October 16th, 2019

बीमा सूचना केन्द्र स्थापना गरिँदै

बिमा क्षेत्रमा हुने गरेका ठगीका घटनालाई नियन्त्रण गर्न बिमा समितिले बिमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । बिमा समिति र बिमा कम्पनीको सहकार्यमा बिमा सूचना केन्द्र स्थापना गर्न ४३ लाख रुपैयाँबराबरको पुँजी राखिने भएको छ । प्रारम्भमा बिमा समितिले ३ लाख रुपैयाँ र सबै बिमा कम्पनीहरूले १–१ लाख रुपैयाँ लगानी गर्ने बिमा समितिका निमित्त कार्यकारी निर्देशन राजुरमण पौडेलले बताए । ‘सुरुवातमा सोही पुँजीबाट केन्द्र सञ्चालन हुनेछ । पछि कार्यविधि बनाएर केन्द्र सञ्चालन गरिनेछ,’ उनले भने । 

बैंक तथा वित्तीय संस्थामा हुने ठगीलाई नियन्त्रण गर्न केन्द्रीय बैकले कर्जा सूचना केन्द्रको स्थापना गरेको छ । त्यसैगरी, बिमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न बिमा सूचना केन्द्रको स्थापना गर्न लागिएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । बिमा समितिले संघीय संसद्मा प्रस्तुत गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ को दफा १५६ मा बिमा सूचना केन्द्रको व्यवस्था गरेको छ । सूचना केन्द्रको सञ्चालनका लागि प्राधिकरणले थप व्यवस्था गर्ने विधेयकमा उल्लेख छ ।
 
ठगी गर्नेलाई कालोसूचीमा राखिने
बिमा समितिले परिकल्पना गरेको बिमा सूचना केन्द्रले बिमा क्षेत्रमा हुने ठगीको ट्र्याकिङ गर्नेछ । प्रत्येक बिमा कम्पनीले आफ्ना सेवाग्राहीको जानकारी  बिमा सूचना केन्द्रलाई दिनेछ । उक्त सूचनाका आधारमा ठगी गर्ने व्यक्ति–संस्था र ठगिने कम्पनीको पनि पहिचान हुनेछ । यसरी पहिचान भएका व्यक्ति वा संस्थालाई बिमा सूचना केन्द्रले कालोसूचीमा राखिने बिमा समितिले बताएको छ । बिमा कम्पनी अभिकर्ता, सर्भेयर र बिमितको जानकारी बिमा सूचना केन्द्रलाई दिनुपर्नेछ । कालोसूचीमा परेका व्यक्ति वा संस्थासँग कुनै पनि बिमा कम्पनीले काम गर्न पाउँनेछैनन् । 

बिमा समितिले बिमा सूचना केन्द्रको स्थापना गर्ने निर्णय बनाए पनि केन्द्रलाई सूचना दिने र कालोसूचीमा राख्ने संरचनाको स्पष्ट खाका भने निर्माण गरेको छैन । यस विषयमा थप छलफल हुन बाँकी रहेको बिमा समितिले बताएको छ ।

अपराध नियन्त्रण गर्न बिमा सूचना केन्द्र
नेपालमा बिमा कम्पनीहरूको संख्या र व्यवसाय बढ्दै गएसँगै अपराध घटनाहरू पनि बढ्दै गएका छन् । यसलाई नियन्त्रण गर्न बिमा समितिले जतिसक्दो छिटो बिमा सूचना केन्द्रको स्थापना गरी कार्यान्वयन ल्याउनुपर्ने बिमाविज्ञ डा. रवीन्द्र घिमिरेले बताए । ‘नेपालमा पनि बिमा सूचना केन्द्रको आवश्यकता छ । जसरी बैंकिङ क्षेत्रमा कर्जा सूचना केन्द्रले काम गरेको छ । नेपालमा पनि बिमा सूचना केन्द्रले काम गर्छ । यसलाई जतिसक्दो छिटो कार्यान्वयन ल्याउनुपर्छ,’ उनले भने ।

तर, बिमा कम्पनीहरू पनि यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न कठिनाइ हुन सक्ने बताउँछन् । एउटा कम्पनीका लागि ठगी गरेको भनिने व्यक्ति अर्को कम्पनीको राम्रो ग्राहक हुन सक्छ । त्यस्तो अवस्थामा बिमा सूचना केन्द्रको उद्देश्य कार्यान्वयन हुन नसक्ने बिमकहरूको आशंका छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]