October 7th, 2019

नोट जतन नगर्नेलाई ३ महिनासम्मको जेल सजाय, कसरी गर्ने त नोटको हिफाजत ?


स्मारीका अग्रवाल, बैंकिङ खबर । हिन्दु धर्मावलम्बिहरुको महान चाड दशैं सुरु भइसकेको छ । दशैंलाई लक्षित गरी राष्ट्र बैंकले नयाँ नोट बजारमा बाडिसकेको छ । हरेक वर्ष राष्ट्र बैंकले दशैंका लागि भनेर अर्बौको नयाँ नोट निष्काशन गर्ने गर्दै आएको छ । यो वर्ष पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ५, १०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट निष्काशन गरेको थियो ।
यसरी चाडबाडमा चलनचल्तीमा आएका नोटहरु फोहोर हुने र झुत्रो भएर फर्किने समस्या छ ।
दशैं, तिहार छठजस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा अविर लत्पतिने, पानीमा पर्ने त्यस्तै अन्य बेला पनि चिसो हातले छुइने, तोडमोड बढी हुने, केरमेट भई देशलाई मोटो रकम नोक्सान
हुने अवस्था आउने भएकाले राष्ट्र बैंकले नोटको सुरक्षा गर्नका लागि सर्वसाधारणलाई आग्रह गरेको छ ।
नोटको सुरक्षा नहुँदा राष्ट्रलाई ठूलो घाटा पर्न जान्छ । अर्बौ खर्च गरेर बनाइएका नोटहरु प्रयोग गर्दा त्यसको सुरक्षामा भने ध्यान दिन नसक्दा बिग्रिएका कैयौं नोटहरु बैंकले जलाउनु परेको हो ।
यसरी पुराना भई काम नलाग्ने भएका नोटहरु राष्ट्र बैंकले जम्मा गरी काम त्यस्ता नोटलाई नष्ट गर्ने र त्यसको साटोमा नयाँ नोट छपाइ गर्छ । यो वर्षमात्रै राष्ट्र बैंकले ७६ अर्ब ९५ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको झुत्रा नोट जलाइसकेको छ ।
यस विषयमा अब भने नोटको सुरक्षा गर्न राष्ट्र बैंक कडा बन्दै नोट फोहोर बनाउने, केरमेट गर्ने, रंग लगाउने, स्टिच लगाउनेलाई ३ महिना जेल र ५ हजार रुपैयाँसम्मको जरिवाना लगाउने भएको छ ।

कसरी गर्ने नोटको सुरक्षा
1.नोटको सुरक्षाका लागि कागजी नोटको साटो पुजाआजामा धातु मुद्राको प्रयोग बढाउने ।
2.नोटलाई सकभर एकभन्दा बढी ठाउँमा नपट्याउने  ।
3.नोटलाई कच्याककुचुक पारेर गोजी वा पर्समा नराख्ने ।
4.नोटमा केरमेर नगर्ने
5.नोटमा रंग लगाउने, विगार्ने कामलाई निरुत्साहित गर्ने
6.नोटमा स्टिच नलगाउने
7.नोट राख्दा–पानी वा पसिनाले नभिज्ने गरी राख्ने ।
8.डिजिटल दक्षिणालाई प्रोत्साहित गर्ने

यसरी नोटलाई जतनका साथ चलाउन सके नोट ५ वर्षसम्म टिक्ने र यसको आयु लम्बिँदा अर्बौ रुपैयाँ नोट छपाइका लागि विदेशिनबाट जोगिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]