August 7th, 2016

सरकारको आर्थिक संकट यसरी पूरा गर्छ राष्ट्र बैंकले (नीतिगत प्रक्रियासहित)

nrbनेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्थाअनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंकले गर्दछ । प्रत्येक वर्ष नेपाल सरकारको वार्षिक बजेटमा उल्लेख भए बराबरको आन्तरिक ऋण उठाउन नेपाल सरकार, अर्थ मन्त्रालयबाट नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी पत्र लेखिन्छ । उक्त पत्र प्राप्त भएपछि राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेको खुला बजार सञ्चालन समितिले कुन–कुन त्रैमासमा कुन–कुन ऋणपत्रमार्फत् कति–कति रकम उठाउने भन्ने उल्लेख भएको वार्षिक आन्तरिक ऋण निष्कासन तालिका तयार गर्दछ । उक्त तालिकाको आधारमा तोकिएअनुसारका ऋणपत्रहरू कुन–कुन मितिमा बोलकबोल वा निष्कासन गर्ने भनी किटान गरिएको बोलकबोल तालिका तयार गरिन्छ । उक्त दुबै तालिकाहरू खुला बजार सञ्चालन समितिको सिफारिसमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुन्छ । 

हालसम्म नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत ऋण उठाउँदै आएको छ । सरकारी ऋणपत्रहरूसम्बन्धी सम्पूर्ण दायित्व नेपाल सरकारको हुने गर्दछ भने नेपाल सरकारको आन्तरिक ऋण व्यवस्थापनको जिम्मेवारी नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले बहन गर्ने गर्दछ ।

आन्तरिक ऋणको व्यवस्थापनअन्तर्गत देहायबमोजिमका कार्यहरू पर्दछन् : 
(क) सरकारी ऋणपत्रहरूको निष्कासन गर्ने, बोलकबोल गराउने, रकम प्राप्त गर्ने 
(ख) प्राप्त रकम नेपाल सरकारको आन्तरिक ऋण खातामा जम्मा गर्ने छ 
(ग) भुक्तानी मितिमा साँवा तथा ब्याज रकम नेपाल सरकारसँग माग गरी ऋणपत्र धनीहरूलाई भुक्तानी गर्ने 
(घ) बैंक तथा वित्तीय संस्थाहरूबाट भुक्तानी भएको ऋणपत्रको साँवा तथा ब्याज रकम शोधभर्ना प्रदान गर्ने 
(ङ) निष्कासन भएका ऋणपत्रहरूको अभिलेख राख्ने 
(च) ऋणपत्रको प्रमाणपत्र तयार गरी वितरण गर्ने, आवश्यकतानुसार नामसारी (ऋणपत्र धनीको नाम परिवर्तन), एकीकरण, खण्डीकरण गर्ने 
(छ) ऋणपत्रहरूको दोस्रो बजार कारोबारको व्यवस्थापन गर्ने । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]