September 26th, 2019

एक महिनामा ९७ अर्ब व्यापार घाटा, निर्यातमा २७.७% वृद्धि

बैंकिङ खबर । आयात घटेर निर्यात बढेपछि चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा घटेको छ । साउन मसान्तसम्ममा नेपालले ९७ अर्ब ८९ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो महिनामा वस्तु व्यापार घाटा एक अर्ब १३ अर्ब ६९ करोड रुपैयाँ थियो ।

यो अवधिमा निर्यात आयात अनुपात ८.३ कायम भएको छ । एक महिनामा एक खर्ब छ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा ५४.३ प्रतिशतले बढेको आयात यो वर्ष ११.५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । कुल वस्तु निर्यात २७.७ प्रतिशतले बढेर एक महिनामै आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३.२ प्रतिशतले बढेर छ अर्ब ९२ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको थियो ।

हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ । त्यस्तै, पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढ्दा जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

भारत र चिनसँगको व्यापार
आयात र निर्यात दुवै हिसाबले चीनतर्फको नेपालको व्यापारको वृद्धिदर भारतसँगको तुलनामा बढी रहेको छ । भारतबाट नेपाल आयात हुने वस्ते घट्दै गर्दा चीनबाट आउने वस्तु भने बढ्न थालेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा हेर्दा भारतबाट हुने आयात ४.५ प्रतिशतले घट्दा चीनबाट भएको आयात भने २४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । निर्यात दुवैतर्फ बढेको छ, तर चीनतर्फको निर्यात भारततर्फको तुलनामा बढी छ । गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]