October 23rd, 2019

देशको आर्थिक तथा वित्तीय स्थिती : राष्ट्र बैंकको समीक्षा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आर्थिक तथा वित्तीय स्थिती सुधारोन्मुख रहेको विवरण सार्वजनिक गरेको छ । मूल्यवृद्धिदर उच्च रहेको छ भने व्यापारघाटामा थोरै भए पनि संकुचन आएको छ । रेमिट्यान्स घटेको छ भने शोधानान्तर बचतमा छ । हेरौँ समग्र आर्थिक तथा वित्तीय स्थितीः

मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
१. २०७६ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको छ ।
२. समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
३. समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
४. समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मुद्रास्फीति ३.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति
५. २०७६ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ८.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु समूहको थोक मुद्रास्फीति उच्च रहेको छ । समीक्षा महिनामा यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।
६. वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४१ प्रतिशत, ३.४० प्रतिशत र २.४६ प्रतिशत रहेको छ ।

तलव तथा ज्यालादर सूचकाङ्क
७. २०७६ भदौमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १२.८८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.३० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क १२.६८ प्रतिशतले बढेको छ ।

बाह्य क्षेत्र
वस्तु व्यापार
८. आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई रु.१८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४६.० प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ ।
९. आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर रु.२२९ अर्ब ५० करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
१०. भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने वीरगंज भन्सार कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयात वृद्धि भएको छ ।
११. आर्थिक वर्ष २०७६/७७ को दुई महिनासम्ममा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले संकुचन भई रु.२११ अर्ब कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत रहेको थियो ।

निर्यात आयात मूल्य सूचकाङ्क
१२. २०७६ भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क१.२ प्रतिशतले बढेको छ भने आयातको एकाइ मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको छ । २०७५ भदौ महिनामा वार्षिक बिन्दुगत आधारमा २.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ भदौ महिनामा ४.१ प्रतिशतले बढेको छ ।

सेवा
१३. समीक्षा अवधिमा खुद सेवा आय रु.५ अर्ब ६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.११ अर्ब २ करोडले घाटामा रहेको थियो ।
१४. समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय २४.४ प्रतिशतले वृद्धि भई रु.११ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.९ अर्ब १६ करोड रहेको थियो ।
१५. समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २१.९ प्रतिशतले कमी आई रु.१४ अर्ब ८५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.७ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१९ अर्ब १ करोड रहेको थयो ।

विप्रेषण आप्रवाह
१६. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले कमी आई रु.१५३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो ।
१७. समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भई रु.१७६ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो ।
१८. समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।

चालु खाता तथा शोधनान्तर स्थिति
१९. समीक्षा अवधिमा चालु खाता घाटा रु.२१ अर्ब ७९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.३५ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा रु.३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा रु.१९ करोड २५ लाख कायम भएको छ ।
२०. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२५ अर्ब ४५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको छ ।
२१. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब २३ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति
२२. कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको रु.१०३८ अर्ब ९२ करोडबाट वृद्धि भई २०७६ भदौ मसान्तमा रु.१०७८ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा ९ अर्ब ४४ करोड कायम भएको छ ।
२३. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ भदौ मसान्तमा रु.९३२ अर्ब ६० करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ भदौ मसान्तमा रु.१४६ अर्ब ३३ करोड पुगेको छ । २०७६ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
२४. आर्थिक वर्ष २०७६।७७ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३१.१ प्रतिशत, ६९.६ प्रतिशत र ३०.२ प्रतिशत रहेका छन्। २०७६ असार मसान्तमा यी अनुपात क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम तथा सुनको मूल्य
२५. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७५ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७७.८७ रहेकोमा २०७६ भदौ मसान्तमा १५.८ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ६५.५९ हुन आएको छ । त्यसैगरी, सुनको मूल्य २०७५ भदौ मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२०३.० रहेकोमा २०७६ भदौ मसान्तमा २४.९ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १५०२.१० कायम भएको छ ।

विनिमय दर
२६.२०७६ असार मसान्तको तुलनामा २०७६ भदौ मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ४.३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.६ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद दर रु.११४.२६ पुगेको छ । २०७६ असार मसान्तमा उक्त दर रु.१०९.३६ रहेको थियो ।

सरकारी वित्त स्थिति
वित्त घाटा/बचत
२७. आर्थिक वर्ष २०७६।७७ को दोस्रो महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.१०५ अर्ब ५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.५५ अर्ब ९३ करोडले बचतमा रहेको थियो ।

सरकारी खर्च तथा राजस्व
२८. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च रु.४३ अर्ब १२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.६६ अर्ब ३३ करोड रहेको थियो ।
२९. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) रु.१४१ अर्ब ५१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.११९ अर्ब २० करोड रहेको थियो ।

सरकारको नगद मौज्दात
३०. २०७६ भदौ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१७५ अर्ब ८७ करोड (स्थानीय तहको खातामा रहेको रु.३६ अर्ब ३६ करोडसमेत) नगद मौज्दात रहेको छ ।

