जीवन बीमामा भ्रामक विक्री अर्थात Misselling : कारण, प्रभाव र समाधान

पुजन ढुङ्गेल अधिकारी । बीमा भनेको बीमक र बीमित बीचको करार हो, जसमा बीमकले बीमितलाई बीमाशुल्क वापत जोखिम रक्षावरण गरिदिने गरि दुई पक्ष बीच सम्झौता भएको हुन्छ । बीमक र बीमित बीचको करारको कानुनी दस्तावेज बीमालेख हो । जीवन र निर्जीवन बीमालाई तुलना गर्ने हो भने जीवन बीमा बढी संवेदनशील हुन्छ किनकी यो मानिसको जीवनसँग जोडिएको हुन्छ र बीमितको मृत्यु भए वापत बीमितको कानुनी हकदारले बीमकबाट क्षतिपुर्ति प्राप्त गर्ने प्रकृतिको हुन्छ ।

जीवन बीमालेख बिभिन्न किसिमका हुन्छन् । जसमध्ये सावधिक, म्यादी, आजीवन आदि पर्दछन् । सावधिक जीवन बीमामा पनि मुनाफामा सरिक हुने वा नहुने, बाल सावधिक, परिमार्जित सावाधिक आदि हुन्छन् । मुनाफामा सरिक हुने सावधिक जीवन बीमामा बीमकले बीमितलाई जोखिम रक्षावणको साथसाथै नाफाको निर्धारित प्रतिशत रकम मुनाफाको रुपमा प्रदान गर्ने प्रावधान हुन्छ । बीमितको आवश्यकता र आम्दानीको श्रोतको आधारमा जीवन बीमालेख खरिद गरेमा बीमितलाई बीमालेखको प्रकार हेरी जोखिम रक्षावरणका साथसाथै केहि मुनाफा पनि प्राप्त हुन्छ । हाम्रो जस्तो विकासन्मुख देशमा ग्राहकहरुले बीमालाई आफ्नो अमुल्य बचत लगानी गर्ने वैकल्पिक क्षेत्रको रुपमा हेरेको पाइन्छ । बीमा सम्बन्धी प्राप्त हुने जानकारी र सुचनाको आधरमा बीमा क्षेत्रमा लगानी गर्ने निर्णय गर्न सकिने भएकोले जीवन बीमा सम्बन्धी पर्याप्त सुचना र जानकारीको आवश्यकता पर्दछ ।

भ्रामक विक्री (Misselling)
कुनै पनि वित्तीय योजनाहरु जस्तै बीमालेख बैंकिङ योजना म्युचुअल फण्ड इत्यादिको सुविधा सम्बन्धमा सहि सुचना प्रवाह नगरी र उक्त योजना अन्तर्गतका सुविधालाई ग्राहकहरु समक्ष बढाई चढाई पेश गर्नुलाई नै भ्रामक विक्री भनिन्छ । विश्वभरि नै वित्तीय क्षेत्रमा यो समस्या रहेको हुन्छ भने समस्याको मात्रा तथा प्रभाव भने राष्ट्र तथा क्षेत्राधिकार अनुसार फरक फरक हुने गर्दछ । जीवन बीमामा यो समस्या अन्य क्षेत्रमा भन्दा बढी नै बिद्यमान रहन्छ ।

बीमा व्यवसायको प्रवद्र्धन र वृद्धिमा बीमा अभिकर्ताको उल्लेखनीय भूमिका रहेको हुन्छ । वास्तवमा भन्ने हो भने बीमा अभिकर्ता बीमा व्यवसायका अभिन्न अंग हुन् । हाल नेपालमा सक्रिय रुपमा कार्यरत एक लाख २० हजार बीमा अभिकर्ता मध्ये ५७५ वटा संस्थागत अभिकर्ता रहेका छन् । अधिकांश बीमाको प्रचार प्रसार बीमा अभिकर्ता मार्फत नै हुने भएता पनि भ्रामक विक्रीमा पनि बीमा अभिकर्ताको नै संलग्नता पाइन्छ । झुटो विवरण सहित बीमालेख विक्री वितरण गर्नु, बीमालेखले प्रदान गर्ने सुविधा बारे पर्याप्त जानकारी प्रदान नगर्नु आदि बीमा क्षेत्रमा हुनसक्ने भ्रामक विक्रीका उदाहरणहरु हुन् । बीमा क्षेत्रको नियमनकारी रुपमा रहेको बीमा समितिको मुख्य उद्देश्य बीमितको हित रक्षा गर्नु हो । भ्रामक विक्रीको शिकार भएका बीमितहरुले अनावश्यक बीमालेखमा पैसा खर्च गर्ने वा वास्तवमा पाइने भन्दा बढि भुक्तानी प्राप्त गर्ने प्रलोभनमा बीमालेख लिने समस्या देखिन्छ । बीमा दावी भुक्तानीमा विवाद, बढ्दो उजुरीको संख्या र बीमा क्षेत्रप्रतिको विश्वसनियतामा कमी आउनु नै भ्रामक विक्रीका सम्भावित परिणाम हुन सक्छन् । भ्रामक बिक्री बीमा क्षेत्रको विकासमा बाधक हुने हुनाले बीमक र बीमा नियमनकारी निकायको लागि एक चुनौतिको रुपमा रहेको छ ।

