January 15th, 2019

नयाँ भारुको प्रतिबन्ध तत्काल नहट्ने

बैंकिङ खबर नेपालमा भारु नयाँ नोट प्रतिबन्ध हुँदा सीमा क्षेत्रमा कारोबार गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन्। भारतमा आउजाउ गर्नेहरु र त्यहाँ रोजगारीमा जानेहरुलाई उत्तिकै समस्या छ। 

सर्वसाधारणलाई मात्रै होइन, यसले नेपाल सरकारको वित्तीय कारोबारलाई समेत नराम्रो असर पारेको छ। नेपाल र भारतबीचको मुद्रा बिनिमयदर स्थिर छ। अमेरिकी डलरसँग भारु जति कमजोर हुन्छ, त्यसको पुरै असर नेपाली मुद्रामा पर्ने गरेको छ। तर भारु नै नेपालमा प्रतिबन्ध हुँदा त्यसको अर्को असर पनि नेपालले नै ब्यहोर्नुपर्ने अवस्था छ।

नेपालको व्यापार भारतनिर्भर छ, आयातित बस्तुका लागि बाहिरिने रकमको ठूलो हिस्सा भारतमै जाने गरेको छ। तर भारतले नयाँ भारु नोट सटही सुविधा नदिँदा भुक्तानी प्रणालीलाई असर परेको छ। 

नेपालको प्रत्येक्ष वैदेशिक लगानीको लागि भारत एउटा प्रमुख स्रोत पनि हो। भारु नोट सटही नहुँदा भारतीय लगानी समेत प्रभावित हुनेछ । जसले गर्दा नेपालको समग्र अर्थतन्त्रलाई यसले दूरगामी असर पर्नेछ। 

भारु प्रतिवन्ध रहिरहँदा नेपाललाई ठूलो असर पर्ने भएपछि नेपाल राष्ट्र बैंकले भारु नोटको सटही व्यवस्था गरिदिन भन्दै भारतको केन्द्रिय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबिआई)लाई पत्राचार गरेको छ। भारु २ सय, ५ सय र २ हजारको नोट चलाउन अनुमति दिएमा नेपालले प्रतिबन्ध हटाउने छ। 

सरकारले नै भारु ठूला दरको नोट चलाउन अनुमति आएमा चलाउनेगरी राष्ट्र बैंकलाई निर्देशन दिएपछि राष्ट्र बैंकले आरबिआईलाई प्रस्ताव गरेको हो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यसअघि गरेको भारत भ्रमणका क्रममा पनि यो कुरा उठाएका छन्। नेपालको बैंकिङ प्रणालीमा ७ करोड पुराना भारु नोट रहेको भन्दै उनले त्यो सटहीका लागि आग्रह गरेका छन्। 

भारतले नोट सटहीका लागि चासो नदिएको भन्दै उनले आलोचना गरे। ज्ञवालीले भारु नोट सटहीका लागि आग्रह गरे पनि भारत भने तत्काल सो सुविधा दिने पक्षमा देखिएको छैन। जवसम्म भारतले नयाँ नोट सटहीको सुविधा दिँदैन, तवसम्म नेपालमा यसको प्रतिवन्ध रहिरहन्छ। 

जसले गर्दा तत्कालै भारुको प्रतिबन्ध हट्ने संभावना देखिँदैन। यसका लागि मन्त्रीस्तरीय तहबाटै पहल गर्नुपर्ने जरुरी देखिन्छ।  तर मन्त्रीस्तरीय पहल भने हुन सकेको छैन। 

नेपालमा भारतीय ठूला नोट चलाउने र पुराना भारु ५ सय १ हजारका नोट सटही सम्वन्धमा भारतले कुनै चासो नदिएपछि सरकारले नयाँ भारु २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रतिबन्ध गरेको थियो। भारु १ सय सोभन्दा मुनिका नोटहरु भने चलनचल्तीमा छन्। 

भारत सरकारले कालोधनलाई निरुत्साहित गर्न भन्दै पाँच सय र हजारका पुराना नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट नयाँ नोटहरु प्रचलनमा ल्याएको हो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]