लघुवित्तको कर्जा सदुपयोग गर्ने र दुरुपयोग गर्नेको फरक नतिजा (नमुना उदाहरणसहित)

सुरेन्द्र भण्डारी । भौगौलिक रुपमा सुन्दर देउराली भञ्ज्याङ गाउँ । यहाँको दृश्यले हरेक मान्छेको मन लोभ्याउँछ । सामाजिक रहनसहन र संस्कृतिले त झनै बाँधिएको छ । देउराली भञ्ज्याङमा मेलापात, घाँस दाउरा सबै महिलाहरु मिलेर अर्मपर्म गर्ने चलन छ । किनकि, प्रायः पुरुषहरु बैदेशिक रोजगारीको लागि मलेसिया, साउदी, दुवई, कतार जस्ता मुलुकमा छन् । हिजो आज यहाँ भित्रभित्रै एउटा बेचैन छ । यो कथा, व्यथा हो हिजो र आजको, पैसा र परिश्रमको, मिहेनत र देखासिकीको, बचत र फजुल खर्चको । यो कस्तो कथा व्यथा रहेछ भनेर अचम्म मान्नु पर्दैन यो तपाई हाम्रै गाउँको कथा हो । तपाई हाम्रै दिदि, बहिनि,आमाको कथा हो ।

लघुवित्तको प्रवेश
एक दिन देउराली भञ्ज्याङमा एउटा लघुवित्त वित्तीय संस्था आयो । गाउँघरको अनि साहुको भन्दा सस्तो ब्याजदर, इलम गर्न चाहे सजिलै बिनाधितो पैसा पाइने, बचत गर्न मिल्ने, सानो सानो कर्जा बैठकमै पाइने, बचत गर्न सर मिसहरु गाउँघरमै आउने । आहा कति सजिलो रहेछ भनेर दिदि बहिनिहरु निकै खुसि भए । लघुवित्त कार्यक्रममा बस्न घर परिवारको मन्जुरी चाहिने रहेछ । बैदेशिक रोजगारीको लागि बिदेशमा भएका श्रीमानसँग सल्लाह गरेर अनि सासु ससुरा र घर परिवारसँग सल्लाह गरेर २५ जना दिदीबहिनीहरुको केन्द्र गठन भयो । त्यही केन्द्रभित्र थिए दुइ वटा पात्र हरिमाया र सकुन्तला । दुवैका श्रीमान बैदेशिक रोजगारीमा थिए । तर फरक यत्ति थियो हरिमयाका श्रीमान भारतमा ज्याला मजदुरी गर्थे भने सकुन्तलाका श्रीमान दुवईमा थिए ।

