October 16th, 2019

‘लगानी गरौं, नाफा नेपालमै छ’

गैरआवासीय नेपाली (एनआरएन) हरूलाई आफूले सिकेको सीप, प्रविधि र लगानी ल्याइ समृद्ध नेपालको परिकल्पनामा साथ दिन सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा निजी क्षेत्रले एउटै स्वरमा आग्रह गरेका छन् ।

आन्तरिक मामलामा पार्टीगत धारणा फरक भए पनि देशको समृद्धि र विकासका लागि सबैको स्वार्थ एउटै हुनुपर्ने सत्तापक्ष तथा प्रतिपक्षका नेताहरूले बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री डा. रामशरण महत र निजी क्षेत्रको नेतृत्वले लगानी, प्रविधि र सिप आउँदा गैरआवासीय नेपालीलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । सोमबारदेखि राजधानीमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनमा बोल्दै सबै सरोकारवालाबाट समृद्ध नेपालको पक्षमा एउटै आवाज आएको हो ।
अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय हितमा पक्ष र प्रतिपक्ष हुनु जरुरी नभएको भन्दै साझा एजेन्डाले सबैलाई उत्तिकै फाइदा हुने बताए । पछिल्लो समय श्रम सम्बन्धमा सुधार आएको, स्थायी सरकार, नीतिगत सुधार भएको र आवश्यकता अनुसार थप ऐन कानुनहरू परिमार्जन हुँदै जाने भएकोले नेपालमा लगानीका लागि उचित गन्तव्य भएको बताए । नेपालमा लगनी गर्दा भौतिक सुरक्षा, वित्तीय मुनाफा फिर्ता लैजान सक्ने प्रत्याभूति दिने प्रतिवद्धतासहित पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जुनसुकै क्षेत्रमा पनि सम्भावना भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले फलाम खानी, पेट्रोलियम अन्वेषणमा गैरआवासीय नेपालीलाई लगानीको लागि आह्वानसमेत गरे । आर्थिक रूपान्तरण गर्नका लागि स्रोत र विचार प्रशोधन हुनुपर्ने जोड दिएका खतिवडाले हेजिङ कम्पनी खोलेर विदेशी विनिमयको जोखिम लिएर मुनाफा कमाउन सक्ने गरि आउन आग्रह समेत गरे ।
नाफा नहुने परियोजनामा समेत ‘ग्याप फन्डिङ’ गरेर नाफामा लैजाने गरि काम गर्न लागिएको छ । नेपालमा लगानीको प्रतिफल उच्च रहेको बताउँदै विदेशी लगानीका उद्योगले औषतमा २५ प्रतिशत र कतिपयले इक्विटीको शतप्रतिशतसम्म नै लाभांश लिइरहेको जानकारी दिए । नेपाल भ्रमण २०२० मा २० लाख पर्यटक ल्याउन पनि गैरआवासीय नेपालीहरूको योगदान महत्वपूर्ण भन्दै पर्यटन क्षेत्रमा १० वर्षमा १० खर्बको लगानी आवश्यक रहेको बताए । खतिवडाले संघीयता कार्यान्वयनको दुई वर्षमा धेरै समस्या हल भएको दावी समेत गरेका छन् । प्राकृतिक स्रोत बाँडफाँडको मुद्दा बाँकी रहे पनि त्यो पनि केही दिनमै मन्त्रिपरिषद्ले टुंग्याउन लागेको जानकारी दिए ।
यता, पूर्वअर्थमन्त्री डा. महतले गैरआवासीय नेपालीहरूसँग भूमिकाका हिसावले भित्र र बाहिर भए पनि भावनात्मक हिसावले सबै नेपाली एउटै घेराभित्र भएको बताए । नेपालको आर्थिक वृद्धि बढाउनु अहिलेको चुनौती भएको भन्दै उनले आन्तरिक तथा वाह्य स्रोत परिचालनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । पुँजीगत खर्च कम भइरहेको वर्तमान अवस्थामा सरकारी खर्चको उत्पादकत्व घट्दै गएकोप्रति पनि सचेत हुन सरकारसंग आग्रह गरे । देशलाई समृद्ध पार्नमा डायस्पोराहरूको भुमिका महत्वपूर्ण हुने भन्दै चीनको समृद्धिमा डायस्पोराको उदाहरण दिंदै नेपालमा पनि त्यो संभावना रहेको बताएका छन् । 
सरकारी निकायबीचको समन्वय, समयअनुसार काम गर्न सक्ने संयन्त्र र कर्मचारीतन्त्रको सुधार गर्नुपर्ने हुनुपर्ने आवश्यकता औंल्याएका महतले भारत र चीनजस्ता ठूला देशको विचमा हुनु ठूलो अवसर बताए । आयका हिसावले नेपाल कमजोर भए पनि भोकमरी सूचकांक, समावेशी विकास सूचकांक र गरिबी निवारणमा नेपालको प्रगति भएको बताए । नेपालको विकास, समृद्धि र समुन्नतिमा गैरआवासीय नेपालीहरू ‘गेम चेन्जर’को भूमिकामा आउन सक्ने पर्याप्त अवसर भएकोले त्यसको उपयोग गर्न पनि आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र्रप्रसाद ढकालले परम्परागत ढाँचाबाट माथि उठेर लगानीमा एकद्वार सिस्टम, संघ, प्रदेश र स्थानीय तहबाट लगानी प्रवद्र्धन गर्नमा प्रतिस्पर्धा, राजनीतिक रूपमा पनि समृद्धिको नारा भएकोले लगानीका लागि उचित समय भएको बताए । लमजुङको २७ मेगावाटको दोर्दी हाइड्रोपावर, चन्द्रागिरी हिल्स परियोजना गैरआवासीय नेपालीको साझेदारीमा भएको व्यवसायको उदाहण दिँदै नयाँ सोचका साथ आएमा नेपाल लगानीका लािग ‘भर्जिन ल्याण्ड’ भएको बताए । त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरले पनि नेपालको जस्तो पर्यटन संसारमा कतै पनि नभेटिने भन्दै यस क्षेत्रमा अथाह सम्भावना औल्याए । सबै पक्षले गैरआवासीय नेपालीहरूलाई नेपाल लगानी गर्न आग्रह गरेको छ । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]