भ्रामक विक्रीका कारणहरु
१) अभिकर्तालाई बीमालेख सम्बन्धी पर्याप्त जानकारी नहुनु
बीमा क्षेत्रको विकास र प्रवद्र्धनमा बीमा अभिकर्ताहरुको महत्वपुर्ण भूमिका रहेको हुन्छ । वास्तवमा बीमीतसँग प्रत्यक्ष सम्पर्क बीमा अभिकर्ताको नै हुन्छ । बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त गर्नको लागि अभिकर्ता तालिम अनिवार्य भएतापनि कतिपय बीमकहरुले स्तरीय तालीम प्रदान नगरेको र बीमालेखहरु सम्बन्धी पर्याप्त जानकारी प्रदान नगरेको कारणले ग्राहकहरुको अनुरोध जानकारीको आधारमा बीमालेखहरु खरिद गरिरहेको देखिन्छ ।

२) बीमकहरु बीच हुने अस्वस्थ प्रतिस्पर्धा
हाल सञ्चालनमा रहेका जीवन बीमकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धाको कारण एक बीमकले अर्को बीमकले प्रचलनमा ल्याएका बीमालेख सम्बन्धमा गलत जानकारी प्रदान गर्ने र आफ्नो बीमालेख प्रदान गर्ने सुविधा सम्बन्धी बढाई चढाई व्याख्या गरी विक्री वितरण गर्ने प्रचलन पनि रहेको छ । साथै अन्य बीमकले प्रदान गर्ने सुविधाहरु दिने प्रलोभनमा आफ्नो कम्पनिको बीमालेख लिन बाध्य बनाउने गरेको पाईन्छ ।

३) वित्तीय साक्षरतामा कमी
वित्तीय क्षेत्रमा लगानी गर्नका लागि वित्तीय क्षेत्रका बिभिन्न आयामहरुको सम्बन्धमा सामान्य जानकारीको आवश्यकता हुन्छ । तर नेपालको परिप्रेक्ष्यमा वित्तीय साक्षरताको कमी देखिन्छ । बीमा क्षेत्रमा वित्तीय साक्षरताको अभाव बैंकिङ र धिताोपत्रको क्षेत्रमा भन्दा निकै बढि देखिन्छ । नेपाल राष्ट्र बैंकले विश्वविद्यालयमा गरेको एक खोज अनुसार नमुनाको रुपमा छानिएका विद्यार्थीहरु मध्ये ३९ प्रतिशतले मात्र बीमाको सम्बन्धमा सोधिएको प्रश्नहरुको सहि जवाफ दिएका छन् । वित्तीय साक्षरताको अभावको कारण आफ्नो आवश्यकता अनुसारको बीमालेख छनोट गर्न नसकिने अभिकर्ता वा बीमकले सुझाव गरे बमोजिमको बीमालेख खरिद गर्नुपर्ने बाध्याताले गर्दा बीमामा भ्रामक विक्री प्रमुख कारण बन्न गएको छ ।

