October 7th, 2019

दशैँको दक्षिणाबाट बच्चालाई खोलिदिनुहोस् बैंक खाता

बैंकिङ खबर । नेपालीहरुको महान् चाड दशैँ ससाना बालबालिकाहरुका लागि दक्षिणा पाउने चाड हुन्छ । यो बेलामा घर, आफन्त लगायतबाट टीका लगाएर पाएको दक्षिणा उनीहरुले कि त चकलेट, चाउचाउ जस्ता अस्वस्थ खानेकुरामा खर्च गरेर सिध्याउँछन् कि त बुबाआमाले आफैँ खर्च गरेर सक्छन् ।

बचत गर्ने बानीको विकास गराउन भन्दै अहिले सरकारले गाउँ गाउँमा बैंक पुर्याएको छ । यस्तो बानीको विकासका लागि बालबालिका उमेरदेखि नै सुरुवात गर्नुपर्ने भनिन्छ । ठूला र विकसित मुलुकमा बच्चा बेलादेखि नै बचतसम्बन्धी कुरामा सचेत गराइन्छ र नेपालमा पनि त्यसको सुरुवात गर्नु जरुरी छ ।

फजुल खर्चका कारण गरिबीबाट उठ्न नसकेको नेपालमा अब बालबालिकाहरुलाई बचत गर्न सिकाउनु जरुरी भएको छ, जसको सुरुवात दशैँको दक्षिणाबाट गर्न सकिन्छ । हुन त बालबालिकाहरुलाई खुत्रुकेमा पैसा जम्मा गर्न लगाउने चलन पहिलेदेखि नै छ । तर, बैंकमा पैसा जम्मा गर्दा त्यसको राम्रो प्रतिफल समेत पाउने सकिने भएकाले दशैँमा पाएको दक्षिणालाई बैंकमा खाता खोलेर जम्मा गर्न सकिन्छ ।

बैंकहरुले बच्चाहरुकै लागि भनेर विभिन्न बचत खाता योजनाहरु ल्याएका हुन्छन् । जसमा बच्चाहरुको भविष्य सुरक्षित हुने खालका बीमा योजना, आकर्षक व्याजदर जस्ता सुविधाहरु हुन्छन् । अहिले अभिभावकहरु आफ्ना सन्तानको भविष्यका लागि चिन्तित हुन््रछन् । उनीहरुको रेखदेखदेखि लिएर पढाइसम्मको चिन्तामा उनीहरु खटिरहेका छन् । यसरी बच्चाहरुका लागि बैंक खाता खोलिदिँदा उनीहरुको भविष्यको चिन्ता नै समाप्त गरिदिन्छ ।

सानो उमेरमा नै बचत गर्ने बानी बसाल्दा अविभावकलाई ढुक्क मात्र हुँदैन, सानैदेखि सिकेको बचत गर्ने बानीको उपयोग गरेर उसले सुखसँग जिन्दगी विताउन सक्छ । त्यसैले, दशैँमा पाएको दक्षिणालाई फजुल खर्च गरेर सिध्याउने वा थोरै भए पनि घर खर्च टर्छ भनेर प्रयोग गर्ने भन्दा पनि बैंक खाता खोलेर जम्मा गर्ने बानी बसालौँ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]