November 13th, 2019

लघुवित्त कर्जा : उत्पादन गर्न लगेको पैसा घरखर्च गर्ने ग्राहकबाट समस्या

बैंकिङ खबर । कर्जा लिने व्यक्तिले अर्को काममा कर्जा प्रयोग गर्ने लघुवित्त ग्राहकहरुमा समस्या देखिएको छ । जे कामका लागि कर्जा लिइएको हो सोही काममा प्रयोग नगर्ने प्रबृद्धिले पैसाको आबश्यकता टार्न ग्राहकले धेरै ठाउँबाट कर्जा लिने गरेका छन् । जसले गर्दा ग्राहक व्यवस्थापन लघुवित्त क्षेत्रको मूख्य चुनौति बनेको छ । 

हाल नेपालमा ८९ वटा लघुवित्त संस्थाहरु संचालनमा छन् । ती लघुवित्तहरुले ७७ वटै जिल्लामा ३७ सय भन्दा बढी शाखा विस्तार गरी सेवा दिइरहेका छन् । यी लघुवित्तबाट कर्जा लिएर आफ्नो जीवनस्तर माथि उठाएका उदाहरणहरु पनि प्रशस्तै छन् । तर, विना धितो पाइने कर्जाको दुरुपयोग गर्नेहरुको पनि कमी छैन ।

शाखा विस्तार बढेसँगै दोहोरो ग्राहकको संख्या पनि बढ्न थालेको छ । एउटा संस्थाबाट लिएर कर्जा चुक्ता गर्न अर्को संस्थाबाट कर्जा लिने प्रवृत्ति देखिएको छ । एकै व्यक्ति १०।१२ वटा लघुवित्तमा सदस्य रहने गरेको समेत पाइएको छ । यसो गर्दा लघुवित्तद्धारा प्रवाहित कर्जा उद्यमशीलतामा नगई अरु नै फजुल खर्चमा जाने सम्भावना रहन्छ ।

लघुवित्तबाट लिएको पैसा जे कामको लागि लिएको हो त्यही काममा लगाउने हो भने त्यसको प्रतिफलबाट सजिलै ऋण चुक्ता गरी फाइदामा जान सकिन्छ । तर, लघुवित्तबाट पैसा लिएर छोरीलाई दाइजो दिने वा अन्य फजुल खर्चमा सकाउने गर्दा कर्जा तिर्न सकिँदैन र छलकपट गर्ने वा भाग्ने सम्मको स्थिती आइपर्छ ।

हुन त लघुवित्तहरुले आफूले दिएको कर्जाको सदुपयोग भएको छ छैन भनी अनुगमन पनि गर्ने गरेको बताउँछन् । राम्रो गर्नेहरुलाई सम्मान पनि गर्छन् भने आवश्यक परे थप कर्जा पनि दिन्छन् । तर, विनाधितो सहजै कर्जा पाइने भएपछि कतिपयले ठगीको बाटो खोज्छन् । त्यसैले, लघुवित्त वित्तीय संस्थाहरुको कर्जा दिँदा उक्त कर्जा कस्तो ठाउँमा प्रयोग भइरहेको छ भन्ने कुरामा राम्रोसँग ध्यान पुर्याउनुपर्ने देखिन्छ । सदुपयोग भए उद्यमशीलता विस्तार भई देश विकासमा ठूलो टेवा पुर्याउन सक्ने लघुवित्तको कर्जा दुरुपयोग भएमा ठूलो संकट आइपर्न सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]