वित्तीय सन्तुलन के हो ? वित्तीय सन्तुुलनको आवश्यकता किन ?

बैंकिङ खबर । निक्षेप संकलन र कर्जा प्रवाहको अवस्था नियामक निकायको नीति बमोजिम भएमा वित्तीय सन्तुलन भएको मानिन्छ । नेपाल पछिल्ला तीन वर्ष यता बैंक तथा वित्तीय संस्थामा वित्तीय असन्तुलन देखिँदै आएको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको वृद्धिदर आक्रामक हुँदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले छरिएर रहेको निक्षेप संकलन गरी पुँजी निर्माण गर्छन् । आवश्यकताका आधारमा सो पुँजीबाट कर्जा प्रवाह गर्छन् । यसरी निक्षेपमा निक्षेपकर्तालाई दिने ब्याज र ऋण प्रवाह गर्दा ऋणीसँग उठाउने ऋणको अन्तर नै बैंकको नाफा हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले संकलन गरेको सबै निक्षेप ऋण लगानी गर्न पाइँदैन । ऋणको बढीमा ८० प्रतिशत मात्र कर्जा तथा सापटीमा प्रवाह गर्न पाउने राष्ट्र बैंकको निर्देशन छ ।

सीसीडी रेसियो कायम गर्न समस्या
अहिले बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्दा राष्ट्र बैंकको सीसीडी रेसियो सम्बन्धी निर्देशन पालना गरिरहन नै बैंकहरुलाई गाह्रो परिरहेको छ । त्यसैले सीसीडी रेसियोमा केही समयका लागि भए पनि लचकता अपनाउनुपर्ने माग बैंकरहरुले राख्दै आएका छन् ।

लगानीयोग्य पुँजीको अभाव
निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुँदा बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुने गरेको छ । हरेक वर्ष नै नेपालका बैंकहरुले यो समस्या झेल्दै आएका छन् । आर्थिक वर्षको सुरुवातदेखि नै कर्जा प्रवाह अत्याधिक हुँदा ३।४ महिनामा नै बैंकहरु माग अनुसार कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुग्ने र राष्ट्र बैंकसमक्ष गुहार लगाउने गरेका छन् ।

व्याजदर वृद्धि
कर्जाको माग पूरा गर्न सकियोस् भनने उद्देश्यले व्याजदर बढाएर निक्षेप आकर्षित गर्न पनि बैंकहरुको प्रतिष्पर्धा हुन्छ । यसले गर्दा व्याजदर अनियन्त्रित ढंगले बढ्न थाल्छ । अरु बैंकमा निक्षेप नजाओस् भनेर बैंकहरु अरुको भन्दा बढी व्याज दिन थाल्दछन् । निक्षेपको व्याज बढेपछि स्वतः कर्जाको व्याज पनि बढ्न जान्छ ।

यसरी वित्तीय असन्तुलनका कारण अनेकौँ समस्या आइपर्ने भएकाले वित्तीय सन्तुलन आवश्यक छ । यसका लागि बैंकहरुले आर्थिक वर्षको सुरुवातदेखि नै संयमता अपनाउनुपर्छ । व्याजदरमा प्रतिष्पर्धा गरेर भन्दा पनि वित्तीय पहुँच बढाएर निक्षेप संकलन बढाउन सकिन्छ । उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकता दिने हो भने पनि निक्षेप बढ्ने सम्भावना हुन्छ । अझै पनि धेरै मानिसहरुसँग भएको पुँजी बैंकसम्म पुग्न सकेको छैन । विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स विलासीलताका वस्तुमा खर्च भइरहेको छ । पैसा बैंकमा राख्नुको सट्टा गाउँघरतिर नै व्याजमा लगाउने परम्परा अझै पनि कायम छ । यसरी छरिएर रहेका सबै रकमलाई बैंकिङ च्यानलमा ल्याउन पहल गर्नु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.