हरिमायाको कथा
हरिमायाको आर्थिक स्थिति एकदम दयनीय थियो । दुइ छोरि र एक छोरा गरि पाँच जनाको परिवार छ उनको । श्रीमानले भारतबाट पैसा पठाएर घर खर्च अनि नानी बाबुको स्कुल फिस तिर्दैमा ठिक्क हुन्थ्यो । घरमा ४ वटा कुखुरा एउटा गाई र २ वटा बाख्रा पनि थिए । लघुवित्त कार्यक्रम आएपछि उनले भैँसी किन्छु, गाउँमा लघुवित्त कार्यक्रम आएको छ भनेर श्रीमानलाई सोधिन् । सुरुमा श्रीमानले मानेनन् । हरिमायाले लघुवित्त कार्यक्रमका राम्रा पक्षहरुको बारेमा सुनाएपछि श्रीमानको मन्जुरी पाइन् र लघुवित्त कार्यक्रममा सदस्य बनिन् । उनले श्रीमानले पठाएको केहि रकम बचत गरेर राखेकी थिइन् । त्यहि पैसा अनि अपुग कर्जा लघुवित्तबाट निकालेर एउटा भैसी किनिन् । लघुवित्तको सरहरुले भैँसीको पशु बीमा पनि गरिदिए । भोलिको दिनमा यदि त्यत्रो पैसा हालेर किनेको भैँसी तलमाथि भयो भने गाह्रो हुन्छ भनेर हरिमायाले नै बीमा गरेकी थिइन् । यसरि पहिला कहिले पनि संस्थाको ऋण नचलाएकोले उनलाई यो कर्जाले सुरु सुरुमा के होला कस्तो होला भनेर डर लाग्थ्यो । तर भैँसी किनेर राम्रो काम गरेको छु भन्नेमा चाहिँ ढुक्क थिइन् । उनले भैँसीको दुध नजिकैको डेरीमा लगेर बेच्न थालिन् । थोरै थोरै गर्दै ऋण पनि चुक्ता भयो । भैँसीसँगै अब लघुबित्तबाट नै बाख्रापालन सम्बन्धि तालिम लिएर उन्नत जातको बाख्रापालन गर्ने सोच बनाइन् । कम पढेलेखेको अनि न्युन ज्ञान भएकोले सुरुसुरुमा उनलाई केहि प्राबिधिक समस्याहरु पर्यो । बिस्तारै उनको ब्यबसायमा अनुभव बढ्दै गयो परम्परागत बाख्रापालनको ज्ञानले उनलाई व्यवसायिक बाख्रापालन गर्नको लागि ठुलो सहयोग पुग्यो । वरपरको गाउँघरमा हरिमाया एउटा सफल कृषकको रुपमा चिनिन थालिन् । उनले कर्जालाई भन्दा पनि आफ्नो कामलाई प्राथमिकतामा राखेर कर्म गर्न थालिन् । उनी संस्थाको असल सदस्य बनेकी थिइन । भारतमा ज्याला मजदुरी गरिरहेका उनका श्रीमान पनि अहिले गाउँमा आएर हरिमायासँगै ब्यबसाय गरिरहेका छन् ।

