February 8th, 2019

आलोचनाका बीच ट्रम्पले गरे विश्व बैंकको अध्यक्षमा मेलपसलाई सिफारीस  

बैंकिङ खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ मन्त्रालयका शिर्ष अधिकारी डेभिड मेलपसलाई विश्व बैंकको अध्यक्षका लागि सिफारिस गरेपछि अमेरिकी अर्थतन्त्रमा नयाँ बहस सुरु भएको छ । मेलपस यसअघि पनि विश्व बैंकको कार्यशैलीमाथि टिप्पणी गरिराख्ने व्यक्ति हुन् । पछिल्लो समय मेलपसको कार्यशैली ट्रम्पलाई मन परेका कारण विश्व बैंकको अध्यक्षमा सिफरिस गरिएको त्यहाँका समाचार माध्यमहरुले जनाएका छन् । 

ट्रम्पले मेलपसलाई छनोट गरेपछि आलोचना गर्नेहरु धैरै देखिएका छन् । तर ट्रम्पले मेलपसको नाम सार्वजनिक गर्दै गर्दा भनेका थिए, ‘मेलपस विलक्षण प्रतिभाका धनि छन, यो जिम्मेवारी लिन सक्ने उपयुक्त व्यक्ति पनि उनै हुन्।’ 

मेलपसले यसअघि खासगरि सम्पन्न मुलुकमा समेत वल्र्ड बैंकले लगानी गरिरहेकोमा आपत्ति जनाउँदै आएका थिए । उनि अर्थमन्त्रालयमा काम गर्दा दुई दशकसम्म विश्व बैंक मामिला हेर्दै आएका थिए । उनि अन्तर्राष्ट्रिय मुद्राकोषका गतिविधि प्रति पनि कटु आलोचक मानिन्छन् । उनले उच्च आय भएको मुलुक चीनमा गरिरहेको लगानीमा आपत्ति जनाउँदै आएका थिए । 

मेलपसले गत वर्ष स्वीकृत सुधारका योजना कार्यान्वयन गर्ने बताउँदै लगानी योग्य रकमलाई १३ अर्ब डलरले वृद्धि गर्ने बताए । उनले उच्च आय भएका मुलुकमा लगानी गर्दा बढी ब्याज लिने रणनीति बनाउने स्पस्ट पारेका छन् । 

विश्व बैंकका अध्यक्ष जीम योङ कीमले आश्चर्यजनक रुपमा फेब्रुअरी १ बाट लागू हुनेगरी राजीनामा दिएपछि राष्ट्रपति ट्रम्पलाई नयाँ अध्यक्ष चयन गर्न बाटो खुलेको हो । बैंकका बहुसंख्यक शेयरहोल्डरहरुको साथ पाएमा विश्व बैंकलाई नयाँ स्वरुपबाट अगाडी बढाउन ट्रम्पलाई सजिलो हुने छ । 

विश्व बैंकले आगामी अप्रिल १२ देखि १४ सम्म वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको संयुक्त बैठक बस्नु भन्दा अघि बैंकको नयाँ अध्यक्ष चयन गरिसक्ने छ । बैंकका १८९ सदस्यमध्ये जोकोहीले अध्यक्षका लागि उम्मेदवारी दिन सक्नेछन् । एजेन्सी
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]