January 20th, 2019

बैशाखदेखि मार्केट डिलर संचालन हुने 

बैंकिङ खबर । सेयर बजारलाई स्थिरता प्रदान गर्ने उद्देश्यले नागरिक लगानी कोषले बैशाखदेखि  मार्केट डिलरको रुपमा काम गर्ने भएको छ। सहायक कम्पनी दर्ता गर्ने र धितोपत्र बोर्डबाट स्वीकृत लिइसकेपछि वैशाखदेखि काम थाल्ने योजना कोषले बनाएको छ। 

हालै सहायक कम्पनीको लागि प्रवन्धपत्रको ड्राफ्ट बनाउने काम सकिएको छ। कोषका अनुसार अब कम्पनी दर्ता तथा धितोपत्र बोर्डबाट स्वीकृति लिने काम अघि बढ्ने छ।  बोर्डले यसअघि नै डिलरको रुपमा काम गर्न कोषलाई प्रस्ताव गरेकाले बोर्डबाट कोषले स्वीकृति पाउने छ। सरकारले नै कोषलाई मार्केट डिलरको रुपमा काम गर्न पहल गरेपछि कोषले तयारी थालेको हो। 

मार्केट डिलर नहुँदा सेयर बजारको विकास हुन नसकेको भन्दै लगानीकर्ताले वर्षौदेखि मार्केट डिलरको माग उठाउँदै आएका छन्।  

१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी खडा गरेर कोषले मार्केट डिलरको रुपमा काम गर्ने भएको हो। माउ कम्पनीको चुक्ता पुँजीभन्दा सहायक कम्पनीको बढी हुन नपाउने व्यवस्थाका कारण सहायक कम्पनीको चुक्ता पुँजी १ अर्ब मात्रै कायम गरिएको हो। कोषको चुक्ता पुँजी १ अर्ब १० करोड मात्रै छ।

यद्यपी ५० अर्बको बास्केट फण्ड बनाएर सहायक कम्पनीले डिलरको काम गर्ने छ। सहायक कम्पनीको चुक्ता पुँजी कम हुने भएकाले बास्केट फण्ड बनाएर लगानी गर्ने भएको हो। 

बास्केट फण्डका लागि कोषले नै १० अर्ब रुपैयाँ योगदान गर्नेछ। बाँकी ४० अर्ब निश्चित प्रतिफल सुनिश्चित गरेर संचयकोष, टेलिकम, बिमा कम्पनीहरु लगायतबाट जुटाउने योजना रहेको नागरिक लगानी कोषले जनाएको छ। 

मार्केट डिलरले आफैले सेयर खरिद तथा बिक्री गर्ने हुनाले ब्रोकरको कमिसन तिर्नु पर्दैन। ब्रोकर कमिसनबाहेक नेप्से र धितोपत्र बोर्डलाई तिर्नुपर्ने शुल्क भने लाग्नेछ।

कोषले अहिले पनि सेयरमा लगानी गर्दै आएको छ। कात्तिक मसान्तसम्म कोषले साधारण र संस्थापक सेयर तथा संस्थागत ऋणपत्रमा गरी कुल ४ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ।

सहायक कम्पनी संचालनमा आइसकेपछि कोषसँग भएको सेयर मौज्दात सेयरका रुपमा सहायक कम्पनीमा सर्नेछ। 

सेयर बजार घटेका बेला मार्केट डिलरले खरिद बढाउने र बजार बढेका बेला बिक्री बढाउने हुँदा बजार सन्तुलनमा ल्याउन टेवा पुग्ने विश्लेषकहरु बताउँछन्। 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]