January 10th, 2019

सेयर खरिद गर्नुपूर्व यी विषयमा ध्यान दिनुहोस्  

बैंकिङ खबर । कम्पनीको पूँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्री गरिन्छ । यसरी कम्पनीको पूँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पूँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर, पूँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ ।

सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर नै हो ।

सूचना कसरी पाउने ?
सेयर बजारमा कारोबारको लागि प्रवेश गरेपछि कुन कम्पनीको सेयर किन्ने, कहिले किन्ने, कहिले बेच्ने यस्ता सूचना र जानकारी बिभिन्न स्रोतबाट लिनुपर्छ । 

यस्ता जानकारीका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैंक, बीमा समिति जस्ता नियमक निकायले जारी गर्ने सूचना, परिपत्र अध्ययन गर्नुपर्छ । त्यस्तै सम्बन्धित कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरण र अन्य सूचनाको बारेमा पनि जानकारी राख्नुपर्छ । त्यस्तै, कम्पनीले क्रेडिट रेटिङ कम्पनीबाट पाएको ग्रेडको समेत ख्याल राख्नुपर्छ । 

कस्ता विषयमा ध्यान दिने 
सेयर कुन कम्पनीको किन्ने भन्ने विषय जटिल छ । उचित सूचना र जानकारी लिनेहरुले सेयर बजारबाट राम्रो मुनाफा लिइरहेका छन् । सेयरबजार कति बेला ओरालो लाग्छ र बढ्छ भन्ने कुनै निश्चित हुदैन । नेपालमा खासगरी पुष मसान्तको प्रभाव बढि पर्दै आएको देखिन्छ । यो समयमा ठुलो रकम सरकारी ढुकुटीमा जाने र बैैक कर्जा मार्फत सेयरमा लागनी गर्ने लगानीकर्ताले दोस्रो किस्ता बुझाउनुपर्ने समय एकैपटक भएकाले सेयर बजार प्रभावित हुन्छ । यसबाहेक, सेयर बजारलाई प्रभाव पार्ने मुख्य तत्व व्याजदर हो भन्ने लगानीकर्ताले भुल्नु हुदैन् । 

लगानीकर्ताले कुनै पनि कम्पनीको मूल्य आम्दानी अनुपात, खूद सम्पति, कूल सम्पति, प्रतिसेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च जस्ता आधारभूत कुराको जानकारी लिनु पर्छ । बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर जस्ता सूचक बढि महत्वपुर्ण हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]