June 15th, 2023

मुख्यसचिवमा डा.बैकुण्ठ अर्याल नियुक्त

बैंकिङ खबर/सरकारले डा. बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा बढुवा गरेको हो ।

मुख्यसचिव शंकरदास बैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो। तर उनलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरिएको हो।

चैतमा अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको थियो। अर्याल मुख्यसचिव नियुक्त नहुँदा असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जाने थिए ।
वर्तमान मुख्यसचिव बैरागीलाई कुटनीतिक वा अन्य नियुक्ति दिने सहमति भएपछि उनी पद छाड्न तयार भएका हुन्।

डा.अर्याल अनुभवी सचिव मानिन्छन् । सिनियर पनि भएका कारण अन्य सचिवहरूसँगको समन्वयमा सहज हुने अनुमान गरिएको छ ।

साथै राजनीतिक समन्वय, निर्णय र राजनीति तथा प्रशासनको सम्बन्ध’ राम्रो जानकार अर्याललाई मानिन्छ। अर्थतन्त्रको ज्ञातामा रुपमा समेत रहेका डा. अर्याल यस अगाडि अर्थमन्त्रालयको बजेट महाशाखाको प्रमुखका रुपमा समेत काम गरेको थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]