January 10th, 2019

राजश्वको दवावले कर्जा र निक्षेपमा पुनः असन्तुलन

बैंकिङ खबर ।  कात्तिक, मंसिर र पुसको मध्यसम्म वाणिज्य बैंकहरुको निक्षेप र कर्जा सन्तुलन देखिएकोमा पुसको तेस्रो साताबाट पुनः असन्तुलन देखिन थालेको छ। 

उद्योगी व्यवसायीहरुले राजश्वका लागि ऋण जुटाउँदै गर्दा बैंकहरुबाट प्रवाह हुने कर्जा पुस तेस्रो साता बढेको छ। नयाँ ऋण रोके पनि पुरानो सहमतिअनुसार उद्योगी व्यवसायीहरुले राजश्वका लागि ऋण लिन थालेपछि तेस्रो साता निक्षेपभन्दा कर्जा बढेको बैंकर बताउँछन्।

 नेपाल बैंकर्स एसोसिएसन (एनबिए)को तथ्यांकअनुसार तेस्रो साता अर्थात पुस १५ गतेदेखि २० गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप जम्मा ९ अर्बले बढेको छ भने बैंकहरुले प्रवाह गर्ने कर्जा १३ अर्बले बढेको छ। 

जवकि पुसको दोस्रो साता निक्षेप १० अर्बले बढ्दा कर्जा प्रवाह ६ अर्बले मात्रै बढेको थियो। दोस्रो साताको तुलनामा तेस्रो साता कर्जा दुई गुणाभन्दा धेरैले बढेको छ ।

तेस्रो सातादेखि राजश्वको चापले निक्षेपभन्दा कर्जा बढेको र चौथो साता भएको निक्षेप समेत घट्ने र कर्जा प्रवाह अझ उच्च हुने अनुमान छ। कात्तिक र मंसिरमा बैंकहरुले प्रवाह गरेको ऋणभन्दा संकलन गरेको निक्षेप बढी छ।

कात्तिकमा ४३ अर्बले निक्षेप बढ्दा ३७ अर्ब कर्जा प्रवाह भएको छ भने मंसिरमा ५४ अर्बले निक्षेप बढ्दा ३१ अर्ब कर्जा प्रवाह भएको छ। 

पुसमा भने त्यसको ठीक उल्टो अर्थात संकलित निक्षेपभन्दा ऋण प्रवाह बढ्ने संकेत देखिएको छ। अन्तिम साता र पाँचौ साताको दुई दिन (२९ र ३० गते) राजश्वका लागि बैंकिङ प्रणालीबाट सरकारी खातामा जाने रकम उच्च हुनेछ। 

तेस्रो सातादेखि नै उद्योगी व्यवसायीहरुले राजश्व तिर्न थालेपछि बैंकिङ प्रणालीमा असर देखिन थालेको हो। पुस महिनामा बैंकिङ  प्रणालीबाट ८० अर्बभन्दा धेरै रकम राजश्वस्वरुप सरकारी खातामा जाने अनुमान छ। यसैलाई लक्षित गर्दै बैंकहरुले नयाँ ऋण रोकेका छन्।

 पुराना ऋणीहरुले राजश्वका लागि मागेको ऋण र झिकिन सक्ने निक्षेपलाई समेत मध्यनजर गर्दै बैंकहरुले नयाँ ऋण रोकेका हुन्। पुस २० गतेसम्म वाणिज्य बैंकहरुमा कुल २६ खर्ब ४० अर्ब निक्षेप संकलन भएको छ भने सोही अवधिसम्म कुल २३ खर्ब ३८ अर्ब कर्जा प्रवाह भएको छ। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]