भ्रामक विक्रीका प्रभावहरु
बीमा क्षेत्रप्रतिको विश्वसनियतामा कमी
नेपालको बीमा क्षेत्रमा बीमाको पहुँच अपेक्षित रुपमा बढ्न नसक्नुको कारण भ्रामक विक्री हो । अभिकर्ता र बीमकबाट सहि सुचना प्राप्त गरी आफुले अपेक्षा गरे बमोजिमका सुविधा प्राप्त नगरेका बीमाहरुको फेरि बीमा गर्ने सम्भाबना धैरै कम हुन्छ । साथै आफुले चिने जानेकालाई बीमा गर्न प्रोत्साहन नगर्ने सम्भाबना समेत रहन्छ । बीमा बजारमा विद्यमान भ्रामक विक्री समस्याको कारणले बीमितहरुको बीमा क्षेत्रप्रतिको विश्वसनियतामा कमी आउने र सही रुपमा कार्य गर्न बीमा अभिकर्तालाई बीमकप्रति पनि नकरात्मक प्रभाव पर्ने सम्भावना देखिन्छ । आफ्नो सेवा सुविधाको बारेमा सहि जानकारी प्रवाह गर्ने बीमकरुले पनि अन्य अभिकर्ता र बीमकको कारणले मानिसहरुको बिश्वास जित्न ठुलो हुने अवस्था छ ।

बीमालेखको समर्पणमा बृद्धि
आवश्यकता भन्दा फरक किसिमका बीमा योजना खरिद गर्ने बीमितहरु सामान्यतया बीमा योजानालाई निरन्तरता दिन चाहँदैनन् र परिणामस्वरुप बीमालेख समर्पण गर्न बाध्य हुन्छन् । बीमालेख समर्पण गर्दा बीमक र बीमितलाई नेै बेफाइदा हुन्छ । बीमितले आफुले तिरेको बीमाशुल्क बराबरको रकम पनि प्राप्त नगर्नाले नैराश्यता हुने गर्दछ र बीमकको पनि बीमाले निरन्तरता नपाउँदा बीमाशुल्क आर्जनमा असर पर्न जान्छ ।

ब्यतित बीमालेखको संख्यामा बृद्धि
बीमालेख अन्तर्गत बीमाशुल्क भुक्तानी गर्न मिल्ने म्यादभित्र बीमाशुल्क नतिरेमा बीमालेख व्यतित हुने गर्दछ । व्यतित बीमालेख अन्तर्गत बीमितले कुनै रकम भुक्तानी पाउँदैन । बीमालेखका प्रावधानहरुको बारेमा पर्याप्त जानकारी प्राप्त नभएको कारणले वा आम्दानीको श्रोतले नभ्याएमा बीमकहरुले बीमाशुल्क भुक्तानी नगर्ने बीमालेख स्वतः ब्यतित हुने सम्भावना हुन्छ ।

दावीमा समस्या र बढ्दो उजुरीको संख्या
बीमालेखको बारेमा अधुरो वा गलत जानकारी प्राप्त गरेको बीमितले सोही बमोजिम दाबीको अपेक्षा गर्दछन् । दाबी भुक्तानीमा विवाद आएमा बीमकको पनि बदनामीको सम्भावना रहन्छ भने अनावश्यक रुपमा आउने विवादबाट बीमक र बीमित पक्ष नकरात्मक रुपमा प्रभावित हुने गर्दछ ।

बीमक र बीमित बीचमा दावी भुक्तनीको बिषयमा बिवाद उत्पन्न भएमा बीमा समितिले अर्धन्यायिक निकायको भुमिका निर्वाह गर्ने व्यवस्था रहेको छ । दावी सम्बन्धमा बीमितलाई चित्त नबुझेमा बीमा समितिमा उजुरी गर्ने ब्यवस्था भए बमोजिम उजुरीको संख्या अनावश्यक रुपमा बढने हुँदा बीमा समितिको ब्यवस्थापनमा पनि चुनौति हुने देखिन्छ ।

भ्रामक विक्रीका उदाहरणहरु
१. आम्दानीको श्रोतभन्दा बढी बीमाङ्क भएको जीवन बीमालेख गर्न बाध्य बनाउनु । यसरी आम्दानीले नभ्याउने बीमालेख खरिद गर्नाले बीमालेख समर्पण हुने वा ब्यतित हुने सम्भावना बढी हुन्छ ।
२. एउटा बीमकको बीमालेख समर्पण गराई अर्काे बीमकको बीमालेख खरिद गराउनु ।
३. बीमकले कायम गरे भन्दा बढी मुनाफादर प्राप्त गर्न सकिने प्रतिवद्धता सहित बीमालेख बिक्री गर्नु । जस्तै ५० प्रतिशत मुनाफा दर कायम भएको बीमालेखमा ७० प्रतिशत मुनाफा रहने भन्ने गलत जानकारी दिनु ।
४. कोही पनि कानुनी हकदार नभएकालाई म्यादी बीमालेख वा आजीवन जीवन बीमालेख किन्न लगाउनु । म्यादी बीमालेखको प्रकृति नै मृत्यु भएमा मात्र बीमाङ्क रकम प्राप्त हुने हुनाले कानुनी हकदारहरु कोही नभएकालाई यस्तो बीमालेखहरु अर्थहीन हुनेछ ।
५. बीमकको संस्थागत अभिकर्ताको रुपमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई बीमालेख खरिद गर्न बाध्य तुल्याउनु ।

