संसारमा सबैभन्दा धेरै पुँजी भएका पाँच बैंकहरु

बैंकिङ खबर । संसारमै सबैभन्दा धेरै पुँजी भएका ठूला ठूला बैंकहरु प्रायः चीनमा छन् । जापान, अमेरिका, बेलायत लगायतका बैंकहरु पनि धेरै पुँजी भएका अब्बल बैंकहरुमा पर्छन् । धेरै पुँजी भएका उत्कृष्ट चार वटा बैंकहरु चिनियाँ छन् । अमेरिका वा बेलायतका बैंक उत्कृष्ट पाँच भित्र पनि परेका छैनन् ।

१. इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना (आईसीबीसी)
संसारकै सबैभन्दा ठूलो बैंक हो आईसीबीसी । चीनीयाँ बैंकिङ क्षेत्रमा पाँच भागको एक भाग बजार ओगटेको यस बैंकको पुँजी चार हजार नौ विलियन अमेरिकी डलर रहेको छ । पछिल्लो तथ्यांकअनुसार यस बैंकको मार्केट क्यापिटलाइजेसन २३८ विलियन डलर छ । सन् १९८४ मा स्थापना भएको यो बैंकले चार लाख ६० हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ । पेकिङमा केन्द्रीय कार्यालय रहेको बैंकमा सरकारको ७० प्रतिशत स्वामित्व रहेको छ ।

२. चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी)
सन् १९५४ मा स्थापना भएको चाइना कन्स्ट्रक्सन बैंकको पुँजी तीन हजार चार सय विलियन अमेरिकी डलर रहेको छ भने मार्केट क्यापिटलाइजेसन २०० विलियन डलरभन्दा बढी रहेको छ । सुरुमा सरकारी विनिमयका लागि स्थापना गरिएको यो बैंकलाई पछि कमर्सियल बैंकमा रुपान्तरण गरिएको थियो । संसारभरमा यस बैंकका १४ हजारभन्दा बढी शाखा रहेका छन्, जहाँ पौने चार लाख जना कर्मचारी कार्यरत छन् ।

३. एग्रिकल्चर बैंक अफ चाइना (एबीओसी)
माओ जेडङले कृषक एवम् मजदुर वर्गका मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले सन् १९५१ मा एबीओसीको स्थापना गरेका थिए । अहिले चीनमा मात्र नभएर पूरा विश्वमा कमर्सियल र फाइनान्सियल संस्थाहरुसँग यो बैंक जोडिएको छ । यस बैंकको केन्द्रीय कार्यालय पनि पेकिङमै छ । झन्डै २४ सय कर्मचारी यस बैंकमा काम गर्छन् । यस बैंकको पुँजी तीन हजार दुई सय ३५ विलियन अमेरिकी डलर छ भने मार्केट क्यापिटलाइजेसन १९० विलियन डलर रहेको छ ।

४. बैंक अफ चाइना लिमिटेड
बैंक अफ चाइना चीनको सबैभन्दा पूरानो र विश्वासिलो बैंक हो । सन् १९१२ मा यो बैंकको स्थापना भएको थियो । एक शताब्दीभन्दा बढी समयदेखि यस बैंकले चीनको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । दुई हजार नौ सय ९१ विलियन अमेरिकी डलर पुँजी भएको यस बैंकको मार्केट क्यापिटलाइजेसन १६२ विलियन डलर छ । सरकारको ७० प्रतिशत स्वामित्व रहेको यस बैंकले २० वटा देशमा कार्यालय खोली सेवा दिँदै आएको छ ।

५. मित्सुबिशि युएफजे फाइनान्सियल ग्रुप (एमयुएफजी)
जापानको उत्कृष्ट बैंक मित्सुबिशि युएफजे फाइनान्सियल ग्रुपको पुँजी दुई हजार सात सय ८० विलयिन अमेरिकी डलर रहेको छ । ओसाका सहरमा केन्द्रीय कार्यालय रहेको यस बैंकको सेवा विभिन्न ४० देशमा फैलिएको छ । जापानका दुई ठूला बैंकलाई मर्जर गराएर सन् २००५ मा मित्सुबिशि युएफजे फाइनान्सियल ग्रुप बनाइएको हो ।

यसबाहेक, धेरै पुँजी भएका बैंकहरुमा क्रमशः जेपी मोर्गन चेज, अमेरिका (२,५३३ विलियन), एचएसबीसी, बेलायत (२,५२० विलियन), बीएनपी परिबा, फ्रान्स (२,३५७ विलियन), बैंक अफ अमेरिका (२,२८१ विलियन), क्रेडिट एग्रिकोल, फ्रान्स (२,११७ विलियन) लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.