September 19th, 2017

बीमाका लागि नक्कली दुर्घटना

भानुभक्त आचार्य
हेटौंडा । एक ट्रक बीयर र गाडीको बीमा भुक्तानी लिन नक्कली दुर्घटना गराउने ट्रक चालक र योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । एकसाताअघि नवलपरासीको भेडाबारीस्थित गोर्खा ब्रुअरीबाट १ हजार ४ सय कार्टुन टुबर्ग बीयर लिएर काठमाडौंका लागि हिँडेको ट्रक चितवनको इच्छाकामना गाउँपालिकाको जलवीरेमा दुर्घटना भएको भनी समाचार आएको थियो ।

भदौ २५ गते दिउँसो १ बजे भएको ना५ख ७२९७ नम्बरको ट्रक दुर्घटनाको रहस्य २ साताको अनुसन्धानपछि प्रहरीले बीमा भुक्तानीका लागि भएको फेला पार्‍यो । ट्रक चालक हेटौंडा ११ का २८ वर्षीय सन्तोष खत्रीले मनहरी गाउँपालिका ५ का ३० वर्षीय उज्ज्वल कँडेलसँग मिलेर ट्रकमा भएको बीयर र ट्रकको बीमा भुक्तानी लिएर रातारात पैसा कमाउने योजना बनाएको रहस्य प्रहरीले पत्ता लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीपराज झाका अनुसार नवलपरासीको गोर्खा ब्रुअरीबाट १ हजार ४ सय कार्टुन बीयर लोड गरेको ना५ख ७२९७ नम्बरको ट्रक चितवनको गीतानगरमा आएपछि सो ट्रकमा रहेकोमध्ये १ हजार २ सय कार्टुन अर्को ट्रकमा राखियो र बाँकी २ सय कार्टुन बीयर लिएर सो ट्रक काठमाडौं जान हिँड्यो । जलवीरे पुगेपछि ट्रक नारायणी नदीमा खसालियो । तत्कालै मुग्लिङको प्रहरीचौकीमा ट्रक नारायणीमा दुर्घटना भएको जानकारी गराइयो ।

१ हजार २ सय कार्टुन बीयर बोकेको नम्बर नखुलेको ट्रक भने हेटौंडा ल्याइयो र हेटौंडा–२ नयाँ मनकामना रोडको एक घरमा लुकाइयो । त्यसको भोलिपल्ट सो बीयर हेटौंडा–१३ पदमपोखरीस्थित मणि लामाको घरमा ५ सय ३७ कार्टुन र बुद्ध लामाको घरमा ४ सय २३ कार्टुन लुकाइयो । दुवैको घरमा रहेको ९ सय ६० कार्टुन बीयर प्रहरीले बरामद गरेको छ, जसको बजार मूल्य करीब ३७ लाख रुपैयाँ पर्ने प्रहरी प्रवक्ता झाले जानकारी दिए ।

ट्रक दुर्घटना भएर पनि चालक सकुशल रहेको अवस्थामा घटना अपत्यारिलो हुनसक्छ भनेर उनीहरूले भरतपुरको एक पसलबाट चक्कु किनेर नजिकैको झाडीमा गएर चालकको घुँडामाथि चक्कुले काटेर उपचारका लागि अस्पताल लगेको रहस्य अनुसन्धानका क्रममा खुलेको प्रहरी प्रवक्ता झाले बताए । ट्रकको नक्कली साहू बनेका हेटौंडा–११ का २२ वर्षीय निर्मल सुवेदीले प्रहरीचौकीमा खबर गर्ने र बीमा भुक्तानीका लागि प्रक्रिया अगाडि बढाउने काम गरेका थिए । प्रहरीले पक्राउ गरेको चार जना र बरामद गरिएको ९ सय ६० कार्टुन बीयरसहित आवश्यक कारबाहीका लागि जिप्रका चितवन पठाइएको नायब प्रहरी उपरीक्षक झाले जानकारी दिए । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]