भ्रामक बिक्रीको नियन्त्रण
वित्तीय क्षेत्रमा भ्रामक विक्रीको समस्या हाम्रो देशमा मात्र नभएर अन्य देशहरुमा पनि बिद्यमान छन् । सो समस्यालाई नियन्त्रण गर्न बीमाको नियमनकारी निकाय र बीमकले संयुक्त रुपमा प्रयास गर्न आवश्यक छ । मानिसहरुमा बीमा क्षेत्रप्रति सकरात्मक भावना विकास गराउनका लागि यस्ता किसिमका क्रियाकलापहरु समयमा नै नियन्त्रण गर्न आवश्यक छ । त्यसैले नियमनकारी निकाय र बीमा कम्पनीबाट आआफ्नै किसिमले पहल गरी भ्रामक विक्रीका क्रियाकलापहरुलाई नियन्त्रण गर्नु आवश्यक छ ।
नियमनकारी निकाय र बीमा कम्पनीले भ्रामक विक्रीलाई न्युनीकरण गर्नको लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छः

बीमाको भुमिका
बीमा बजारमा भ्रामक विक्रीको कारण बीमितलाई मात्र नभएर बीमकलाई पनि धेरै हानी हुन्छ । बीमितहरु असन्तुष्ट भएमा बीमकको गुडविलमा असर पर्नुका साथै व्यवसायमा नै नकरात्मक असर पर्दछ । बीमा क्षेत्रप्रतिको विश्वसनियतालाई कायम राख्न बीमकले पनि पहल गर्न जरुरी हुन्छ । बीमकले निम्न उपायहरु अवलम्बन गरेमा भ्रामक विक्रीलाई केहि हदसम्म नियन्त्रण गर्न सम्भव हुन्छ ।

१. बीमा अभिकर्तालाई बीमा बजारीकरण सम्बन्धी स्तरीय तालिम प्रदान गर्ने र बजारमा प्रचलित बीमालेख सम्बन्धमा पर्याप्त जानकारी प्रदान गराउनु पर्ने,
२. सहि सूचना प्रवाह नगरी बीमा गरेको थाहा भएमा अभिकर्ता तथा कर्मचारीलाई सजायको व्यवस्था गर्नुपर्ने,
३. बीमा अभिकर्ता मार्फत प्राप्त बीमालेखमा बीमा जोखिमाङ्कन गर्ने कर्मचारीलाई शङ्का लागेमा प्रस्तावकलाई सम्पर्क गरी जानकारी प्राप्त गर्नुपर्ने,
४. बीमकको कार्यलयमा सूचना कक्षको ब्यवस्था गरी बीमितलाई आवश्यक जानकारी प्रभावकारी रुपमा प्रवाह गर्नुपर्ने,
५. टेलिफोन मार्फत बीमितलाई बीमा सम्बन्धी जानकारी प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने,
६. टेलिभिजन र रेडियो मार्फत निरन्तर रुपमा सुचना प्रवाह गर्नपर्ने,
७. बीमकको वेब साइट अद्यावधिक गराउने,
८ . बीमालेखको भाषा, शर्त, सुविधा लगायतका व्यवस्थाहरु सरल बनाउनपर्ने ।

