November 17th, 2019

बैंकिङ एक्स्पो : सोमबार सेयर बजार, बीमा र फाइनान्सीयल टेक्नोलोजी विशेष हुुने

बैंकिङ खबर । बैंकिङ एक्स्पोमा संचालित अन्तरक्रियामा सर्बसाधारणको आकर्षण देखिएको छ । बैंकिङ एक्स्पोमा बैंकिङ, बीमा तथा पुँजीबजारसम्बन्धि स्टलहरु संचालित छन् । बैक वित्त, बीमा तथा क्यापीटल बाहेक युवा स्वरोजगार कोष, नेपाल धितोपत्र बोर्ड, बीमा समिति, नागरिक लगानी कोषको पनि स्टल संचालीत छन् । मंसीर १ र २ गते दुईदिनसम्म चल्ने एक्स्पोमा २ गते सोमबार सेयर बजार बीमा र फाइनान्सीयल टेक्नोलोजी सम्बन्धि विषयमा अन्तरक्रिया हुँदैछ । सूचना प्रदर्शनी तथा अन्तरक्रियामा निशुल्क प्रवेश रहेको छ ।

२ दिनसम्म चल्ने एक्स्पोको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले औपचारिक रुपमा उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै गभर्नर नेपालले पैसाको सदपयोग नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले घरघरमा पैसा पुगिसकेको तर त्यसको सदुपयोग भने गर्न नसकेको बताएका हुन् । उनले विविध कारणले १४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा नपुगे पनि ७ सय ४१ तहमा वाणिज्य बैंककै शाखा पुगिसकेको बताए ।

गभर्नर नेपालले नेपालमा उद्यमशीलताको प्रसस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरेर विदेश जाने प्रचलनप्रति पनि दुःख व्यक्त गरे । विदेशमा बगाउने पसिना नेपालमा बगाउदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको उनले बताए ।  ‘दक्षिण कोरिया नै जान खोज्छन्, विदेश नै जानु पर्छ रातभर लाइन लागेर यहाँबाट लाठिचार्ज गरेर विदेश पठाउनु पर्ने अवस्था छ’ गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन्, हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’ नेपालमै भएका प्रसस्त सम्भावनाहरु नचिन्दा समस्या भएको उनको भनाई छ ।

मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् । कार्यक्रममा ४ दर्जन बढी बैंक, वित्त, बीमा कम्पनी लगायतका स्टलहरु रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]