मौद्रिक स्थिति
मुद्राप्रदाय
३१. आर्थिक वर्ष २०७६।७७ को दुई महिनामा विस्तृत मुद्राप्रदाय ०.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा विस्तृत मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ ।
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.८ अर्ब ८३ करोड (०.९ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२५ अर्ब ४५ करोड (२.४ प्रतिशत) ले घटेको थियो ।
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा ९.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १०.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा सञ्चित मुद्रा ०.९ प्रतिशतले घटेको छ ।

कुल आन्तरिक कर्जा
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा यस्तो कर्जा १९.८ प्रतिशतले बढेको छ ।
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ३.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १९.७ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ प्रतिशतले बढेको छ ।
३७. २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३२.५ प्रतिशत र ४८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३४.२ प्रतिशत र ४५.७ प्रतिशत रहेको थियो ।
३८. २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.६ प्रतिशत रहेको छ । २०७५ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २० प्रतिशतले बढेको छ ।

४०. २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.३ प्रतिशत रहेको थियो ।
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले बढेको छ ।
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ४.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १०.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १.८ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले तथा मार्जिन प्रकृतिकोकर्जा १.४ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन
४३. आर्थिक वर्ष २०७६।७७ को दुई महिनामा खुला बजार कारोबार मार्फत कुल रु.३० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.८५ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
४४. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले रु.३४ अर्ब २ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन् ।
४५. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर ४६ करोड ७ लाख खुद खरिद गरी रु.५२ अर्ब ४६ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २८ करोड खुद खरिद गरी रु.३१ अर्ब ४७ करोड खुद तरलता प्रवाह गरिएको थियो ।
४६. समीक्षा अवधिमा अमेरिकी डलर ७८ करोड बिक्री गरी रु.८८ अर्ब १० करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.८५ अर्ब ६६ करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको थियो ।

पुनरकर्जा
४७. उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह बढाउन र निर्यात विस्तार सहज गर्ने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ भदौ मसान्तमा रु.१६ अर्ब ४५ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. १४ अर्ब २६ करोड र निर्यात पुनरकर्जा रु.२२ करोड ९८ लाख उपयोग भएको छ ।
४८. भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ भदौ मसान्तमा रु.१ अर्ब ९५ करोड रहेको छ । यस्तो कर्जा १५७८ जना ऋणीले उपयोग गरेका छन् ।

सहुलियतपूर्ण कर्जा
४९. २०७६ भदौ मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १७,९९३ जना ऋणीको रु.३५ अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये १५३५ जना ऋणीको रु.९२ करोड ५७ लाख कर्जा बक्यौता रहेको छ ।

अन्तर–बैंक कारोबार
५०. आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा वाणिज्य बैंकहरुले रु.३९५ अर्ब ८७ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले रु.२९ अर्ब ३८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाले क्रमशः रु.२०९ अर्ब ८ करोड र रु.१५ अर्ब ४१ करोड कारोबार गरेका थिए ।

ब्याजदर
५१. २०७५ भदौमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.७४ प्रतिशत रहेकोमा २०७६ भदौमा २.७३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ भदौको १.६८ प्रतिशतको तुलनामा २०७६ भदौमा १.६९ प्रतिशत कायम भएको छ ।
५२. वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ भदौको १०.०३ प्रतिशतको तुलनामा २०७६ भदौमा ९.५३ प्रतिशत कायम भएको छ । २०७६ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.३० प्रतिशत र १२.३१ प्रतिशत रहेका थिए ।

मर्जर तथा प्राप्ति
५३. वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ भदौ मसान्तसम्म कुल १७६ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन् । यसमध्ये १३२ संस्थाको इजाजत खारेज हुन गई कुल ४४ संस्था मात्र कायम रहेका छन् ।

वित्तीय पहुँच
५४. २०७६ भदौसम्म कुल ७५३ स्थानीय तहमध्ये ७३९ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।
५५. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ भदौ मसान्तमा १६८ रहेको छ । यस अनुसार २८ वाणिज्य बैंक, २८ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ भदौ मसान्तमा ८९७० पुगेको छ ।

पुँजी बजार
५६. २०७५ भदौ मसान्तमा १२५६.५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ भदौ मसान्तमा ८.४ प्रतिशतले ह्रास भई ११५०.७ कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९.० रहेको थियो ।
५७. धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २.३ प्रतिशतले ह्रास भई २०७६ भदौ मसान्तमा रु.१४६१ अर्ब ५४ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण रु.१५६७ अर्ब ५० करोड रहेको थियो ।
५८. २०७६ भदौ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २१८ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४।४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १९६ रहेको थियो ।
५९. सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ७८.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.१ प्रतिशत रहेको छ ।
६०. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ भदौ मसान्तमा सूचीकृत ४ अर्ब ३७ करोड शेयरको चुक्ता मूल्य रु.४२८ अर्ब ५० करोड रहेको छ ।
६१. आर्थिक वर्ष २०७६।७७ को दुई महिनामा रु.२० अर्ब ९४ करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ४८ करोड बराबरको बोनस शेयर, रु.१ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर रु.३५ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब १४ करोड बराबरको अन्य गरी कुल रु.२८ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१ अर्व ८० करोड बराबरको डिबेन्चर निष्काशनको अनुमति प्रदान गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]