October 2nd, 2019

अब घरमै बसेर अस्पतालको टिकट काट्न सकिने, बिराट मेडिकल कलेजमा प्रभु पे बाट सेवा सुरु


बैंकिङ खबर । अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा आएको छ । अब बिरामी वा आफन्तले घरमा नै बसेर अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात बिराट मेडिकल कलेजबाट शुरु भएको छ । 

मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने बिराट मेडिकल कलेज प्रदेश १ मा पहिलो भएको हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल वालेटसँगको सहकार्यमा सुरु गरेको छ ।
अस्पतालले विरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दिनेश कार्की ले जानकारी दिनुभयो । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता रहेको बताउदै उहाँले आफुहरुले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेको र अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएको उल्लेख गर्नुभयो ।

अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल वालेटबाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिनुभयो । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि बिराट अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ । बिराट अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ । यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क  (KIOSK) मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ । यसैगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]