December 2nd, 2019

बैंकको कडाईपछि घरजग्गाको कारोबारमा गिरावट

बैंकिङ खबर । घरजग्गाको कारोबारलाई अनुत्पादक र जोखिमपूर्ण भन्दै राष्ट्र बैंकले बैंकिङ लगानीमा कडाई गरेपछि घरजग्गा कारोबारमा गिरावट आएको छ । बैंकबाट कर्जा लिएर घरजग्गा किन्ने र केही समयपछि फाइदा लिएर बेच्ने कारोबार कुनै समय निकै फस्टाएको थियो । घरजग्गा भनेको लगानीको माध्यम बनेको थियो । तर, राष्ट्र बैंकले घरजग्गाका लागि कर्जा प्रवाह कम गर्दै कृषि, पर्यटन, उर्जा जस्ता उत्पादनमूक क्षेत्रमा लगानी बढाउने नीति लिएसँगै घरजग्गा कारोबार सुस्ताउँदै गएको छ ।

राष्ट्र बैंकले रियलस्टेटमा कुल कर्जाको २५ प्रतिशतभन्दा बढी प्रवाह गर्न नपाउने भनेको छ । जसकारण पहिले जस्तो निर्धक्क रुपमा घरजग्गामा लगानी गेर फाइदा लिन सक्ने अवस्था छैन । बैंकले ऋणमा कडाई गरेपछि घरजग्गा कारोबार फस्टाउन सकेको छैन । राष्ट्र बैंकको तथ्यांक हेर्दा गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रियलस्टेट कर्जा ४.८ प्रतिशतले मात्रै बढेको छ ।

हालै राष्ट्र बैंकले घर बनाउन वा किन्नका लागि पहिलोपल्ट ऋण लिने व्यक्तिले लागतको ७० प्रतिशतसम्म कर्जा बैंकबाट पाउने व्यवस्था गरेको छ । तीन हजार वर्गफिटसम्मको घर बनाउन वा अपार्टमेन्ट खरिद गर्न यस्तो कर्जा पाइन्छ । तर, यसरी घर किनेर विक्री गर्न भने पाइँदैन । यस्तो कर्जा लिएर खरिद गरिने वा बनाइने घर ऋणीले नै प्रयोग गर्नुपर्ने व्यवस्था छ । यसअघि सबै व्यक्तिगत आवासीय कर्जामा काठमाडौंभित्र धितो सुरक्षणमा ५० प्रतिशत र अन्य स्थानको सुरक्षणको ६० प्रतिशतसम्म सीमा कायम गरिएको थियो । त्यस्तै, कर्जा लिने ऋणीले घरभाडालाई स्रोतका रूपमा देखाउन नपाउने व्यवस्था गरिएको छ । यस्तो कर्जाको व्याजदर बीचमा बढाउन नपाइने व्यवस्था छ ।

यो नीतिबाट सबै नेपालीको आफ्नै घर नामक सरकारी योजनालाई सहयोग पुर्याउने राष्ट्र बैंकको अपेक्षा छ । तर, अहिले बैंकहरु तरलता अभावको अवस्थामा छन् । घर बनाउन वा किन्नका लागि कर्जा माग गरेपनि दिन सक्ने अवस्थामा बैंकहरु छैनन् । यसको असर घरजग्गा कारोबारमा परेको छ । घर बनाएर विक्री गर्न खाजेकाहरुको घर विक्री हुन सकिरहेको छैन । घर बनाउन जग्गा किनेकाहरुले घर बनाउन सकिरहेका छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]