मंसिर १ र २ गते बैंकिङ एक्स्पो हुँदै

बैंकिङ खबर । आगामी मंसिर १ र २ गते काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो संचालन हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक मिडिया इन्टरनेशनलले एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन एवम् उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गर्न बैंकिङ एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो । काठमाडौँमा तेस्रो पटक बैंकिङ एक्स्पो हुन लागेको हो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक एवम् मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले बचत गर्ने र उद्यमशीलताका लागि बैंकिङ मध्यम अपनाउने बानीको विकास होस् भन्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको बताए । उनले बैंकिङ पहुँच बढाउने, हुण्डीलाई निरुत्साहन गरी रेमिट्यान्सलाई प्रोत्साहन गर्ने र बैंकिङ कर्जाबाट उद्यमशीलता बढाउने अभियानलाई सफल बनाउन एक्स्पोले सहयोग गर्ने दाबी गरे ।

कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने बीमा समितिको सहकार्य, नेपाल धितोपत्र बोर्डको साझेदारी रहेको छ । त्यस्तै, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल माइक्रोफाइनान्स बैंकर्स संघ पनि सहयोगी संस्थाको रुपमा रहेका छन् । भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै यसपटक ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)लाई पनि सहभागी गराइएको आयोजकले जनाएको छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकका साथै बैंकिङसँग सम्बन्धित रेमिट्यान्स, प्रविधि, कर्जा लगायतका विषयमा जनचेतना अभिवृद्धि गरी वास्तविक रुपमा बैंकिङ सेवाको पहुँच विस्तार गर्न बैंकिङ एक्स्पोले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
टानका अध्यक्ष खुम बहादुर सुवेदीले थोरै लगानीमा धेरै उत्पादन हुने एक मात्र व्यवसाय पर्यटन भएको भन्दै यस व्यवसायमा बैंकिङ लगानी बढाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष वसन्त लम्सालले वित्तीय जनचेतनाका लागि आयोजित बैंकिङ एक्स्पोमा आफूले सँधै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतमले उद्यमशीलता, विकास एवम् आर्थिक सम्पन्नताका लागि वित्तीय साक्षरता पहिलो शर्त रहेको बताए । वित्तीय साक्षरता अभिवृद्धिका लागि कुनै संस्थाले एक्लै गरेर सम्भव नहुने भन्दै उनले मिडिया इन्टरनेशनलले सबै संस्थालाई समेटेर अघि बढ्नु सराहनीय रहेको उल्लेख गरे ।

त्यस्तै, बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले आर्थिक वृद्धिसँगै जोखिम पनि जोडिने भएकाले बीमाका आवश्यकता बढ्दै जाने भएकाले बीमा बारे सबैलाई जानकारी गराउनु आवश्यक रहेको बताए ।

बैंकिङ एक्स्पो कार्यक्रम विशेषगरी बैंक वित्त कम्पनी तथा बीमा, रेमिट्यान्स कम्पनी, डिजिटल फाइनान्स सम्बन्धि कम्पनीहरु, क्यापीटल कम्पनीहरुकाबारे प्रत्यक्ष सूचना बुझाउने थलो हो । जसलाई आम नागरिक र वित्तीय कम्पनीहरुबीच एकैठाउँमा भेला हुने अबसरका रुपमा लिइन्छ । एउटै छानामुनि बैंकिङ, बीमा, सेयर बजार, रेमिट्यान्स, र फाइनान्सीयल टेक्नोलोजीको सूचना प्रवाह हुने हुँदा यस कार्यक्रम वित्तीय तथा आर्थिक चेतना अभिबृद्धिमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । मूलत म्यानेजमेन्ट तहका विद्यार्थीलाई यस कार्यक्रमले उद्यमशिलतातर्फ लैजाने आशा राखिएको छ ।

कार्यक्रममा एउटै छानामुनि विभिन्न बैंक–वित्त, माइक्रो फाइनान्स, बीमा, सेयरबजारसँग सम्बन्धित विभिन्न संघसंस्था एवं क्यापीटल र अन्य कन्पनीहरु, रेमिट्यान्स कम्पनीहरु, फाइनान्सीयल टेक्नोलोजीहरु र सम्बन्धित अरु निकायका सूचनामूलक स्टलहरु संचालन गरिने छन् ।

कार्यक्रममा बैंकिङ लगानी, उद्यमशीलता, लघुउद्यमशीलता, फाइनान्सीयल टेक्नोलोजी, सेयर बजार, जीवन बीमा, नीर्जिवन बीमा, रेमिट्यान्स, लगायतका विषयमा विभिन्न चरणमा विभिन्न विज्ञ र सरोकारवालाको सहभागितामा लगातार प्रस्तुती तथा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिने छ । साथमा कार्यक्रममा गरीब परिवारमा जन्मिएर पनि उद्यमशीलताको माध्यमबाट अर्थतन्त्र हाँक्न सफल भएका उद्यमीहरुले आफ्ना अनुभवसहित प्रस्तुती दिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.