नेपालमा शेयर बजारको इतिहास र आधुनिक पूँजी बजार

बैंकिङ खबर । वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार शुरु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल बैंकले शेयरजारी गरेपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन । वि.सं. २०२१ मा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । त्यसबेलासम्म पनि धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय थिएनन् ।

वि.सं. २०३३ सालमा धितोपत्र खरीदविक्री केन्द्रको नामबाट सेक्युरिटीज एक्सचोज सेन्टरको स्थापना भएपछि विधिवत रुपमा नेपालमा पूँजी बजारको सुरुवात भएको हो । सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार पाएको उक्त केन्द्रको स्थापनापछि दोस्रो बजारको उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तर केन्द्रले गर्नुपर्ने काम नीतिगत र संस्थागत व्यवस्थाका कारण प्रभावित भएको थियो । केन्द्रको भूमिका प्रभावकारी बनाउन वि.सं २०४० मा धितोपत्र कारोबार ऐन ल्याइयो । वि.सं २०४३ सालमा ऐनमा संसोधन पनि भयो । तरपनि पूँजी बजारमा अपेक्षा गरिए अनुसारको विकास हुन भने सकेन् ।

वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन पछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशील बनाउन ठूलो सहयोग गर्यो । ‘धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन गरी वि.सं. २०५० जेठ २५ गते नेपाल धितोपत्र वोर्डको स्थापना भयो । त्यस्तै पुष २९ गते धितोपत्र खरीदविक्री केन्द्रलाई ‘नेपाल स्टक एक्सचेन्ज’ (नेप्से)मा रुपान्तरण गरियो । त्यसपछि मात्र नेप्से परिसूचक गणना हुन थालेको हो ।

पूँजीबजार साचालनमा सुधार गर्न र दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले वि.सं. २०६३मा सरकारले ‘धितोपत्रसम्बन्धी ऐन २०६३’ लागु ग¥यो । त्यस्तै पूँजीबजार व्यवस्थित गर्न ‘धितोपत्र बजार सञ्चालन नियमावली २०६४’ पनि आयो । हाल नेपालको पूँजीबजार तथा धितोपत्र कारोबारलाई यिनै ऐन तथा नियमावलीले निर्देशित गरेको छ ।

वि.सं. १९९४ मा अर्थमन्त्रालयकै एउटा कुनाबाट सुरु भएको शेयर कारोबार काठमाडौंको न्यूरोडस्थित नेपाल बैंक लिमिटेडको भवन र डिल्लीबजार हुँदै अहिले भद्रकाली स्थित नेपाल स्टक एक्स्चेन्जको कार्यालयबाट हुँदै आएको छ । सुरुवातमा कार्यलयमा कारोबार गर्न लगानीकर्ताको भीडभाड हुनेगरेकोमा पछिल्लो समय ब्रोकर कार्यालयबाटै कारोबार हुने गरेको छ । अहिले नेप्सेले स्वचालित अनलाइन प्रणालीमार्फत कारोबार सुरुगरेपछि घर–घरबाटै इन्टरनेटको माध्यमबाट शेयर खरिदविक्री गर्न सकिने भएको छ ।
शेयर कारोबारका हिसावले करीब ८ दशकको इतिहास रहेपनि नेपाल स्टक एक्स्चेन्जले पछिललो दुई दशकमा निकै ठूलो फड्को मारेको छ । वि.सं. २०६४ सालमा अटोमेसन प्रणालीमर्फत कारोबार सुरु गरेको नेप्सेले वि.सं. २०६७ मा सिडिएस एण्ड क्लियरिङ हाउसको स्थापना ग¥यो । तर लामो समय सम्म सिडएसले काम गर्न सकेन । तर वि.सं. २०७२ देखि शेयर अभौतिकीकरण सुरु भएपछि शेयर कारोबारमा सहज भयो । यसले नेपालको शेयर बजारमा कारोबारलाई थप सुरक्षित बनाएको छ । यसैबीच नेपाल धितोपत्र वोर्डले पनि बजार सुधारका नीतिगत रुपमा धेरै काम गरेको छ ।

