August 16th, 2017

बैंकिङ रोजगारीका लागि के के चाहिन्छ ? हेर्नुस न्यूनतम योग्यताहरु

[रुपा कोइराला / कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । विभिन्न कम्पनीका आफ्नै नीतिनियम हुन्छन् । कर्मचारीले सम्बन्धित कम्पनीको नीतिनियमभित्र रहेर काम गर्नुपर्छ । बैंकिङ क्षेत्रमा जागीर गर्नका लागि पनि आधारभूत योग्यताहरु लगभग उस्तै हुन् । शैक्षिक योग्यता, अनुभव, कार्यशैली यो सबै कुराहरु बैंकिङ क्षेत्रमा जागीर गर्दा पनि हेरिन्छ । बैंकमा पनि जागीर खाने विभिन्न पदहरु हुन्छन् । समग्रमा, बैंकिङ क्षेत्रमा करिअर बनाउन यस्ता योग्यताहरु आवश्यक पर्दछन् । 

शैक्षिक योग्यता
विशेषगरी, बैंकिङ क्षेत्रमा प्रवेश गर्न व्यवस्थापन संकायमा अध्ययन गरेको हुनुपर्छ । यो अध्ययनले आर्थिक तथा वित्तीय प्रणालीको बारेमा जानकारी गराउँछ । बीबीए तथा बीबीएस गरेकाहरुको माग यो क्षेत्रमा बढी हुने गर्दछ । अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, विजनेस एडमिनिस्ट्रेसन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर उतीर्ण गरेकाहरुको माग बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी लगायतमा भइरहेको हुन्छ । त्यस्तै, पछिल्लो समय फेसन जस्तै बनिसकेको विषय हो, सीए । सी गर्नेहरुलाई अहिले नेपालमा राम्रो स्कोप छ । सी गर्नेहरुले पनि जागीर गर्ने बैंकिङ क्षेत्रमै हो । साथमा पुँजी बजारसम्बन्धी कुनै पनि कम्पनीमा सीएको आवश्यकता हुने गर्दछ । यसबाहेक, पदअनुसारका योग्यता हरु खोजिन्छन् । जस्तै, बैंकलाई लिगल अफिसर चाहिएको हुन सक्छ । यसका लागि कानुन विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै, कुनै बैंकलाई आईटी अफिसर चाहिएको हुन सक्छ । यसका लागि आईटी पढेको हुनुपर्छ । 

अनुभव तथा तालिम
बैंकिङ क्षेत्र जनताको पैसाको कारोबार गर्ने क्षेत्र भएकाले निकै नै संवेदनशील मानिन्छ । त्यसैले, कर्मचारी नियुक्तिको विषयमा यो क्षेत्रमा अलि कडाइ गरिन्छ । शैक्षिक योग्यता सँगसँगै अनुभव तथा तालिमहरु पनि माग गरिन्छ । विशेषतः मेनेजर, अफिसर जस्ता ठूला पदमा त अनुभव अनिवार्य नै हुन्छ । अब, अनुभव चाहिँ कहाँबाट लिने त ? अनुभव लिनका लागि तपाईँले कुनै पनि बैंकमा इन्टर्नसिप गर्नुहोस्, अथवा सामान्य पदबाट जागीर सुरु गर्नुहोस् । यसबाट तपाईँलाई बैंकिङसम्बन्धी जानकारी प्राप्त हुन्छ । अनि, बैंकिङ करिअर बनाउन ठूलो सहयोग पुग्छ । यसबाहेक, बैंकहरुले आफ्ुना कर्मचारीहरुका लागि बेलाबेलामा तालिम पनि दिइरहेका छन् । त्यसैले, इन्टर्नसिपबाटै भएपनि आफूमा क्षमताको विकास गर्नुहोस् । बैंकहरुले प्रशिक्षार्थी कर्मचारीको रुपमा बेलाबेलामा दरखास्त आह्वान गरिरहेका हुन्छन् । यस्तै बेलामा यो क्षेत्रमा छिर्नुभयो भने तपाईँलाई बैंकिङ करिअर बनाउन पक्कै सहज हुन्छ । 

भाषासम्बन्धी ज्ञान
कर्मचारी आवश्यकतासम्बन्धी जुन विज्ञापन हेर्नुस्, सबैमा अंग्रेजी तथा नेपाली भाषामा दखलता भएको हुनुपर्ने भन्ने वाक्यांश पाउनुहुन्छ । पछिल्लो समयमा त झन् अंग्रेजी भाषा निकै नै हाबी बन्दै गइरहेको छ । यस अनुसार, तपाईँले आफूलाई पनि तयार बनाउनुस् । नेपाली र अंग्रेजी दुबै भाषा पढ्न, लेख्न र बोल्नमा आफूलाई दक्ष बनाउनुस् । 

कम्युटरसम्बन्धी ज्ञान
कम्प्युटरसम्बन्धी धेरै नभएपनि आधारभूत ज्ञान भएको हुनु पनि अनिवार्य नै हो । बैंकमा मात्र हैन हरेक क्षेत्रमा जागीर गर्दा यो क्षमता हुनु जरुरी छ । जागीर नै नगरेपनि यो सीप खेर जाँदैन । त्यसैले, खाली समयमा कम्प्युटर तालिम लिनुहोस् । फेसबुक या युटुवका लागि मात्र कम्प्युटरको प्रयोग नगरेर टाइपिङ(अंग्रेजी, नेपाली), बैंकिङ सफ्टवेर, पावरपइन्ट, एक्सेलजस्ता कुराहरु चलाउन जान्ने बन्नुहोस् । 

अन्तक्र्रियात्मक क्षमता
बैंकले जारी गरेको कर्मचारी आह्वानसम्बन्धी हरेक विज्ञापनमा सँधै अटाउने अर्को वाक्यांश हो एक्सिलेन्ट कम्युनिकेसन स्किल, अर्थात उत्कृष्ट अन्तक्र्रियात्मक क्षमता । ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन सक्ने र ग्राहकको जिज्ञासालाई तुरुन्तै मेटाउन सक्ने क्षमता एउटा कर्मचारीमा हुनुरु जरुरी छ । यसका लागि पुनः कुरा आउँछ, सम्बन्धित क्षेत्रसम्बन्धी ज्ञानको । हामीसँग ज्ञान छ भने पक्कै पनि बोल्नको लागि धेरै कुरा हुन्छ, र अरुलाई बुझाउन पनि सहज हुन्छ । तर, ज्ञान हुनेवित्तीकै सबैले अरुलाई बुझाउन सक्छन् भन्ने छैन । यसका लागि आफूले जानेको कुरा राम्रोसँग अरुको अगाडी राख्न सक्ने हुनुपर्छ । बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने बैंक तथा पदका लागि आवश्यक योग्यताहरु त छँदैछन्, यसका अलावा माथि उल्लेखित योग्यताहरु पनि तपाईँमा भयो भने तपाईँको बैंकिङ भविष्य एकदमै उज्वल छ, यसमा दुईमत छैन । 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]