November 22nd, 2019

व्यापार घाटा १२ प्रतिशतले घट्यो

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको रिपोर्ट अनुसार व्यापार घाटा १२ प्रतिशतले घटेको छ । असोज मसान्तमा नेपालको व्यापार घाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

निर्याततर्फको वृद्धि र आयाततर्फको गिरावटका कारण व्यापार घाटामा संकुचन आएको हो । राष्ट्र बैंकको रिपोर्टमा निर्यात १४.४ प्रतिशतले बढेको र आयात १०.३ प्रतिशतले घटेको उल्लेख छ । जसअनुसार, असोज मसान्तसम्ममा २७ अर्ब १७ करोडको वस्तु निर्यात हुँदा तीन खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यातको वृद्धिदर र आयतको गिरावट दरलाई गत आर्थिक वर्षसँग तुलना गर्दा निकै सुधार भएको देखिन्छ । गत आर्थिक वर्षका निर्यात १६.१ प्रतिशतले बढेको थियो भने आयात ४३.६ प्रतिशतले बढेको थियो । निर्यातको वृद्धिदरमा कमी आएपनि आयात घटाउनमा ठूलो सफलता हात परेको देखिन्छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.४ प्रतिशत रहेको थियो ।

भन्सार नाकाका आधारमा हेर्दा वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।

गन्तव्यका आधारमा हेर्दा, भारततर्फको निर्यात ३५.८ प्रतिशतले बढ्दा भारतबाट गरिने आयात १२.२ प्रतिशतले घटेको छ । चीनतर्फको निर्यात १९.९ प्रतिशतले घट्दा चीनबाट हुने आयात भने ११.६ प्रतिशतले बढ्न पुगेको छ । त्यस्तै, मुलुकतर्फको निर्यात ११.७ प्रतिशत र त्यहाँबाट हुने आयात १९.१ प्रतिशतले घटेको छ ।

पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढ्दा जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ । त्यस्तै, कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]