January 8th, 2019

यसकारण भारतीय बैंकको लगानी नेपाली बैंकमा आउन सकेन  

बैंकिङ खबर । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले स्थानीय बैंकहरुलाई विदेशमा लगानी गर्न रोक लगाएको छ । जसका कारण भारतीय बैंकहरु नेपालमा लगानी गर्न पाउने अवस्थामा छैनन् । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरेको छ । तरपनि भारतबाट लगानी भित्रिन सकेको छैन । यसको मुख्य कारण नै भारतीय बैंकले विदेशमा लगानी गर्न नपाउनु हो । 

नेपालमा भारतीय संयुक्त लगानीमा संचालित एभरेष्ट बैंक र एसबिआई बैंकले पनि भारतीय पैसा नेपालमा ल्याउन सकेका छैनन् । त्यस्तै नेपालमा भन्दा भारतमा ब्याजदर बढि भएकाले राष्ट्र बैंकले पहल गरेपनि पैसा ल्याउन असम्भव रहेको बैंकरहरुको भनाई छ । 

विभिन्न कार्यक्रममा बैंकरहरुले नेपालमा भन्दा भारतमा पैसा महँगो भएकाले भरतीय बैंकहरुबाट पैसा ल्याउँदा महँगो पर्ने बताउँदै आएका छन् । भारतमा अहिले १० प्रतिशत भन्दा माथि ब्याज रहेको छ । नेपालमा बढिमा साढे नौ प्रतिशत मात्र ब्याजदर छ । 

नेपालमा लगानी गर्दा कुनैपनि विदेशी बैंकले दिर्घकालीन रुपमा लगानी गर्नुपर्ने हुन्छ । तर अल्पकालीन रुपमा उठाएको पैसा लामो समयका लागि लगानी गर्न समस्या हुन्छ । त्यसैले पनि भारतीय बैंकहरु नेपालमा लगानी गर्न चाहँदैनन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]