दोहोरो अंकले घट्यो शेयर परिसूचक नेप्से, कारोबार २३ करोड ५१ लाख 


बैंकिङ खबर। शेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । ब्याजदरको प्रभाव अझै लामो समय सम्म देखिने सम्भावना देखिएपछि लगानीकर्ताले कारोबार घटाएका छन् । जसको असर शेयर परिूचक नेप्सेमा देखिएको हो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर उच्च रहेकाले आइतबार पनि शेयर बजार प्रभावित भएको छ । जसले गर्दा नेप्से परिसूचक १२ दशमलव ०५ अंकले घटेर १ हजार १ सय २७ दशमलव ५३ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ४० अंकले घटेर २ सय ४० दशमलव २१ अंकमा बन्द भएको छ । 

वित्तीय बजारमा लगानी पूँजी अभाव भएपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यसले बजारलाई अझै केही समय घटदो अवस्थामा राख्ने देखिन्छ । आइतबार १ सय ६० कम्पनीको २३ करोड ५१ लाख ९४ हजार ८ सय ८३ रुपैयाँ बराबरको ७ लाख ८२ हजार ४ सय ७७ कित्ता शेयर हरु खरिद विक्री भएको छ । 

कारोबारमा आएका समुहमध्ये होटल बाहेक सबै समुहका सूचकहरु घटेका छन् । माछापुच्छ«े बैंकको शेयर कारोबार सबैभन्दा बढी १ करोड ४० लाख रुपैयाँ बराबरको भएको छ । माथिल्लो तामाकोशिको पनि १ करोड ३९ लाख बराबरको कारोबार भएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स र सामुदायिक लघुवित्तका शेयरधनीले ५ प्रतिशत भन्दा बढी गुमाउँदा विजय लघुवित्तका शेयरधनीले १ दशमलव ७६ प्रतिशतले गुमाएका छन् । 

लामो समय देखि लगानीकर्ता खरिद विक्रीका लागि तयार नहुँदा कारोबार रकम समेत प्रभावित हुँदै आएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने दिन समेत नजिक आएकाले लगानीकर्ता तत्काल लगानी बढाउने पक्षमा देखिदैनन् । यसैको असर शेयर बजारमा देखिएको हो । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नयाँ अपडेट