‘क्रेडिट क्रन्च’ले  रोकेन बैंकको कर्जा प्रवाह

January 10, 2019

सम्हालिएनन् बैंक, दुई महिनामा ६८ अर्बको कर्जा प्रवाह 
वाणिज्य बैंकहरूले गत कात्तिकदेखि वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी अभाव (क्रेडिट क्रन्च)को समस्या देखिएको बताउँदै आएका छन् । असोजसम्म आक्रामक कर्जा विस्तार गरिरहेका बैंकहरूले त्यसपछि भने लगानीयोग्य पुँजी अभाव भएको भन्दै समाधान खोजिदिन केन्द्रीय बैंक र सरकारसँग हारगुहार गरे । तर, ‘क्रेडिट क्रन्च’कै समयमा पनि बैंकहरूको कर्जा विस्तार भने आक्रामक नै रहेको देखिएको छ ।

वाणिज्य बैंकहरूले पछिल्ला दुई महिनामै ६८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यसले क्रेडिट क्रन्चको समस्या देखिएकै वेलामा समेत व्यापक कर्जा विस्तार भएको देखाउँछ । बैंकहरूले असोजको अन्तिमदेखि क्रेडिट क्रन्चको समस्या सुरु हुन थालेको बताएका थिए । त्यसपछि कात्तिक र मंसिरमा ‘क्रेडिट क्रन्च’ले चौतर्फी समस्या सिर्जना गरेको भन्दै उनीहरूले सरकार गुहारे । तर, बैंकहरूले गरेको कर्जा विस्तारले भने त्यस्तो समस्या नदेखाएको राष्ट्र बैंकका एक कार्यकारी निर्देशक बताउँछन् । 

बैंकहरूले क्रेडिट क्रन्चको व्यापक समस्या भएको बताएपछि सरकारले स्थानीय तहमा जाने ५० प्रतिशत रकम वाणिज्य बैंकहरूलाई चलाउन दियो । अहिले पनि बैंकहरूले ‘क्रेडिट क्रन्च’को समस्या रहेको भन्दै स्थानीय तहमा जाने बाँकी ५० प्रतिशत रकमसमेत वाणिज्य बैंकहरूलाई चलाउन दिन तथा पुनर्कर्जा बढाउन माग गर्दै आएका छन् । ‘एकातर्फ कर्जा विस्तार व्यापक भएको देखिन्छ, अर्कोतर्फ क्रेडिट क्रन्चले आक्रान्त भएको पनि हल्ला गरिन्छ,’ ती कार्यकारी निर्देशकले भने, ‘यसबाट बैंकहरू आफ्नो व्यवसायलाई सन्तुलित बनाउने भन्दा पनि सरकार र केन्द्रीय बैंकबाट बढी सुविधा र छुट खोज्न उद्यत भएको देखिन्छ ।’ अहिले वित्तीय प्रणालीमा अनिवार्य नगद मौज्दातबाहेक नै ६० अर्ब अधिक तरलता रहेको उनले जानकारी दिए ।


पुसपछि समस्या आउँछ

बैंकहरूले पुस मसान्तपछि झन् समस्या चर्कने बताउँदै आएका छन् । पुस समान्तमा राजस्वका रूपमा वित्तीय प्रणालीबाट सरकारी खातामा ६० अर्ब रुपैयाँभन्दा बढी रकम जाने भएकाले समस्या चर्कने उनीहरूले बताउँदै आएका छन् । त्यसैले सरकारले पुनर्कर्जा बढाउनुपर्ने तथा स्थानीय तहमा जाने बाँकी ५० प्रतिशत रकम पनि वाणिज्य बैंकहरूलाई दिनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । तर, केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरू भने बैंकहरूले आफू संयमित नहुने, तर छुट सुविधा मात्रै लिन खोजेको देखिएको आरोप लगाएका छन् । 

निक्षेपभन्दा ९० अर्ब बढी कर्जा प्रवाह
गत साउनदेखि १३ पुससम्म बैंकहरूले निक्षेप संकलनको तुलनामा ९० अर्ब रुपैयाँ बढीले कर्जा प्रवाह गरेका छन् । साउनदेखि वाणिज्य बैंकहरूले १ खर्ब ६१ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब १५ अर्ब कर्जा प्रवाह गरेका छन् । ‘निक्षेप संकलन र कर्जा प्रवाहमा व्यापक असन्तुलन छ, बैंकहरूले आफ्नो व्यवसाय वृद्धिमा कुनै कसर बाँकी छाडेको देखिँदैन,’ उनले भने, ‘तर, विभिन्न समस्या देखाउँदै सरकार र केन्द्रीय बैंकसँग छुट र सुविधा माग्न छाडेका छैनन् ।’ हालसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन २६ खर्ब ३१ अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह २३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । 

कर्जा विस्तारबारे के भन्छन् बैंकर ?
यसबीचमा बैंकहरूले निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन कायम गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । एकातर्फ निक्षेप बढेको र अर्कातर्फ सरकारले स्थानीय तहमा जाने रकम वाणिज्य बैंकलाई चलाउन दिएका कारण यसबीचमा कर्जा प्रवाह सुस्त हुन नपाएको उनको भनाइ छ ।

‘भदौ र असोज महिनाको तुलनामा निक्षेप संकलन बढेको, तर कर्जा प्रवाह घटेको छ,’ उनले भने, ‘यद्यपि, जति कर्जा प्रवाह भएको छ, त्यो कमचाहिँ होइन ।’ सरकारले स्थानीय तहमा जाने रकम वाणिज्य बैंकहरूलाई दिएपछि त्यसले कर्जा विस्तारमा सघाएको हो । स्थानीय तहको ४० अर्ब रुपैयाँ वित्तीय प्रणालीमा आएको थियो । त्यसबाटै करिब ३०/३२ अर्ब रुपैयाँ कर्जा विस्तार हुन सकेको उनको भनाइ छ । नयाँ पत्रिकामा प्रकाशित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *