December 1st, 2019

लघुवित्तको जन्मदाता ‘बंगलादेश’मा लघुवित्तको अवस्था

रुपा कोइराला/बैंकिङ खबर । माइक्रोफाइनान्सकोे विकास बङ्लादेशबाट भएको हो । लघुवित्त कार्यक्रमको सुरुवातको श्रेय बंगलादेशका प्रोफेसर मोहमद युनुसलाई जान्छ । उनले ग्रामीण मोडेलको लघुवित्त कार्यक्रम १९७० को दशकमा सुरु गरेका थिए । बंगलादेशमा यो मोडेल सफल भएपछि यसको प्रयोग विश्वव्यापी रुपमा हुँदै गएको पाइन्छ । यसका लागि युनुसले सन् २००६ को नोवेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए । ग्रामीणबाहेक लघुवित्तका थुप्रै मोडेलहरु पनि आए । तर, हाल पनि यही मोडेल बढी लोकप्रिय र सफल रहेको छ ।

बंगलादेशमा लघुवित्त
बंगलादेशमा हाल लघुवित्तलाई गरिबी न्युनीकरणको माध्यमको रुपमा विकास एवम् विस्तार गरिँदै आएको छ । अहिले बंगलादेशमा एक हजार भन्दा बढी संस्थाहरुले लघुवित्त सेवा दिइरहेका छन् । तर, ग्रामीण बैंक लगायत १० वटा ठूलो माइक्रोफाइनान्सले लघुवित्त क्षेत्रको कुल बचतको ८७ प्रतिशत र कर्जा प्रवाहको ८१ प्रतिशत बजार ओगटेका छन् । अहिले माइक्रोफाइनान्सले निकै विकसित रुप लिइसकेको छ । माइक्रोफाइनान्सहरु डिजिटलाइज भइसकेका छन् । माइक्रोफाइनान्स रेगुलेटरी अथोरिटीले यहाँका माइक्रोफाइनान्सहरुलाई नियमन गर्ने गरेको छ ।

फण्डिङ
बंगलादेशका प्रायः माइक्रोफाइनान्सहरुको फण्डिङ सबैभन्दा बढी दाताहरुबाट आउँछ । तर, औसतमा दाताबाट आउने फण्डिङमा निर्भरमा साढे दुई प्रतिशतको हाराहारीमा मात्रै छ र यो अझ घट्ने क्रममा रहेको छ । यसको ठाउँ अब सरकारद्धारा संचालित पाल्ली कर्मा सहायक फाउन्डेसन (पीकेएसएफ)ले लिँदै आएको छ । ग्राहकको बचत र क्युमुलेटिभ सरप्लस माइक्रोफाइनान्सको फण्डिङका मूख्य स्रोत हुन् । कमर्सियल बैंक र अन्य स्रोतहरुबाट आउने फण्डले पनि पछिल्लो समय नियमित योगदान पुर्याउँदै आएका छन् ।

गरिबी न्युनीकरण
यहाँका माइक्रोफाइनान्सहरुले वार्षिक ७.२ विलियन अमेरिकी डलर भन्दा बढी कर्जा प्रवाह गरी ग्रामीण भेगको गरिबी न्युनीकरणमा मद्दत पुर्याएका छन् । लघुवित्त कार्यक्रमबाट बंगलादेशका तीन करोडभन्दा बढी गरिब मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । माइक्रोफाइनान्सका कारण बंगलादेशका झन्डै तीन लाख जनसंख्या गरीबीको रेखाबाट माथि उठेको तथ्यांकले देखाउँछ ।

आर्थिक गतिविधिमा विविधता
जिविकोपार्जनबाट माथि उठेर बंगलादेशका लघुवित्तहरु अब बचत, बीमा, उत्पादनशील रोजगारी एवम् लघुउद्यमतर्फ विकसित भइसकेका छन् । लघुवित्तले प्रदान गर्ने कर्जाबाट बंगलादेशमा आर्थिक गतिविधिहरुमा विविधिता आएको छ । खेती किसानीबाट माथि उठेर ग्रामीण भेगका मानिसहरु विस्तारै व्यवसायिकतातर्फ अघि बढेका छन् । खेती नै गरे पनि व्यवसायिक रुपमा गर्न थालेका छन् ।

महिला सशक्तिकरण
महिला सशक्तिकरणमा बंगलादेशका माइक्रोफाइनान्सहरुले ठूलो योगदान पुर्याइरहेका छन् । ग्रामीण बैंक, बीआरएसी लगायत सरकार समेतको प्रयासले महिलाहरुलाई घरायशी कामबाट बाहिर ल्याई उनीहरुलाई आर्थिक रुपमा सबल बनाउन एवम् शिक्षित बनाउन ठूलो योगदान पुगेको अध्ययनले देखाउँछ । लघुवित्तकै कारण आज बंगलादेशका महिलाहरुको आफ्नै नाममा घरजग्गा छ भने उनीहरु आफ्नै व्यवसायको मालिक बन्न र रोजगारदाता समेत बन्न सफल भएका छन् ।

ग्रामीण उत्पादकत्वमा वृद्धि
ग्रामीण भेगमा जीवीका चलाउन गरिने खेती अब व्यवसायिक रुपमा गर्न थालिएको छ । जसकारण उत्पादकत्वमा समेत वृद्धि हुन थालेको छ । खेतीबाहेकका व्यवसायहरु पनि हुन थालेका कारण समग्र ग्रामीण अर्थतन्त्रमा ठूलो सुधार आएको छ ।

समस्या
ग्रामीण भेगका मानिसहरुलाई बिना धितो कर्जा प्रदान गर्ने भएकाले जोखिम धेरै हुने हुँदा लघुवित्तको व्याजदर बंगलादेशमा पनि महँगो छ । यहाँका लघुवित्तहरुले २७ प्रतिशतसम्म व्याज लिने गर्छन् । नियामक निकायले २७ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने भनी व्याजदरमा क्याप लगाएको छ । तर, यही व्याजदर पनि कतिपय व्यक्तिहरुका लागि महँगो भएका कारण लघुवित्तबाट कर्जा लिएर उद्यम गर्न आँट गर्न सकेका छैनन् । त्यस्तै, एउटै व्यक्तिले धेरै संस्थाबाट कर्जा लिएर दुरुपयोग गर्ने समस्या बंगलादेशमा पनि छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]