January 11th, 2019

नेपालका सहकारीमा तीन खर्ब बढी बचत

बैंकिङ खबर । नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब रुपैयाँ बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिए । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताए ।

विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत रहेको जानकारी दिए । त्रिसठ्ठी लाख शेयर सदस्य रहेको सहकारीमा महिलाको सङ्ख्या ५१ प्रतिशत रहेको महासङ्घले जनाएको छ ।

मिश्रित अर्थव्यवस्था रहेको नेपालको संविधान २०७२ ले सार्वजनिक, निजी सहकारी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिको परिकल्पना गरेको सन्दर्भमा सहकारीमार्फत उद्यम विकासमा भूमिका खेल्नुपर्ने निष्कर्षका साथ अहिले तीन सय बढी सहकारीकर्मीहरू उद्यम प्रवद्र्धनका लागि काठमाडौँमा भेला भएका छन् ।

भेलामा सहभागी महासङ्घका सल्लाहकार हरिकृष्ण उपाध्यायले सहकारीबाटै समृद्धि हासिल गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । प्रभावकारी र दिगो सहकारीका लागि सदस्यहरू धेरै हुनुपर्ने, आर्थिक समुन्नतितर्फ गएको हुनुपर्ने र राम्रो प्रशासनको आवश्यकता हुनुपर्ने उपाध्यक्षको भनाइ थियो ।

सहकारी सामाजिक व्यवसाय भएकाले यसबाट लघु, मझौला तथा ठूला उद्यम प्रवद्र्धन गरी स्वरोजगारको सिर्जना गर्दै आर्थिक उन्नति गर्न सकिने छ । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले तीन खम्बामध्येको एक खम्बाको औचित्य पुष्टि गर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याए ।

सहकारी ढाँचाले छरिएर रहेको श्रम, सीप र पूँजीलाई एकत्रित गरी सहकारी उद्यम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ । सहकारी क्षेत्रको योगदानलाई उल्लेख्य वृद्धि गरी साना, मझौला तथा ठूला उद्यम प्रवद्र्धन गर्नु आजको अपरिहार्य आवश्यकता भएकाले राज्यको ध्यान जानुपर्ने सहकारीकर्मीको भनाइ छ ।

सहकारीको विकासका लागि सकारात्मक सोचको विकास जरुरी रहेको भन्दै राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले साना किसानको आर्थिक जीवनस्तर उकास्न सहकारीको ठूलो योगदान रहेको बताए ।

राज्य, समाज र पूँजी निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुन्छ । साना किसानको सारथी बनेको सहकारी उनीहरूको ऋण लगानी र बचत सङ्कलनमा सहयोगी भूमिका खेल्दै आए पनि ठूला उद्यम विकासमा अझै जान सकेको छैन ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले नवीन प्रविधिलाई अवलम्बन गरी उद्यम व्यवसायको विकास गर्नुपर्ने उल्लेख गर्दै परम्परागत व्यवसायलाई विविधिकरण गरी उत्पादन, वितरण र सेवाको क्षेत्रमा सहकारीको भूमिका वृद्धि गर्नुपर्नेमा जोड दिए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]