December 2nd, 2019

घरेलु लघुवित्तद्धारा रौतहटको चन्द्रपुरमा क्षमता अभिवृद्धि तालिम सञ्चालन

बैंकिङ खबर । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्नो फिल्ड सहायक स्तरीय कर्मचारीहरुको सहभागितामा रौतहट जिल्लाको चन्द्रपुरमा “फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको संस्थाका जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिप कुमार घिमिरेले जानकारी गराउनु भयो । यस तालिम कार्यक्रममा घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी, विभागिय प्रमुखहरु सोनाम शेर्पा, प्रदिप घिमिरे र अन्जना प्याकुरेलको सहभागिता रहेको थियो ।

यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ कार्तिक मसान्तसम्ममा ४ हजार भन्दा बढि घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको छ । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले प्रकाश पार्नुभएको थियो । यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख अन्जना प्याकुरेलले सहजीकरण गर्नुभएको थियो ।
यस क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्ड को व्यवस्थापक फिल्ड कर्मचारीहरु हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर कार्यक्रमको विकास विस्तार तथा गुणस्तर कायम गर्दै आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता समेत व्यक्त गरिएको थियो । अन्त्यमा सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन गर्दै तालिमको समापन मन्तब्य संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले दिनु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]