October 7th, 2019

बैंकबाट कर्जा लिएर उद्यम गर्नेको संख्या बढ्न सकेन, पुनरकर्जा कार्यक्रमबारे जानकारी कम

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर उद्यम गर्नेको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा कृषि, ऊर्जा र पर्यटन बाहेकका साना तथा मझौला उद्योगमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट कुल बक्यौता कर्जाको ३.२६ प्रतिशत कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट विगत तीन वर्ष (आ.व. २०७२/७३-२०७४/७५) मा साना र मझौला उद्योगहरुमा कुल बक्यौता कर्जाको औसतमा ११.५ प्रतिशत कर्जा प्रवाह भएको छ ।

मान्यता स्थापित हुँदै
आ.व. २०६४/६५ देखि नेपाल राष्ट्र बैंकले शुरु गरेको साना तथा मझौला उद्यममा पुनरकर्जा कार्यक्रमबाट साना तथा मझौला उद्योगहरूमा वित्तीय साधन प्रवाह गरिनुपर्दछ भन्ने मान्यता स्थापित भएको राष्ट्र बैंकको दाबी छ । आ.व. २०६६/६७ देखि कार्यान्वयनमा आएको साना तथा मझौला उद्यम कर्जा सुरक्षण कार्यक्रममा आ.व. २०७१/७२ देखि आ.व. २०७४/७५ सम्म ४ वटा बैंक तथा वित्तीय संस्था मात्र सहभागी रहेको भएपनि सुरक्षण कर्जा भने क्रमशः वृद्घि हँुदै गएको छ । आ.व. २०७३/७४ देखि कार्यान्वयनमा आएको सुरक्षित कारोबार दर्ता सेवामा यस्ता उद्योगसँग सम्बन्धित सूचनाहरुको दर्ता हुने क्रम उल्लेख्य रुपमा बढेको पाइएको छ । आ.व. २०७४/७५ बाट कार्यान्वयनमा आएको लघु, घरेलु तथा साना उद्योग विकास कोषबाट सोही वर्ष १२९ प्रस्तावहरुमा रु. २ करोड ४८ लाख अनुदान रकम स्वीकृत भएको छ ।

पैतृक सम्पत्तिकै लगानी बढी
नेपालमा साना तथा मझौला उद्योगले पैतृक सम्पत्तिबाट ३३ प्रतिशत, आफ्नै वचतबाट २६ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको कर्जाबाट १६ प्रतिशत, अनौपचारिक कर्जाबाट ८ प्रतिशत, विप्रेषण आयबाट ७ प्रतिशत, सहकारी संस्था कर्जाबाट ६ प्रतिशत र भेञ्चर क्यापिटलबाट ०.५ प्रतिशत सुरुवाती लगानी जुटाउने गरेको देखिएको छ । पुँजी बजारबाट हालसम्म यस्ता उद्योगले ले सुरुवाती लगानी जुटाउने गरिएको देखिदैन ।

नेपालमा करिब ५० प्रतिशत साना तथा मझौला उद्योगले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको केन्द्रीय बैंकको सर्वेक्षणले देखाएको छ । सोमध्ये झन्डै ८५ प्रतिशत कर्जा वाणिज्य बैंकबाट प्रवाह भएको छ । करिब दुई तिहाई उद्योगले छोटो अवधिको कर्जा प्रयोग गरेका अधिकांशको आवश्यकता भने मध्यम तथा लामो अवधिको कर्जा रहेको देखिन्छ । यसरी प्रवाहित कर्जामा औसत ब्याजदर १२.५१ प्रतिशत र औसत सेवा शुल्क झन्डै १ प्रतिशत रहेको छ । साथै ८५ प्रतिशत भन्दा बढी उद्योगले घरजग्गा धितोको रुपमा प्रयोग गरेको देखिन्छ । यद्यपि अधिकांश उद्योगले नगद प्रवाहलाई धितोकोरूपमा राख्न चाहेको देखिन्छ ।

प्रक्रियामै समस्या
पुनरकर्जा कार्यक्रमबाट साना तथा मझौला उद्योगमा बैंकको लगानी बढाउने सरकारको योजना छ । तर, अधिकांशलाई ‘साना तथा मझौला उद्यममा पुनरकर्जा’ कार्यक्रमबारे जानकारी नभएको सर्वेक्षणले देखाएको छ । साना तथा मझौला उद्योगलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्दा झन्झटिलो प्रक्रिया प्रमुख समस्या बनेको छ । कर्जा प्रक्रियाको लागि औसतमा ३८ दिन लाग्ने गरेको सर्वेक्षणबाट देखिएको छ । सर्वेक्षणले आधाभन्दा बढी उद्योगलाई कर्जा प्राप्त गर्न सहकारी नै सहज लाग्ने देखाएको छ । तर सहकारीबाट कर्जा प्राप्त गर्दा उच्च ब्याजदर प्रमुख समस्याको रुपमा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]