June 29th, 2016

कृषिमा राष्ट्र बैंकले तोकेअनुसारको लगानी नगर्ने बैंकलाई कारबाही गरिने

investmentनेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्न मध्यपश्चिमका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ बढाउन कृषिमा लगानी आवश्यक रहेको भन्दै त्यसतर्फ गम्भीर हुन राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकका कायम–मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले मध्यपश्चिमाञ्चल क्षेत्रका कृषिसँग सरोकार राख्ने सरकारी अधिकारी, सहकारी, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाका प्रमुखबीचको अन्तरक्रियामा कृषिमा निर्देशित लगानी नगर्नेलाई कारबाही गर्ने तयारी राष्ट्र बैंकले गरेको स्पस्ट पारे । 

राष्ट्र बैंकले कृषि कर्जा आवश्यकता, सम्भाव्यता र चुनौतीबारे अन्तरक्रिया गर्न सरोकारवालाहरूलाई नेपालगन्जस्थित क्षेत्रीय कार्यालयमा भेला गराएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका अधिकांश अधिकारीहरूले भने नीतिगत व्यवस्थाको आलोचना गरे । राष्ट्र बैंकको नीतिले प्रोत्साहन नगरेकै कारण आफूहरु ग्रामीण भेग र कृषि क्षेत्रमा नपुगेको उनीहरुको तर्क थियो ।

राष्ट्र बैंकले बैंकहरूलाई प्राथमिकताका क्षेत्रमा २० प्रतिशत तथा कृषि र ऊर्जामा १२ प्रतिशत लगानीमा निर्देशन गरेको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी वृद्धिका लागि निर्देशन मात्रै होइन सहुलियत पनि प्रदान गरेको छ । ६ प्रतिशतमा कृषि कर्जा प्रवाह गर्न निर्देशन गरेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ४ प्रतिशत कृषि कर्जा ब्याज अनुदान दिँदै आएको छ । शिवाकोटीका अनुसार कृषि कर्जा ब्याज अनुदानका लागि सरकारले छुट्ट्याएको १ अर्ब रकममा साढे ३ करोड मात्रै खर्च भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]