January 7th, 2019

के हो ऋणपत्र ? किन गर्ने ऋणपत्रमा लगानी ?

बैंकिङ खबर । कुल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरु नैं ऋणपत्र हो । कुनै पनि कम्पनीले ऋणमा लगानी गर्नका लागि आधिकारीक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर र भुक्तानी प्रकृया, धितो राखिएको नराखिएको अवस्थाका विषय पा शर्तहरु उल्लेख गरिएको हुन्छ । यसमा लगानीकर्ताले तोकिएको ब्याज तोकिएको समयमा पाउँछन् । 

कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा ब्याज र साँवा पाउन नसकेमा कम्पनी खारेजीमा पठाउनका लागि समेत कारबाही चलाउन सक्छन् । त्यसैले जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र लगानीको उत्तम विकल्प मान्न सकिन्छ । 

पछिल्लो समय नेपालमा बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गर्ने क्रम बढेको छ । नेपालका बैंकहरुले १० वर्षे अवधि सम्मका लागि ऋणपत्र विक्री गरेका छन् । अर्धवार्षिक र बार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरि ऋणपत्र जारी गरेको पाईन्छ । ऋणपत्रबाट उठाएको रकम लगानी गरेपनि नगरेपनि दिने भनिएको ब्याज भुक्तानी गर्ने निश्चिन्त गरिएको हुन्छ । त्यसैले पनि कतिपय लगानीकर्ताले सुरक्षित लगानीका लागि ऋणपत्रका इकाइहरु खरिद गर्दछन् । 

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले तोकिएको समयमा तोकिएको ब्याज भुक्तानी पाउने भएकाले बैंक निक्षेपमा भइरहने ब्याजदर परिवर्तनको जोखिमबाट लगानीकर्ता मुक्त हुन्छन् । त्यसैले पनि लगानीकर्ताले ऋणपत्रमा लगानी गरेको देखिन्छ । 

बैंकहरुले लगानीयोग्य रकमको अभाव हुने समस्या झेलिरहेका बेला ऋणपत्रमार्फत रकम उठाएर लगानी गर्न चाहेको देखिन्छ । पछिल्लो समय केही बैंकहरुले १० प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गरेको देखिन्छ । ब्याज समेत राम्रो पाउने भएपछि लगानीकर्ताका लागि सुरक्षित लगानी गर्ने राम्रो औजारका रुपमा ऋणपत्रलाई लिन सकिन्छ । 

ऋणपत्रमा लगानी गर्दा हुने फाइदा 
बैंकले जारी गरेको ऋणपत्रमा सेयरधनीलाई लाभांश वितरण गर्नुअघि नै ब्याज दिनुपर्छ । नोक्सानीमा गएको अवस्थामा समेत ऋणपत्रधनीलाई अनिवार्य ब्याज भुक्तानी गर्नुपर्छ । 

ऋणपत्र धितोपत्र बजारमा समेत सुचिकृत हुने भएकाले सजिलै खरिद विक्री गर्न सकिन्छ । त्यस्तै धितो राखेर समेत ऋण लिन सकिने भएकाले लगानीकर्ताले दिर्घकालीन फाइदा लिन सक्छन् । 

कतिपय ऋणपत्र समयअवधि सकिएपछि साँवा र ब्याज भुक्तानी हुने प्रकृतिका हुन्छन भने कतिपय सेयरमा परिणत हुने खालका हुन्छन् । त्यसैले लगानीकर्ताले दिर्घकालीन फाइदा लिनका लागि ऋणपत्रको प्रकृति हेरेर लगानी गर्न सक्छन् । 

वार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि ऋणपत्र लगानीको उत्तम विकल्प हो । नेपालमा एनएमबि बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले ऋणपत्र जारी गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]