नियमनकारी निकायको भूमिका
भ्रामक विक्रीको नियन्त्रणमा नियमनकारी निकायको पनि ठुलो भूमिका रहेको हुन्छ । बीमा ऐनको दफा ८ (ङ) ले बीमा समितिको काम कर्तव्य र अधिकारमध्ये “बीमितको हित रक्षाको निम्ति आवश्यक आधार तर्जुमा गर्ने” भनी व्यवस्था गरेको छ । बीमा समितिले बीमा क्षेत्रमा भइरहेको भ्रामक विक्रीलाई न्युनीकरण गर्न निरन्तर रुपमा निरीक्षण र अनुगमन गर्नुपर्दछ । छिमेकी राष्ट्र भारतमा बीमा नियमकारी निकाय आइआरडीएले सो सम्बन्धी बिभिन्न प्रावधान लागु गरेको छ । जस्तै, बीमा अभिकर्ताको पर्सिसटेन्सी नम्र्स अन्तर्गत बीमा अभिकर्ताले गरेको ब्यापारमध्ये कम्तीमा ५० प्रतिशत बीमालेख नवीकरण नभएमा इजाजतपत्र खारेज हुने व्यवस्था छ । साथै बीमकले बीमितसँग टेलिफोनमा गरेका कुराहरु रेकर्ड गर्न र बीमितले चाहेमा उक्त रेकर्ड दिने व्यवस्था गरेको छ, जसको कारणले टेलिफोन मार्फत पनि गलत जानकारी प्रवाह हुने समस्यामा केकमी आएको छ । साथै, बीमालेख जारी गर्दा लाग्ने बीमाशुल्क र बीमितले प्राप्त गर्ने बीमाङ्क रकम सम्बन्धमा लिखित उदाहरण समेत दिनुपर्ने व्यवस्था रहेको छ ।

बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको बीमा समितिले निम्न व्यास्थाहरु लागू गर्न सकेमा बीमा क्षेत्रमा विद्यमान भ्रामक विक्रीका क्रियाकलापहरुलाई न्युनीकरण गर्ने उपयोगी हुन सक्छ: 
१ . निरिक्षण तथा अनुगमनलाई निरन्तरता प्रदान गर्नुपर्ने,
२. बीमित हित रक्षावरण सम्बन्धी निर्देशिका जारी गर्नुपर्ने,
३. बीमा सम्बन्धी चेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने,
४. बीमा क्षेत्रमा कार्यरत बीमा अभिकर्ताहरुलाई उच्चस्तरीय तालिमहरुको ब्यवस्था गरी नयाँ नीति नियमहरु अद्यावधिक गराउनुपर्ने,
५. बीमा साक्षरता कार्यक्रम संचालन गर्नुपर्ने ।

बीमा समितिबाट भएका पहलहरु
बीमा बजारमा भइरहेको भ्रामक बिक्रीका क्रियाकलापहरुलाई मध्यनजर गरी बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको बीमा समितिले नै विभिन्न जिल्ला लगायत सातै प्रदेशहरुमा निरन्तर रुपमा बीमा सम्बन्धी चेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । साथै बिभिन्न पत्रपत्रिका र अन्य सञ्चार माध्यमहरु मार्फत बीमा सम्बन्धी सु्चना प्रवाह गर्ने गरेको र वेब साइटमा पनि समय समयमा चेतनामुलक जानकारीहरु प्रकाशित गर्ने गरेको छ । बीमा अभिकर्ताको क्रियाकलापहरुलाई नियमित गर्नका लागि बीमा समितिबाट बीमा अभिकर्ताको आचारसंहिता जारी भएको छ । साथै बीमकले बीमाङ्खीय मूल्यांकनबाट निर्धारण गरेको मूनाफादर बीमा समितिबाट स्वीकृत भएको सात दिनभित्र दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने ब्यावस्था पनि समितिले गरेको छ ।

निष्कर्श
बीमा क्षेत्र लगायत अन्य बित्तीय क्षेत्रहरुमा भ्रामक विक्रीको अभ्यास बिद्यमान देखिन्छ । जसको कारण ग्राहकहरुलाई गलत वा अधुरो जानकारी प्रवाह गरी बित्तीय कारोबार गर्न बाध्य तुल्याइन्छ । यस्तो किसिमको कारण ग्राहकको हित रक्षावरणमा असर पर्दछ र परिणाम स्वरुप ग्राहकको अधिकारको हनन् हुने गर्दछ । ग्राहकको हकहित रक्षावरणमा यस्तो किसिमको भ्रामक विक्रीका क्रियाकलापहरुले नयाँ चुनौति खडा गरेको छ । बीमा क्षेत्रमा विद्यमान यो समस्याले बीमक र नियनकारी निकायलाई समेत नकरात्मक असर पारेको छ । बीमकले आफ्नो कर्मचारी वा अभिकर्ता मार्फत भइरहेको क्रियाकलापहरुलाई सुक्ष्म निगरानी गरी आफ्नो ख्यातिलाई नष्ट हुनबाट जोगाउनुपर्छ । अर्कोतर्फ नियमनकारी निकायले प्रभावकारी निरीक्षण र निर्देशनको माध्यमबाट बजारमा भइरहेको भ्रामक विक्रीलाई नियन्त्रण गरी बीमितको हित रक्षावरण गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.