November 24th, 2019

१२ वर्षमा कायापलट भएको ब्राजीलको अर्थतन्त्र (एक रोचक कथा)

बैंकिङ खबर । कुल गार्हस्थ उत्पादनका हिसाबले संसारकै नवौँ ठूलो अर्थतन्त्र भएको मुलुक ब्राजिलको अर्थतन्त्रको बनावटको श्रेय खुला बजार र स्वदेशी उत्पादनलाई जान्छ । ब्राजीलको अर्थतन्त्र ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो हो भने पश्चिम विश्वको दोस्रो ठूलो । सन् २००० देखि २०१२ बिचमा ब्राजीलको अर्थतन्त्रले संसारकै सबैभन्दा दु्रुततर वृद्धि हासिल गर्यो । त्यो समयमा ब्राजीलको कुल गार्हस्थ उत्पादन प्रतिवर्ष ५ प्रतिशतका दरले बढेर ब्राजीलले विश्वको छैटौँ धनी मुलुकको स्थानमा आफूलाई उभ्याइसकेको थियो । सन् २०१३ देखि सो गति केही खस्कियो । १९९० को दशकमा ब्राजीलले खुला अर्थतन्त्र निर्माणका लागि चालेको विभिन्न कदमहरुले मुलुकको दिगो आर्थिक अवस्थालाई मद्धत पुर्याएको देखिन्छ । सो समयमा मुलुकले नीजि क्षेत्रलाई प्राथमिकता राखेर अघि बढ्ने नीति लिनु नै आर्थिक समृद्धिको प्रमुख कारक तत्व सावित भएको प्रष्ट हुन्छ । सन् २०१२ मा फोब्र्सले सार्वजनिक गरेको संसारका सबैभन्दा धेरै अर्बपति रहेको मुलुकको सूचीको पाचौँ नम्बरमा ब्राजील परेको थियो । ब्राजिल जलस्रोतमा विश्वकै सबैभन्दा धनी राष्ट्र पनि हो । 

ब्राजीलको आर्थिक इतिहास
१५औँ शताब्दीमा जब पोर्चुगिजहरु ब्राजील प्रस्थान गरे, २.५ मिलियनको संख्यामा रहेका त्यहाँका आदिवासी जनताहरु ढुंगे युगमै थिए । पोर्चुगिजहरुले सन् १५०० देखि १८२२ सम्म ब्राजीलमा आफ्नो शासन जमाए । सो समयदेखि १९३० को दशकसम्म ब्राजीलको अर्थतन्त्र मुलुकभित्रका एकदमै नगण्य उत्पादनमा बल्लतल्ल धानिएको थियो । पोर्चुगिजको शासन रहँदा ब्राजीलको अर्थतन्त्र चिनी, सुन र १९औँ शताब्दीदेखि कफिको व्यवसायिक उत्पादनमा टिकेको थियो । १९ औँ शताब्दीको अन्तसम्म ब्राजीलको अर्थतन्त्र अफ्रिकन दासहरुमा निर्भर रह्यो । सो समयमा अफ्रिकाबाट करिब ३ मिलियन अफ्रिकनहरुलाई आयात गरेर दास बनाइएको थियो । सो समयमा ब्राजील एक उपनिवेश राष्ट्र थियो जहाँ पोर्चुगिज लगायत ठूलो संख्यामा युरोपेलीहरुको वसोवास रहेको थियो । फ्रान्सेली, जर्मन लगायत थुप्रै मुलुकका बाह्य जनताको कब्जामा रहेको ब्राजीलमा त्यहाँका आदिवासी अर्थात डचहरुको संख्या न्युन थियो । उपनिवेशको सुरुवातसँगै युरोपबाट आएका मानिसुहरुका कारण मुलुकले आर्थिक रुपमा तीव्र गति लियो । एक तथ्यांकका अनुसार, १८८२ देखि १९३४ सम्ममा ४.५ मिलियन मानिस बसाइ सरेर ब्राजील गएका थिए ।

स्वदेशी उत्पादनमा अडेको अर्थतन्त्र
अहिले ब्राजीलको जनसंख्या २०४ मिलियनभन्दा बढी छ । प्राकृतिक सम्पदाका दृष्टिले अत्यन्त धनी मुलुक भएको र सो सम्पदाको उचित प्रयोग तथा संरक्षण भएकाले ब्राजीलियन जनता समृद्ध छन् । संसारकै दशौँ ठूलो बजारका रुपमा आज ब्राजीलले आफूलाई खडा गरेको छ । वार्षिक दशौँ मियिलन टन स्टील, २६ मिलियन टन सिमेन्ट, ३.५ मिलियनभन्दा बढी टेलिभिजन सेट, ३ मिलियनभन्दा बढीको संख्यामा रेफ्रिजरेटर लगायतका सामानहरु ब्राजीलले उत्पादन गर्दै आएको छ । साथै, इन्धन, प्रोपेन ग्यास, लुम्ब्रिकेन्ट तथा ठूलो मात्रामा पेट्रोकेमिकल उत्पादनका लागि ७० मिलियन क्युबिक मिटर पेट्रोलियम वार्षिक रुपमा ब्राजीलले उत्पादन गर्ने गरेको छ । यसका अलावा ब्राजीलमा १ लाख ६१ हजार ५ सय किलोमिटर पक्की सडक रहेको छ भने ९३ गिगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । ब्राजीलको प्रतिव्यक्ति आय सन् २००८ मा १० हजार ५ सय अमेरिकी डलर रहेको थियो । यहाँको औद्योगिक उत्पादन ल्याटिन अमेरिकाको कुल औद्योगिक उत्पादनको ५ भागको ३ भाग रहेको छ । त्यहाँको विज्ञान तथा प्रविधिको क्षेत्र भएको उपलब्धीले ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याउने गरेको छ । वार्षिक रुपमा लगभग ३० विलियन अमेरिकी डलरभन्दा बढी बाह्य लगानी भित्र्याउन ब्राजील सफल भएको छ । त्यहाँको कृषि क्षेत्रमा कायम लचकताका कारण केही दशकदेखि उच्च ग्रामीण कृषि उत्पादन रहेको मुलुक बन्न समेत सफल भएको छ । यही कृषि क्षेत्र र खानीहरुका कारण मुलुकले थुप्रै विदेशी मुद्रा भित्र्यायो भने ठूलो मात्राको ऋण समेत चुक्ता गर्यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]