मर्जरले नरोक्ने आधा दर्जन अब्बल माइक्रोफाइनान्सहरु

बैंकिङ खबर । मर्जरबाट विकास बैंकमा स्तरोन्नति हुन सक्ने गरी राष्ट्र बैंकले नीतिगत रुपमै व्यवस्था गरिदिएपछि माइक्रोफाइनान्सहरु धमाधम मर्जरमा गइरहेका छन् । भर्खरै संचालनमा आएका लघुवित्तहरुले समेत मर्जर प्रक्रिया अघि बढाइरहेका छन् । मर्जरको दौड देख्दा केही सीमित लघुवित्तहरुबाहेक अरु लघुवित्त नरहने देखिन्छ । धेरै लघुवित्त भएका कारण अस्वस्थ प्रतिष्पर्धा बढिरहेको महशूस भइरहँदा राष्ट्र बैंकले पनि माइक्राफाइनान्सहरु मर्जर जाउन् भन्ने चाहिरहेको छ ।

केही लघुवित्तहरु भने मर्जर तथा एक्विजिसनको प्रभावबाट टाढै बसी आफ्नो अस्तित्व जोगाउन सक्ने अवस्थामा छन् । गत असार मसान्तसम्मको तथ्यांकअनुसार हाल ९१ वटा लघुवित्तहरु संचालनमा छन् । जसमध्ये, राष्ट्रिय स्तरको कारोबार गर्ने इजाजत पाएका लघुवित्त ४१ वटा छन् । बाँकी लघुवित्तहरु संघीय संचरनाअनुसार प्रदेश स्तरमा जानुपर्ने हुँदा एकअर्काबीच मर्जरमा जाने वा ठूलो लघुवित्तसँग विलय हुनेबाहेक अरु विकल्प छैन । राष्ट्रिय स्तरकै कारोबार गर्नेहरु पनि मर्जरमा नगइकनै सबल रहन सक्ने लघुवित्तहरु केही मात्रै छन् । यस्ता लघुवित्तहरुका बारेमा यहाँ चर्चा गरिन्छः

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था
नेपालका ७७ वटै जिल्लामा १८१ वटा शाखा कार्यादयमार्फत सेवा विस्तार गरिरहेको निर्धन उत्थान लघुवित्त नेपालका सबैभन्दा सबल लघुवित्तहरु मध्येको एक हो । यो नेपालको पहिलो लघुवित्त वित्तीय संस्था हो, जसको स्थापना २०५६ साल साउन १ गते भएको थियो । एक अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी भएको यो लघुवित्तले हरेक वर्ष राम्रो मुनाफा आर्जन गर्दै सेयरधनीहरुलाई राम्रो प्रतिफल दिँदै आएको छ । गत वर्ष निर्धन उत्थानले ७३ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । झन्डै चार लाख सक्रिय ग्राहक रहेको यस लघुवित्तले ११०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आइरहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था
२०५८ साल मंसिर १२ गते स्थापना भएको यो बैंकको चुक्तापुँजी एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । झन्डै ७०० ले प्रत्यक्ष रोजगारी पाइरहेको यस लघुवित्तको शाखा ६७ जिल्लामा १३४ वटा पुगेका छन् । साढे दुई लाखभन्दा बढी सक्रिय ग्राहक रहेको छिमेक लघुवित्तले गत आर्थिक वर्षमा ९२ करोड सात लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो, जुन गत वर्षको लघुवित्तहरुमध्येको सबैभन्दा धेरै नाफा हो । हरेक वर्ष यसरी नै राम्रो मुनाफा आर्जन गर्दै छिमेकले सेयरधनीलाई आकर्षक प्रतिफल दिँदै आएको छ । यसमा नविल बैंक, बैंक अफ काठमाण्डू, हिमालयन बैंक लगायतको सेयर लगानी रहेको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था
२०५८ साल फागुन २ गते स्थापना भएको यो लघुवित्तको चुक्तापुँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा साना किसानले ४९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । सरकारी लगानी समेत रहेको यस लघुवित्तले नौ वटा क्षेत्रीय कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । केन्द्रीय कार्यालयमा ९१ जना कर्मचारी रहेको यस लघुवित्तले सयौँ युवालाई रोजगारी प्रदान गरेको छ ।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था
६२ करोड ८९ लाख रुपैयाँ चुक्तपुँजी भएको स्वाबलम्बन लघुवित्तले २०५८ साल माघ १ गतेदेखि लघुवित्त सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा स्वाबलम्बनले ४२ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । झन्डै साढे दुई लाख सक्रिय ग्राहक रहेको यो लघुवित्तको १३६ वटा शाखा ५७ जिल्लामा फैलिएका छन् । प्रशिक्षार्थीसहित ६४१ जनाले यो लघुवित्तमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यस लघुवित्तमा नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र नविल बैंकको सेयर लगानी रहेको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
चुक्तापुँजी ६८ करोड ४४ लाख रुपैयाँ रहेको फस्र्ट माइक्रोफाइनान्स पनि एक सबल माइक्रोफाइनान्स हो, जसले गत आर्थिक वर्षमा १३ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । २०६६ साल पुष १३ गते स्थापना भएको यस संस्थाले आफ्ना सेयरधनीलाइृ १७ प्रतिशत बोनस वितरण गर्ने निर्णय पारित गर्नका लागि साधारणसभा समेत डाकिसकेको छ । यस लघुवित्तमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, आईसीएफसी फाइनान्स र देवः विकास बैंकको सेयर लगानी रहेको छ ।

मेरो लघुवित्त वित्तीय संस्था
चुक्तापुँजी ६५ करोड ७८ लाख रुपैयाँ भएको मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा १६ करोड ७६ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । २०७० साल साउन ३ गते स्थापना भएको यस लघुवित्तले ९६ वटा शाखामार्फत सेवा दिँदै आएको छ । यसमा ग्ला्बल आईएमई बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, जनता बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र देवः विकास बैंकको ६९.४० प्रतिशत र सर्वसाधारणको ३०.६० प्रतिशत लगानी रहेको छ ।

यी लघुवित्तहरु शाखा, मुनाफा र लाभांश वितरणमा अब्बल रहँदै आएका छन् भने अब्बल बैंकहरुको सेयर लगानी समेत रहेको छ । मर्जरमार्फत लघुवित्तको संख्या घटाउने स्ट्राटीजी बनाए पनि यी लघुवित्तहरु सबल बनेर उभिन सक्ने अवस्थामा छन् । आफू विलय नभई बरु अरु साना लघुवित्तहरुलाई प्राप्ति गर्न सक्षम यी लघुवित्तहरुलाई मर्जरको दौडधुपले प्रभाव पार्ने देखिँदैन ।

यसबाहेक, लक्ष्मी लघुवित्त, एनआईसी एशिया लघुवित्त, नेपाल ग्रामीण विकास लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स,आरएमडीसी लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वरोजगार लघुवित्त, आरएसडीसी लघुवित्त लगायतका लघुवित्त वित्तीय संस्थाहरु पनि तुलनात्मक रुपमा बलिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.