November 27th, 2019

लघुवित्तले ल्यायो गाउँगाउँमा : उद्यमशीलताको लहर, लघुवित्तप्रति बढ्दो आकर्षण

बैंकिङ खबर । ग्रामीण भेगमा बस्ने एवम् विपन्न वर्गका मानिसहरुलाई लक्षित गरेर लघुवित्तको अवधारणाको विकास भएको हो । विश्वभर नै गरिबी उन्मुलन एवम् उद्यमशीलताको विकास गर्नका लागि लघुवित्त वित्तीय संस्थाहरु प्रचलित छन् । बंगलादेशबाट सुरु भएको ग्रामीण विकास मोडेलको लघुवित्त अहिले विभिन्न मोडेल र स्वरुपमा विश्वभरी नै प्रख्यात एवम् सफल भएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले नेपालमा पनि थुप्रै परिवर्तन ल्याएका छन् । वाणिज्य बैंक एवम् विकास बैंकहरु पुग्न नसकेका ठाउँमा पुगेर उनीहरुले वित्तीय सेवा दिइरहेका छन् । ठूलो कर्जा लिएर ठूलो व्यवसाय गर्न नसक्नेहरुका लागि ससनो कर्जा दिएर उद्यम गर्न प्रेरित गरेका छन् । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर सफल उद्यमी बनेका उदाहरणहरु गाउँगाउँमा प्रशस्तै देख्न पाइन्छ ।

लघुवित्तकै कारण ग्रामीण अर्थतन्त्र विस्तारै राष्ट्रिय अर्थतन्त्रमा जोडिन थालेको छ । सानै पुँजीबाट पनि सफल बन्न सकिने रहेछ भन्ने विश्वास बढ्न थालेको छ । घरमा दुध खानका लागि भनेर मात्रै एउटा भैँसी पाल्नेहरु अब व्यवसायिक रुपमा भैँसी पालेर दुध बेची राम्रो आयआर्जन गर्न सक्ने भएका छन् । स्वदेशमा केही गर्न सकिँदैन भने विदेशीनेहरुलाई केही हदसम्म भउपनि स्वदेशमा रोक्न लघुवित्तहरुले योगदान पुर्याएका छन् । सहर पसेर १५।२० हजारको जागीरमा अल्झेर बल्लतल्ल गुजारा गर्नेहरु गाउँमै पसेर स्वरोजगार बन्न सक्ने वातावरण लघुवित्तले सिर्जना गरेको छ । धितो बिना नै कर्जा दिने हुँदा सम्पत्ति नहुनेहरुले पनि आफ्नै व्यवसाय सुरु गर्न सक्ने भएका छन् ।

पैसाको बचत गर्ने, सही ठाउँमा लगानी गर्ने, कारोबारका लागि बैंकिङ च्यानलको प्रयोग गर्ने जस्ता कुरामा ग्रामीण भेगका मानिसहरु पनि जागरुक हुन थालेका छन् । कर्जाका साथमा व्यवसाय संचालनका लागि विभिन्न व्यवसायिक तालिम समेत लघुवित्तहरुले नै संचालन गरिदिने भएपछि उद्यमशीलतातर्फको आकर्षण झन्झन् बढ्दो रहेको छ । लघुवित्तका कारण मानिसहरु आफ्नै व्यवसायको मालिक मात्र भएका छैनन्, रोजगारदाता नै भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]