर्नुहोस् । उक्त बैंकको कर्जा प्रवाहसम्बन्धी के व्यवस्था छ ? कति प्रकारका कर्जा उपलब्ध गराउँछ ? कति किसिमका बचत खाताहरु छन् ? बैंकको वित्तीय अवस्था कस्तो छ ? लगायतका विषयमा जानकारी लिनुहोस् । यसका लागि तपाईले बैंकको अफिसियल वेभसाइटमा गएर विस्तृत रुपमा भिजिट गर्न सक्नुहुन्छ । यसले तपाईँले बैंकमा जागीर खान कत्तिको इच्छुक हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।

आफ्नो बारेमा जानकारी
अब आउँछ, मूख्य प्रश्न, जहाँ तपाईँले सकेसम्म धेरै बोल्नुपर्छ । यसअन्तर्गत तपाईँको सबल तथा दुर्बल पक्ष, हालसम्मै सबैभन्दा ठूलो उपलब्धी र तपाईँ उक्त बैंकको लागि कसरी सही हुनुहुन्छ जस्ता प्रश्नहरु राखिन्छन् । यो विषयमा तयारी गर्नुभएको छैन भने तपाईँ समस्यामा पर्नुहुनेछ । किनकि, यहाँ तपाईँले कसरी जवाफ दिँदै हुनुहुन्छ र रोजगारदातालाई कसरी कन्भिन्स गर्नुहुन्छ भन्ने कुरा आउँछ । यस्ता प्रश्नको जवाफ दिँदै सोझै मेरा सबल पक्ष यी हुन् र दुर्बल पक्ष यी हुन् नभन्नुहोस् । आफूले एप्लाई गरेको पदका लागि संस्थाको मागेको योग्यताहरु केके छन्, ती मध्ये तपाईँसँग कुन चाहिँ पक्ष सबैभन्दा सबल छ र किन ? अनि तपाईँको अलि कमजोर पक्ष के छ र किन ? यो शैलीमा जवाफ दिनुहोस् । उक्त पदका लागि आफू फिट छु भनेर रोजगारदातालाई विश्वास दिलाउने अवसर हो यो ।

बैंकमै जागीर किन ?
अन्तिम तर उत्तिकै महत्वपूर्ण प्रश्न हो, तपाईँले बैंकिङ जागीर नै किन रोज्नुभयो ? अथवा यही बैंक किन रोज्नुभयो ? अथवा, यही पद नै किन रोज्नुभयो ? यी सबै प्रश्नको जवाफ तयार पारेर मात्रै अन्तर्वार्ता कक्षमा प्रवेश गर्नुहोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]