नेपाल स्टक एक्सचेन्जले कारोबार शुरुगर्दा जम्मा ६६ कम्पनी सूचीकृत थिए । हाल कुल २ सय १५ कम्पनीहरु नेप्सेमा सूचीकृत छन् । यसमा २७ वाणिज्य बैंक, ३३ विकास बैंक, २७ फाइनान्स कम्पनी, २२ बीमा कम्पनी, ४ होटल, १८ उत्पादनमूलक उद्योग, २३ जलविद्युत् कम्पनी, ४ व्यापार समूह, १ प्रिफर्ड स्टक, ७ म्युचुअल फन्ड, १३ म्युचुअल फण्ड, ३९ माइक्रोफाइनान्स र ४ वटा अन्य कम्पनी रहेका छन् ।

यसरी हुन्छ नेप्सेमा शेयरको कारोबार
नेप्सेको स्थापनादेखि करीब डेढ दशकसम्म खुला बोलकबोल प्रणाली (ओपन–आउट क्राइ सिस्टम) मार्फत धितोपत्रको खरीद–विक्री भयो । २०६४ बाट भने कम्प्युटरीकृत स्वचालित प्रणालीबाट धितोपत्र कारोबार भइरहेको छ । नेप्सेमा सूचीकृत धितोपत्रको खरीदविक्रीका लागि मध्यस्थकर्ताका रुपमा ५२ वटा शेयर दलाल व्यवसायीहरुले काम गरिरहेका छन् ।

नेपालमा धितोपत्रको कारोबार प्राथमिक निष्काशन र दोस्रो बजारबाट मात्र हुँदै आएको छ । सूचीकरण नभएका वा सूचीकरणबाट हटेका धितोपत्रको कारोबारका लागि केही वर्षअघि धितोपत्र बोर्डले ओभर दि काउण्टर अर्थात ओटीसी बजार साचालनको अनुमति दिएपछि कम्पनी रजिस्ट्रारको कार्यालयले ओटीसी कारोबार गर्न दिने निर्णय पनि गरेको थियो । तत्कालीन समयमा नेपाल बैङ्क लिमिटेडको शेयर सूचीकरणबाट हटेपछि उक्त बैंकको शेयर ओटीसीबाट गर्नका लागि बोर्डले बाटो खुला गरेको थियो । पूँजी बजारको उच्चतम विकास भएका विश्वका धेरै देशमा धितोपत्रको कारोबार गर्ने अनौपचारिक बजार संयन्त्रको रुपमा तेस्रो बजार र चौथो बजार समेत अभ्यासमा छन् ।

आधुनिकता तर्फ नेपाली शेयरबजार
पछिल्लो समय नेपाली पूँजीबजार आधुनिकतातर्फ अगाडी बढिरहेको छ । गत वर्षबाट सिडिएस एण्ड क्लियरिङले डिम्याट शेयरकोमात्र कारोबार सुरु गर्नु, खारेजी, कारोबार रोक्का, निलम्बन र मर्जरमा परेका गरी ४० कम्पनी बाहेक कारोबारमा सक्रिय १ सय ७२ कम्पनी अर्थात् ९९.९८ प्रतिशतको शेयर डिम्याट भइसक्नु, धितोपत्र ब्रोकर कार्यालयमा ज्येष्ठ नागरिक, महिला, बालबच्चा, अपांग र साना लगानीकर्तालाई कारोबारका लागि छुट्टै विन्डोको व्यवस्था गरिनु, ब्रोकर र मचेन्ट बैंकरको कार्यालयमा आफूले दिने सेवा र समय उल्लेखित सेवाग्राही बडापत्र, गुनासो सुन्ने एकाइ र नियम पालना अधिकृत नियुक्त गर्नु र स्वचालीत अनलाइन कारोबार सुरु गर्नुले नेपालको पूँजी बजार आधुनिकतातर्फ गएको मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.