June 17th, 2016

यसरी बढ्दैछ बैंकिङ लगानी (विवरणसहित)

economicचालू आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कर्जा प्रवाह क्रमशः १७.६ प्रतिशत, १२.९ प्रतिशत र ३.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

कुन क्षेत्रमा कति कर्जा प्रवाह ?
वार्षिक बिन्दुगत आधारमा २०७३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि, औद्योगिक उत्पादन, निर्माण तथा सेवा उद्योग जस्ता प्रमुख क्षेत्रहरूमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह केही न्यून भएको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १३.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १०.९ पतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २७.५ प्रतिशतले बढेको छ । 

२०७३ वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.६ प्रतिशत र १२.९ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार, २०७३ वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ३३ अर्ब ८० करोड रुपैँया (प्रति ग्राहक रु. १ करोडभन्दा कमको रु. १३३ अर्ब ९१ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४.८ प्रतिशत हुन आउँछ । २०७३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २ प्रतिशत (रु. ३२ अर्ब २१ करोड) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.५ प्रतिशत (रु. ३२ अर्ब ९२ करोड) छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) २७ प्रतिशत (रु. १४ अर्ब ८८ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]