सकुन्तलाको कथा
अलि अलि पढे लेखेकी सकुन्तलालाई गाउँ घरमा सबैले मान्दथे । उनका श्रीमान बिदेसमा थिए । हरिमायासँगै उनी पनि लघुवित्त कार्यक्रमको सदस्य बनिन् । उनलाई केन्द्रको प्रमुख मान्छे बनाइयो । सकुन्तलाले एक चोटी पनि श्रीमानसँग सल्लाह गरिनन् । उनको गाउँमा किराना पसल थियो । हरिमायासँगै सकुन्तलाले पनि कर्जा निकालिन् । उनले त्यो पैसाले केहि रकम पसलको समान किनिन भने केहि रकम घर खर्चको लागि प्रयोग गरिन् । एक चोटी ऋण निकाली सकेपछि तत्काल नै संस्थाले अर्को ऋण नदिने भएकोले उनले गाउँका १।२ जना दिदि बहिनिलाई कर्जा माग गरेर आफुलाई दिन भनिन् । गाउँघरको जाने बुझेको मान्छेले यसरि सहयोग मागेपछि सहयोग गर्नुपर्छ भन्ने सोचेर ति सदस्यहरुले कर्जा माग गरेर सकुन्तलालाई दिए । सकुन्तलाले २।४ कर्जा निकालेर सहयोग गरेको भन्दै ति दिदि बहिनिको हातमा थमाइदिइन् । ति दिदि बहिनिहरु मक्ख परे । यो कुरा अरु दिदि बहिनीहरुले पनि थाहा पाए । तर कसैले लघुवित्तको समूह हेर्न आउने कर्मचारीलाई जानकारी दिएनन् । बरु उल्टै केहि पैसा पाउने आशमा अनि सहयोग भन्दै सकुन्तलाको लागि अधिकांश सदस्य दिदि बहिनिहरुले कर्जा निकाली दिए । यतिकैमा गाउँमा फेरी अर्को नयाँ संस्था आयो । यति बेलासम्म सकुन्तलाले स्कुटी किनीसकेकी थिइन् । अनि किरानासँगै होटेल तथा नास्ता पसल पनि गरिरहेकी थिइन् । आय आर्जन राम्रै भैरहेको थियो । किस्ता समयमै तिरी रहेकी थिइन् । कहिले कसैले त कहिले कसैले ऋण निकालेर दिदै गर्थे । गाउँमा आएको नयाँ संस्थामा सकुन्तलाकै अगुवाइमा केहि दिदि बहिनिहरु समूहमा सदस्य बने । त्यसरी नै कर्जा निकालेर सकुन्तलालाई दिन थाले । हेर्दाहेर्दै सकुन्तलाको ऋण लाखौँ पुगिसकेको थियो । बिदेशमा भएको श्रीमान खुसि थिए । घरमा श्रीमतीले राम्रै काम गरिरहेकी छिन् भनेर मासिक रुपमा तलब खाने बितिक्कै बुडीको नाममा पैसा राखिदिन्थे बिदेसबाट । गाउँघरमा अरु संस्था आउँदै गए, केन्द्र बन्दै गए । सकुन्तलाले एउटाबाट ऋण निकालेर अर्कोमा तिर्ने, अर्कोबाट निकालेर अर्कोमा तिर्ने गर्दै चलिरहेको थियो । तर अब ऋण यति पुगिसकेको थियो कि ब्याज बुझाउन पनि आफ्नो र श्रीमानको कमाइले पुग्दैन थियो । सकुन्तलाको अवस्था निकै नाजुक भैसकेको थियो येति बेलासम्म । गाउँबाट एक दिन बाल बच्चा छोडेर सकुन्तला गायब भइन् । गाउँमा केन्द्र बैठकको दिन आयो । जसले सकुन्तलालाई ऋण निकाली दिएका थिए ति सदस्यहरु समेत के गर्ने के नगर्ने भन्नेसम्म पुगे । सकुन्तलाको अत्तोपत्तो कतै लागेन । श्रीमान बिदेशबाट आए । सकुन्तलाले लिएको कर्जा माइती तथा श्रीमानले पसल बेचेर तिरिदिए । तर गाउँले दिदिबहिनिहरुले निकालिदिएको पैसाको कुनै प्रमाण थिएन । गाउँमा ति सदस्यहरुको घरमा दिनकै झगडा हुन्थ्यो । १ घन्टामा सकिने केन्द्रको बैठक दिनभरी लाग्थ्यो । दिदि बहिनि सकुन्तलालाई सराप्दै घरको गाली खाँदै आफुसँग भएको धेरथोर पैसा बुझाउँदै थिए । यो महिना थाहा छैन अर्को बैठकमा के हुन्छ ?

निष्कर्ष
आज देउराली भञ्ज्याङमा हरिमाया जस्ता सदस्यले पनि आफ्नो ब्यबसाय विस्तार गर्न अनि लगानी लगाउन कर्जा निकाल्न पाएका छैनन् । कुनै पनि चिजको राम्रो र नराम्रो दुवै पक्ष हुन्छन । राम्रा कुराहरुको आत्मसात गर्दै भगवान र आत्मालाई साक्षि राखेर गरेको काम कहिले असफल हुँदैन । ५ देखि १० दिनको तालिममा सर मिसहरुले सबै कुराको जानकारी अनि राम्रा र नराम्रा कुराहरुको परिणामबारे बुझाउँदा बुझाउँदै पनि आँखा चिम्लेर विश्वास गरेर २।४ पैसाको लागि आफ्नो कर्म भुल्दा त्यसको परिणाम पनि नराम्रै आउँछ भन्ने एउटा उदाहरण मात्रै हो देउराली भञ्ज्याङ । यस्ता धेरै कथा छन् सफलताका अनि गलत परिणामका । (भण्डारी आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.