June 22nd, 2016

राष्ट्र बैंकले जित्यो १० लाख अमेरिकी डलरको मुद्दा

nrbनेपाल राष्ट्र बैंकले १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ । अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको मुद्धा नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्र बैंकले जितेको हो । सुडान घोटालासँग जोडिएको भनिएको तरला इन्टरनेसनलका सञ्चालक असिम क्षत्री खत्रीले हालेको मुद्दामा अमेरिकी माथिल्लो अदालतले राष्ट्र बैंकका पक्षमा फैसला सुनाएको हो ।

के थियो घटना ?
घटनाअनुसार २०६६ सालमा तरला इन्टरनेसनल नामक अमेरिकी कम्पनीले चिनियाँ नागरिक झु लिजियाङलाई नेपाल बंगलादेशको ललितपुर, भैंसेपाटी शाखामा १० लाख अमेरिकी डलर पठाएका थिए । बैंकले उक्त रकममाथि शंका गर्दै राष्ट्र बैंकलाई जानकारी गराएपछि राष्ट्र बैंकले उक्त रकम जफत गरी सम्पत्ति शुद्धीकरण मुद्दा चलाएको थियो । सँगसँगै खातासमेत रोक्का गरेको थियो । लगत्तै अमेरिकामा बस्दै आएका तरला इन्टरनेसनलका असिम क्षेत्रीले नेपालको एक वाणिज्य बैंकले आफ्नो पैसा गैरकानुनी रुपमा फ्रिज गरेको भन्दै राष्ट्र बैंकविरुद्ध अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी जिल्ला अदालतले तरलाकै पक्षमा फैसला गरेपछि असिमले सोही आधारमा अमेरिकास्थित स्ट्यान्डर्ड चार्टड बैंकमा रहेको राष्ट्र बैंक खाताबाट उक्त रकम झिकेका थिए । राष्ट्र बैंकको खाताबाट अचानक १० लाख डलर गायब भएपछि हल्लीखल्ली मच्चियो । लगत्तै राष्ट्र बैंकले उक्त अदालतलाई आफू वाणिज्य नभई नेपालको केन्द्रीय बैंक रहेको र शंकास्पद खाता रोक्का गर्ने अधिकार आफूसँग रहेको दाबी गरेपछि अदालतले राष्ट्र बैंकको अपिल सदर गर्दै असिमको खाता रोक्का गर्ने आदेश दिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]