January 10th, 2019

१० हजार कर्जाबाट सुरु गरेको उद्यमले बनायो लाखौँको मालिक 

बैंकिङ खबर । कोशी अञ्चल, सुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.११ स्थित मकालु टोलमा बस्दै आएकी पान कुमारी राजधामी एक सफल व्यवसायीको रुपमा परिचित छिन् । सानै उमेरमा सुन्दर भविष्यको कल्पना गर्दै परिवारको असहमतिका बाबजुद पनि २०५८ सालमाा देवेन्द्र राजधामीसँग प्रेम बिवाह गरिन् । बिवाह पश्चात उनका जीवनमा सुखभन्दा पनि औँसीको रातमा मेघ गर्जेझैँ समस्या र चुनौतीहरु मडारिन थाले । दूई प्रहरको रात काटन फिस्टे चरोलाई झैँ बाधा थियो । एक छाक टार्न पनि धौधौ थियो । 

बर्षातका ती रात त निदाएर होईन पानी चुहिने घरमा पानीका प्वाल टालेर बित्थ्यो । आफु भिजेर पनि छोराहरु नभिजुन भनि उनिहरुलाई छोपेर बित्थ्यो । खानालाई पनि धेरै समस्या थियो । उनको श्रीमानले स्थानीय सेलर मेसिनमा काम गरेर मासिक ३५०० रुपैयाँ कमाउथे । दिन रात श्रीमानले हाड छाला घोटेर ल्याएको कमाई ल्याएकै दिनमा सकिन्थ्यो । मिठो मसिनो खाने कल्पना त परकै कुरो थियो पेट भरि खान पनि समस्या थियो । जसो तसो जिन्दगी घिस्रि घिस्रि चलिरहेकै थियो ।

अभाव नै अभावले पिल्सिएकाहरुलाई कर्म गर्नका निमित्त पनि कसैको दह्रो साथ चाहिँदो रहेछ । भाग्यलाई दोष दिँदै यस्तै रहेछ कर्म भनि चित्त बुझाउँदै दिनहरु काटिरहेको समयमा आफु सुत्केरी भएको बेला श्रीमानको हुँदा खाँदाको जागिर पनि खोसिन पुग्यो । श्रीमानको जागिर खोसिएपछि जीवनमा झनै ठुलो बज्रपात आईलाग्यो । सुखमा मात्तिन र दुःखमा आत्तिन नहुने आफुले बुझेका कारण १४ दिनको सुत्केरी अवस्थामा समेत अरुको कपडा सिलाएर घर खर्च टार्नुपथ्र्यो । तर, उनले हार कहिले मानिनन् । घुमाई फेरी ल्याउँदा चाहिने त रुपैयाँ नै रहेछ । जुन चिज आफुलाई अभाव त्यही चाहिने कहाँबाट ल्याउने ? समस्या नै समस्या । छरछिमेकसँग सरसापट गर्दा पनि कि त नपत्याउने, पत्याईहाले पनि सयकडा रु.५ तिर्नुपर्ने ।

यसरी उनीहरुको जीवन घरको न घाटको भएको अवस्थामा २०६२ सालमा छिमेक बैंकको कार्यक्रम बेसाहाराका लागि साहारा बनेर पुग्यो । जुन दिन उनी बैंकको सदस्य बनिन् त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन । पहिलो पटक १० हजार रुपैयाँ कर्जा लिएको रात राम्रोसँग श्रीमान र श्रीमती दुवै निदाउन सकेनन् । के गर्ने, कसो गर्ने भनेर योजना र भोलीको सुखद भविष्यको कल्पना गरेर नै त्यो रात बिताए । त्यो पहिलो पटकको ऋणले कुमारी राजधामीको श्रीमानले अरुको भाडामा चलाउँदै आएको ठेला किने । ठेलाको आम्दानीबाट घर खर्च र किस्ता राम्रोसँग तिर्न पुग्यो । 

दोस्रो पटक पाँच हजार रुपैयाँ कर्जा थप गरि उनले सिलाई मेसिन खरिद गरिन् । उनको सिलाई मेसिनबाट पनि राम्रो कमाई भयो । यसै क्रममा उनले हालसम्म साधारण ऋण १० पटक, अनुशासन ऋण पाँच पटक, स्पेशल कार्ड ऋण छ पटक र धितो ऋण तीन पटक लिइसकेकी छिन् । आफु गोल्डेन सदस्य भएको गर्वको साथ भन्छिन् । अरुलाई पनि गोल्डेन सदस्य बन्नुपर्छ भनेर हौसल दिन्छिन् । ऋणलाई सहि ठाँउमा सदुपयोग गर्न सकेमा ऋणले मानिसको जीवनमा कायापलट नै गरिदिने रहेछ भनेर सिङ्गो समाजको उदाहरण बनिन् कुमारी । 

साथमा परिवारलाई औधीमाया गर्ने श्रीमान र राम लक्ष्मण जस्ता २ छोरा छन् । पढाईमा अब्बल, उमेरले १३ र ७ बर्षका दुबै छोरा घर नजिकैको स्थानीय बोर्डिङ्ग स्कुलमा पढ्छन् । सिलाई टेलरकी धनी उनी आफैँ टेलरमा परिश्रम गरेर मासिक १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् भने श्रीमानले पनि आफ्नो मिहनेत र परिश्रमले ढुवानी यातायातको लागि मिनि भ्यान खरीद गरि आफैँ चलाएर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । 

पहिला आफुले भोगेको दुःख, कष्ट र अभाव सम्झदा अहिले निकै लामो सुस्केरा हाल्दै उनी भन्छिन्, ‘ति अतितका दिन सम्झने हो भने अत्यास लागेर आउँछ । मानिसले आफुुलाई परेको समस्यासँग डराएर भाग्ने हो भने जीवनमा कहिल्यै प्रगती गर्न सक्दैन । तर आइपर्ने समस्यासँग लड्दै जाने हो भने अवश्य प्रगति हुँदो रहेछ ।’ दुःखका दिनमा आफुले सँधै पुज्ने देवताका अगाडी सुखका निम्ति धेरै पटक टाउको ठोक्नु परेको सम्झँदै उनी भन्छिन्, ‘ईश्वरका अगाडी मात्र टाउको ठोकेर आफुले केही नगरि फल पाइदो रहेनछ ।’ 

छिमेक लघुवित्त आफ्नो लागि एउटा भगवान सावित भएको धामी बताउँछिन् । छिमेक लघुवित्त संस्थाको सदस्य बनेको ११ बर्षको यात्रामा उनले घडेरी किनि घर समेत बनाई बनाइसकेकी छिन् । दुवै छोराहरु बोर्डिङ्ग स्कुलमा पढ्छन् । छोराहरुको पढाइ पनि राम्रो छ । घरमा टेलर खोलेको र आफुसँग सीप भएका कारण काम खोज्दै भौतारिएर हिँड्नु परेको छैन । कामले नै उनलाई खोज्दै घर आईपुग्छ । ‘छिमेक बैंकले मलाई अहिले ऋण दिएर मात्र होईन भोलिको लागि बचत गरिदिएर पनि हाम्रो परिवारको भविष्य सुनिश्चित गरेको छ । छिमेक बैंकको यस्तो पवित्र कार्यको सधैभरि कृतज्ञ हुनेछु,’ उनले सुनाइन् ।           


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]